Techie IT
५ असार २०७८, शनिबार

विदेशमा कोरोना संक्रमणमा थप ४३ जना नेपालीको मृत्यु


काठमाडौं, भदौ २९
विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप ४३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले गत शनिबारसम्म कोरोनाका कारण विदेशमा मृत्यु हुने नेपालीको संख्या दुई सय ४३ पुगेको जनाएको छ । विभिन्न मितिमा मृत्यु भएका नेपालीहरुको कोरोना परीक्षण गर्दा गत साता ४३ जनामा संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो ।

गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ । योसँगै साउदी अरबमा मात्रै संक्रमणका कारण निधन हुने नेपालीको संख्या ५२ जना पुगेको साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्र सिहं राजपुतले जानकारी दिएको समितिले जनाएको छ । यसका साथै गत साता कतारमा पनि थप दुई जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ । स्वास्थ्य समितिका अनुसार गत साता स्पेन, पोल्याण्ड, भारत, कतार, र साउदी अरब लगायतका देशमा कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ ।

समितिका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसका कारण हालसम्म बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्विडेन, भारत, दक्षिण अफ्रिकालगायत १६ देशमा रहेका नेपालीहरुले ज्यान गुमाएका छन् । यसैगरी कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्किन नपाएका नेपालीको उद्धार कार्य जारी रहेको संघले जनाएको छ ।

हालसम्म ३० देशमा रहेका ६१ हजार सात सय १० जना नेपालीको उद्धार गरिएको छ । साउदीमा भने ६० शव अलपत्र परेको छ । साउदीस्थित नेपाली राजदूतावासका अनुसार साउदी अरबमा कोरोनालगायत अन्य विभिन्न कारणले निधन भएका ६० जना नेपालीको शव नेपाल ल्याउन बाँकी छ । साउदी अरबका लागि नेपाली राजदूत राजपुतका अनुसार ती शव नेपाल ल्याउने प्रक्रियामा छन् । हालसम्म विदेशमा विभिन्न कारणले निधन भएका तीन सय जना नेपालीहरुको शव नेपाल ल्याइएको छ ।

यस्तै गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाले विदेशबाट नेपाल फर्किएकालाई १४ दिन अनिवार्य क्वारेन्टाइन बस्न अनुरोध गरेका छन् । विदेशमा पीसीआर परीक्षण गराएर नै स्वदेश जाने भए पनि स्वास्थ्य सावधानीका लागि नेपाल सरकारले तोकेअनुसार क्वारेन्टाइनमा बस्न र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन डा. सापकोटाले आग्रह गरेका हुन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्