Techie IT
९ माघ २०७८, आईतबार

सडक छाडेर भीरबाट आवतजावत


दोलखा, भदौ २८
दोलखाको गौरीशंकर गाउँपालिकाको चार वडा जोड्ने मुख्य सडक मार्बु–गुरुम्फी सडक पहिरोले भत्किएको महिना दिन बितिसक्दा पनि सुचारु नहुँदा सो क्षेत्रका स्थानीय थप मारमा परेका छन् । गत साउन २२ गतेको पहिरोले मार्बु–भोर्ले–गुरुम्फी ३२ किलोमिटर सडक पहिरोका कारण अवरोध भएको थियो । हालसम्म पनि उक्त सडक निर्माण हुन नसक्दा जोखिम मोलेर भीरको बाटो हिँड्नुपरेको स्थानीयले गुनासो गरेका छन् । गाउँपालिकाले मार्बु–गुरुम्फी मुख्य सडकको तल्लो क्षेत्रमा ठूलो क्षति भएको कारण तत्काल सुचारु गर्ने अवस्था नरहेकाले माथिल्लो क्षेत्रको सडक भने मर्मत गर्न सुरु गरेको जनाएको छ । गौरीशंकर गाउँपालिकाभित्रका मार्बु, चंखु, खारे र गुरुम्फी अहिले सडक सम्पर्कबाट टाढा रहेका छन् ।

जिल्लाकै दुर्गम क्षेत्र र सडक समस्याका कारण सो क्षेत्रका नागरिकले खाद्यान्न ढुवानी र बिरामी ओसारपसारमा समस्या भएको गुनासो गरेका छन् । गौरीशंकर गाउँपालिका अध्यक्ष स्वयम् बहादुर खड्काले गाउँपालिकाले सडक मर्मत गर्न दुईवटा मेसिन पठाए पनि लगातारको वर्षाको कारण काम गर्न समस्या भएको बताए । उनका अनुसार तल्लो क्षेत्रको ३२ किलोमिटर सडकमा ठूलो क्षति भएको हुँदा तत्कालीन समयमा गाउँपालिकाले सडक सुचारु गर्ने सम्भावना छैन । उक्त सडक मर्मतका लागि गाउँपालिकाभित्रका पाँचवटा हाइड्रोपावरलाई जिम्मा लगाएको छ । माथिल्लो भेगमा पहिरोले क्षति गरेको सडक भने गाउँपालिकाले शुक्रबार प्राविधिकसहित दुई मेसिन पठाएर सडक सुचारु गर्ने काम भइरहेको उनले बताए ।

गाउँपालिकाका प्राविधिक अरुण घतानीले माथिल्लो क्षेत्रको २७ किलोमिटर सडकको मर्मत भने मौसमले साथ दिए एक साताभित्र सकिने बताए । तल्लो क्षेत्रको ३२ किलोमिटर सडक आसपासमा करिब आधा दर्जन हाइड्रोपावरका संरचना रहेको हुँदा संरचना जोगाएर काम गर्नुपर्ने भएकोले उक्त सडक मर्मत गर्न भने केही समय लाग्ने उनको भनाइ छ । अहिले सो क्षेत्रका स्थानीय जोखिम मोलेर तामाकोशी माथिको भिरबाट आवतजावत गर्ने गरेका छन् । गत साउन २२ गते सो क्षेत्रमा पहिरो जादा दर्जन बढी घर बगाएको थियो भने एक जनाको पहिरोमा परेर मृत्यु भएको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्