Techie IT
५ असार २०७८, शनिबार

कोरोना निको हुनेको दर ७० प्रतिशत नाघ्यो, एकैदिन १४ जनाको मृत्यु


काठमाडौं, भदौ २८
नेपालमा पछिल्लो समय कोरोना संक्रमण हुने र निको हुनेको दर बढेको छ । दैनिक एक हजार बढीमा कोरोना संक्रमण देखा परे पनि ७० दशमलव छ प्रतिशत संक्रमित कोरोना निको भएर घर फर्किसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यका दैनिक तीन सयभन्दा बढीमा कोरोना देखिए पनि सर्वसाधारणको सडक र बजारमा चहलपहल बढेको छ । सुरुका दिनमा एक जनामा कोरोना देखियो भने टोल नै त्रसित हुने अवस्था थियो । अहिले एउटै टोलमा दर्जनौँमा कोरोना देखिए पनि आम नागरिक आफ्नो व्यवसाय सञ्चालन गरेर बसेका छन् । काठमाडौैंकै कतिपय ठाउँमा कोरोना क्षेत्र भनेर ब्यानर राखे पनि त्यो क्षेत्रमा सबैजसो पसल सरकारी नियमअनुसार नै सञ्चालन भइरहेकै छन् ।

शनिबार पनि नेपालका एक हजार दुई सय एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार दुई सय एक जनामा कोरोना देखिँदा आठ सय ५२ जना कोरोनालाई जित्न सफल भएका छन् । शनिबारको यो तथ्यांकसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार एक सय २० पुगेको छ । निको हुनेको संख्या ३७ हजार पाँच सय २४ पुगेको छ ।

शनिबार काठमाडौँ उपत्यकामा थप चार सय ३१ जनामा कोरोना पुष्टि भएको छ । त्यसमध्ये काठमाडौँमा तनी सय ७७, ललितपुरका ३७ र भक्तपुरका १७ जनामा कोरोना पुष्टि भएको हो । शनिबारसम्म सात जिल्लामा सङ्क्रमित छ सयभन्दा बढी छन् भने सात जिल्ला शून्य छन् । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा सुनसरी, सर्लाही, चितवन, ललितपुर, काठमाडौँ र रुपन्देही छन् । त्यस्तै हाल सङक्रमितको सङ्ख्या शून्य रहेका जिल्लामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, ग्यादी र हुम्ला छन् ।

मन्त्रालयका अनुसार हाल देशभर १५ हजार दुई सय ६० जना आइसोलेसनमा रहेका छन् र छ हजार तीन सय ५४ जना क्वारेन्टाइनमा रहेका छन् । तीमध्ये होम आइसोलेसनमा छ हजार एक सय ५३ जना रहेका छन् । शनिबारसम्म एक सय ६० जना आईसीयूमा र २४ जना भेन्टिलेटरमा छन् । भेन्टिलेटरमा रहेकामध्ये पनि २१ जना त वाग्मती प्रदेशका मात्र छन् । यसले वाग्मती प्रदेश कोरोनाको उच्च जोखिममा रहेको पुष्टि गरेको छ । सुरुका महिनामा अन्य जिल्लामा कोरोका बढी देखिए पनि साउनमा लकडाउन खोलेसँगै वाग्मती र खासगरी काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढी देखिएको हो । अहिले काठमाडौं उपत्यकामा प्रवेशमा कडाइ गरिए पनि काठमाडौंमा दैनिक संक्रमितको संख्या बढ्दै गएको छ ।

पहिला नै संक्रमितहरुले नयाँ–नयाँ बिरामी थप गरेको अनुमान गरिएको छ । व्यापार/व्यवसाय सुरु भएको कारण कोरोनाको संक्रमण बढ्दै गएको हो । एउटै पसलमा सयौं व्यक्तिहरु पुग्ने हुँदा कोरोना संक्रमणले तीव्रता लिएको हो । तर, कोरोना बढे पनि परीक्षण गरेर बस्ने तर व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग उद्योगी/व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमै बताइसकेका छन् । त्यही भएर कोरोना संक्रमितको संख्या बढे पनि सडक र बजारमा सर्वसाधारणको चहल पहल बढेको हो ।

काठमाडौं महानगरपालिकाले फुटपाथका पसल बन्द गर्नुपर्ने माग गरे पनि काठमाडौंमा फुटपाथमा पसल सञ्चालन भइरहेको छ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी नेतृत्वको टोलीले त काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई भेट गरेर फुटपाथ र ठेगागाडामा हुने व्यवसाय बन्द नै गर्नुपर्ने भन्दै ज्ञापनपत्र बुझाएको छ ।

शनिबार नेपालमा १४ जनाको कोरोनाबाट ज्यान गएको छ । कोरोनाबाट मृत्यु हुनेमा सुनसरीका एक पुरुष, पर्साका एक महिला, काठमाडौंका दुई पुरुष र एक महिला, भुक्तपुरका दुई पुरुष, चितवनका एक पुरुष, तनहुँका एक महिला, स्याङ्जाका एक पुरुष, गोरखाका एक पुरुष, कास्कीका एक पुरुष, रुपन्देहीका दुई पुरुष रहेका छन् । उनीहरु ३८ देखि ८५ वर्षभित्रका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्