Techie IT
१२ असार २०७९, आईतबार

तामाकोसी गाउँपालिकाले सबै नागरिकको कोरोना बीमा गरिदिने


दोलखा, भदौ २९
दोलखाको तामाकोसी गाउँपालिकाले गाउँपालिकाभित्रका सबै नागरिकहरूको कोरोना बीमा गरिदिने भएको छ । व्यक्ति, सहकारी र स्थानीय तहको लागत साझेदारीको आधारमा चालू आर्थिक वर्षमा तामाकोसी गाउँपालिकाले कम्तीमा १५ हजार नागरिककोे कोरोना बीमा गरिदिने भएको हो । शनिबार सम्पन्न गाउँ कार्यपालिकाको बैठकले सहकारी संस्थागत सहयोग तथा साझेदारी कार्यक्रमअन्तर्गत रहेको नौ लाख खर्च गरेर कोरोना बीमा गरिदिने निर्णय गरेको तामाकोसी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए ।

सो बजेटले नपुगे आकस्मिक कोषबाट रकमान्तर गरेर भए पनि सबै नागरिकहरूको बीमा गरिदिने अध्यक्ष पोखरेलले बताए । नागरिकको कोरोना बीमा गराउनका निम्ति कार्यपालिका बैठकले त्रिपक्षीय साझेदारी गर्ने भएको छ । बीमा कम्पनीहरूले एक लाख रूपैयाँको कोरोना बीमा गराउन छ सय रूपैयाँ शुल्क तोकेका छन् । उक्त शुल्कमध्ये तीन सय रूपैयाँ सरकारले लगानी गरिदिने घोषणा यसअघि नै गरिसकेको छ । बाँकी तीन सयमध्ये एक सय गाउँपालिका, एक सय पालिकाभित्रका सहकारी र एक सय स्वयं नागरिकले हाल्नुपर्ने मापदण्ड कार्यपालिकाले तय गरेको छ ।

‘छ सय रूपैयाँमध्ये नागरिकको बीमा गराउन तीन सय रूपैयाँ सरकार आफैँले हालिदिँदैछ’ गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले भने– ‘बाँकी तीन सय गाउँपालिकाभित्रका सहकारी, गाउँपालिका र स्वयं बीमा गराउने नागरिकले एक–एक सय हाल्ने गरी बीमा गर्न लागेका हौँ ।’ उनले बीमाका लागि मापदण्ड बनाएर प्रतिवडा कम्तीमा दुईदेखि तीनवटा कम्पनीहरूलाई जिम्मेवारी दिइने बताए । २०६८ को जनगणनाअनुसार १८ हजार जनसंख्या रहेको तामाकोसी गाउँपालिकामा हाल करिब २५ हजार जनसंख्या रहेको अनुमान गरिएको छ । त्यसमा कम्तीमा १५ हजार जनाले बीमा गर्ने गाउँपालिकाको अनुमान रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्