Techie IT
१७ असार २०७९, शुक्रबार

रानीवनको पहिरोले गाउँ नै बगर बन्यो


दोलखा, भदौ २९
भूकम्पले भत्काएको घरको पुनर्निर्माण भर्खरै सम्पन्न गरेर नयाँ घरमा बसाइ सरेका लापिलाङका थामी समुदायलाई पहिरोले फेरि बिल्लिबाठ बनाएको छ । घर माथिबाट झरेको पहिरोले यहाँका थामी सदुदायको घर मात्रै बगाएन, खेतबारीलाई पनि बगरमा परिणत गरिदिएको छ ।

कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ लापिलाङका स्थानीय गणेश थामी गहभरि आँशु पार्दै भन्छन्, ‘भूकम्पले भत्काएको घर ऋणधन गरेर जसोतसो चिटिक्कको बनाएर बसेको थिएँ । पहिरोले बगाइदियो ।’ पहिरो खस्न लागेको थाहा पाएर ज्यान जोगाउन सफल भए पनि अन्य सामान भने जोगाउन नसकेको उनले बताए । उनि भन्छन्, ‘अहिले बिचल्ली भएको छ, बास बस्ने ठाउँ छैन । बारी पनि बगर बन्यो, लेदो बगिरहेको छ । दुःखका दिन कटाइरहेका छौं ।’

हाल यहाँका नौ थामी परिवार पहिरोभन्दा केही टाढाको स्कुलमा बसोबास गरिरहेका छन् । पहिरोले आफ्नो घर बगाएपछि ज्यान जोगाएको र बल्ल–बल्ल बालबालिका जोगाउन सफल भएकोमा खुसी लागेको बताउँछिन्, सरिता थामी । अहिले केहि सहयोगी निकायले दिएको चामलले पेट पालिरहेको उनीहरुको भनाइ छ । पहिरोमा नौ घर बगाएको छ भने ४० परिवार विस्थापित बनेका छन् । गणेश थामी, पुस्कर थामी, लालमान थामी, दिलबादुर थामी, सन्तकुमार थामी, सुजन थामी, लक्ष्मण थामी, अमर थामी र सरिता थामीको गरी ३२ जना अहिले घरबारविहीन बनेका छन् ।

‘घरमाथिको रानीवनको भीर सुरुमा सामान्य चर्किएको थियो तर अहिले हाम्रो यही भीरले सबै सकिदियो’, स्थानीय सुजन थामीले भने, ‘पहिरोले भूकम्पपछि निर्माण भएका नयाँ घर भत्काइदियो, नयाँ छानो बगाइदियो, लगाएको बाली पुरिदियो ।’ दैनिकजसो परिरहेको अविरल वर्षात्का कारण दैनिकजसो पहिरो खसिरहेको छ ।

स्थानीय सहदेव खड्काका अनुसार पानी नपरेको समयमा पनि सुख्खा पहिरो खस्दा यस वरपर नागरिकहरु समेत असुरक्षित रहेका छन् । हाल बसिरहेको विद्यालय देउराली प्राविमा पनि असुरक्षाको महसुस भइरहेको र यहाँ पनि पहिरो आउने डर भएको स्थानीय बुद्धिजीवी अर्जुन थामी बताउँछन् ।

गाउँपालिकाले रेडक्रस सोसाइटीको पहलमा एक एक थान त्रिपाल उपलब्ध गराएको छ । त्योबाहेक केही सहयोगी व्यक्तिहरुले चामल दाल दिए पनि अन्य दीर्घकालीन योजना समेत नबनाएको थामी समुदायको गुनासो छ । स्थानीय अर्जुन थामी भन्छन्, ‘स्थानीय सरकार, वडा अध्यक्षले पहिरो पीडितहरुको व्यवस्थापन कसरी गर्ने भन्नेसम्म चासो देखाएका छैनन् । यसरी नागरिकको हित कसरी हुन्छ ?’ (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार