Techie IT
१९ असोज २०७९, बुधबार

लिखुपिकेमा ल्याइएको पीसीआर मेसिन किन्जामा राखिने


दोलखा, भदौ २९
सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा खरिद गरिएको पीसीआर मेसिन वडा नम्बर ५ किन्जामा राखिने भएको छ । लिखु हाइड्रोपावर, कोरियन जनमैत्री अस्पताल र गाउँपालिकाले संयुक्त रुपमा खरिद गरेको मेसिन किन्जामा राख्ने सहमति भएको गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार हाइड्रोपावर र लिखुपिकेबासी सबैलाई पायक पर्ने भएकाले किन्जामा नै राख्ने सहमति भएको हो ।

हाल हाइड्रोपावरले अस्थायी रुपमा दुई जना स्वास्थ्यकर्मी व्यवस्थापन गरेर सञ्चालन गरिरहेको भए पनि निकट भविष्यमै जग्गा व्यवस्थापन गरेर स्थायी रुपमा सञ्चालन गरिने अध्यक्ष बस्नेतको भनाइ छ । जसका लागि मन्त्रालयसँग अनुमति अहिले लिन आफू काठमाडौंमा रहेको र अनुमति प्राप्त भएपछि कर्मचारी व्यवस्थापन गरेर दिगो रुपमा सञ्चालन गरिने उनको भनाइ छ ।

भौगोलिक विकटताका कारण पीसीआर परीक्षणमा लैजान समस्या हुने भएकाले गाउँपालिकामै मेसिन खरिद गरेको अध्यक्ष बस्नेतले बताए । ८५ लाख रुपैयाँमा खरिद गरिएको पीसीआर मेसिनका लागि हालसम्म एक करोडभन्दा बढी लगानी भइसकेको गाउँपालिकाले जनाएको छ ।

खर्चको व्यवस्थापन तत्काललाई हाइड्रोपावर र कोरियन संस्थाले गरेको बताइएको छ । मेसिन ल्याए स्थापना गरेसँगै गाउँपालिकाभित्रका व्यक्तिको पीसीआर परीक्षणका लागि बाहिर पठाउनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ । गाउँपालिकामा हाइड्रोपावरमा पनि सञ्चालनमा रहेकाले बाहिरबाट आउनेहरुको पीसीआर परीक्षणका लागि पनि सहज हुने विश्वास गरिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्