Techie IT
८ असार २०७८, मंगलबार

पीसीआर परीक्षणमा सर्वसाधारणको सहज पहुँच

कुल संक्रमितमध्ये आधा काठमाडौं उपत्यकामा


काठमाडौं, भदौ २९
सरकारले कोरोना भाइरस कोभिड–१९ को परीक्षण शुल्क दुई हजार रुपैयाँमा सीमित गरिदिएको छ । सरकारले एक पटकको कोरोना परीक्षण शुल्क १५ हजार रुपैयाँ लिनलागेको भनेर प्रचार गरिए पनि सरकारले त्यसलाई झूट साबित गर्दै पहिलोपटक परीक्षण शुल्क पाँच हजार पाँच सय तोकेको थियो ।

त्यसलाई परिमार्जन गर्दै सरकारले चार हजार चार सय रुपैयाँमै कोरोना परीक्षण शुल्क तोकेको थियो । आइतबार भने सरकारले कोरोना परीक्षण शुल्क घटाएर दुई हजार रुपैयाँमा सीमित गरेको छ । अब सरकारी तथा निजी जुनसुकै ल्याब तथा अस्पतालले पीसीआर परीक्षणको शुल्क दुई हजार रुपैयाँमा सीमित गरेको छ । परीक्षणका क्रममा थप कुनै पनि शुल्क लिन नपाइने सरकारले जनाएको छ ।

पीसीआर परीक्षण शुल्क महंगो भएको भन्दै निःशुल्क गरिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा व्यक्तिगत तथा संस्थागत रुपमा दबाब परेपछि मन्त्रालयले शुल्क नै घटाइदिएको हो । अब भने निःशुल्क परीक्षण गरिदिनुप-यो भन्ने दबाब नआउने अनुमान मन्त्रालयको छ । सामान्य कमाइ गर्ने व्यक्तिले पनि अब पीसीआर परीक्षण गर्नसक्ने भएका छन् ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको कोरोना संक्रमितको कुल संख्यामध्ये काठमाडौं उपत्यकामा मात्रै आधाभन्दा बढी देखिएका छन् । देशभरको संक्रमित संख्यामध्ये आधाभन्दा बढी काठमाडौंमा देखिएको यो नै पहिलो घटना हो । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार देशभरका प्रयोगशालामा गरिएको परीक्षणबाट एक हजार ३९ जनामा कोरोना देखिएकामा काठमाडौंमा चार सय ८३ जना, ललितपुरमा ३३ जना र भक्तपुरमा ८१ जना गरी पाँच सय ९७ जना र बाँकी देशका अन्य जिल्लाका छन् । यो तथ्यांकले नेपालका बाँकी ७४ जिल्लाभन्दा आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लामा आधाभन्दा बढी कोरोना संक्रमित पुष्टि भएका छन् ।

सरकारी तथा निजी अस्पताल वा प्रयोगशाला सबैले घटेको शुल्कमा पीसीआर परीक्षण गराउनुपर्ने हुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पीसीआर परीक्षणको शुल्क पुनरवलोकन गरिएकाले नेपालमा पनि शुल्क घटेको हो । बजारमा रिएजेन्ट र पीसीआरका अन्य सामानको मूल्य घटेको आधारमा परीक्षण शुल्क पनि घटाइएको छ र नेपालमा अहिलेसम्म आठ लाख ४० हजार पाँच सय २७ जनाको पीसीआर परीक्षण गरिएको छ । त्यसमध्ये ५४ हजार एक सय ५९ जना सङ्क्रमित भएका छन् । दैनिक करिब १० हजारको सङ्ख्यामा पीसीआर परीक्षण भइरहेको छ ।

सरकारले सर्वसाधारण सबैलाई निःशुल्क परीक्षण गर्दै आइरहेको छ भने सशुल्क परीक्षण गराउन इच्छुक व्यक्तिले मन्त्रालयले तोकेको अस्पताल वा प्रयोगशालामा गई परीक्षण गराउनसक्ने व्यवस्था गरेको छ । अहिले ४७ सरकारी प्रयोगशालामा पीसीआर परीक्षण हुँदै आइरहेको छ ।

यसैगरी मन्त्रालयले बंगलादेशबाट आएको रेम्डेसिभिर खोप नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को निर्देशिकाअनुसार प्रयोग गर्न सूचीकृत भएका अस्पतालमा बिरामीको चाप हेरेर वितरण गर्न निर्देशन दिएको छ । उक्त खोपको सम्पूर्ण वितरण परिषद्ले प्राप्त गरी मन्त्रालयमा पेश गर्नसमेत भनिएको छ । सरकारले बंगलादेशबाट पाँच हजार सो खोप प्राप्त गरेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार एक सय ७३ जना कोरोना जितेर घर फर्केका छन् । योसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किनेको संख्या ३८ हजार छ सय ९७ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७१.५ प्रतिशत रहेको छ । आइतबार देशभर एक सय ६९ कोरोनाका संक्रमित आईसीयूमा छन् । भेन्टिलेटरमा उपचाररत २३ जना छन् । कोरोनाका कारण हालसम्म तीन सय ४५ जनाको मृत्यु भएको जनाइएको छ ।

पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, सर्लाही, काठमाडौँ, चितवन, ललितपुर र भक्तपुर छन् । शून्य सङ्क्रमित भएका जिल्लामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, हुम्ला र डोल्पा छन् । विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या दुई करोड ८९ लाख ४७ हजार पाँच सय १० पुगेको छ । कोरोनाबाट निको हुनेको सङ्ख्या दुई करोड आठ लाख १३ हजार २२१ रहेको मन्त्रालयले जनाएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्