Techie IT
१४ असोज २०७९, शुक्रबार

कोरोना भाइरस नेपाल: शव व्यवस्थापनका लागि किन रोजिन्छ रातिको समय र अज्ञातस्थल


काठमाडौं ।

अहिले शव व्यवस्थापन सम्बन्धी सम्पूर्ण काम नेपाली सेनाले गर्दै आएको छ तर शव कुन ठाउँमा लगेर व्यवस्थापन गरिन्छ भन्ने बारेमा भने मृतकका आफन्तलाई पनि प्रायः थाहा हुँदैन।

कोरोनाभाइरस सङ्क्रमणका कारण १३ दिन अगाडि ज्यान गुमाएकी रुपन्देही तिलोत्तमाकी एक महिलाको शवको व्यवस्थापन कहाँ गरियो भन्ने बारेमा उनका परिवारलाई आजसम्म कुनै जानकारी छैन।

परम्परा अनुसार काजकृया गर्ने प्रयोजनको लागि सदगत गरेको समयको बारेमा सोधखोज गरेपछि उनकी छोरीलाई जानकारी दिइयो सोही दिन राति साढे १० बजे मृतकको अन्त्येष्टी गरिएको थियो भनेर।

मृतककी छोरी भन्छिन्, “आमाको शव गाडेको ठाउँ कहाँ हो भनेर पटक पटक सोध खोज गरियो तर कसैले पनि बताएनन्।”

“आमा फर्कने कुरा हुँदैनथ्यो, हामी शव गाडेको ठाउँमा जाने कुरा पनि हुने थिएन,” उनी भन्छिन्, “तर ठाउँ थाहा पाए पनि त मन शान्ति हुने थियो।”

सङ्क्रमित छोराहरूबाट दागबत्ती

शव व्यवस्थापन

गत सोमबार मात्र ज्यान गुमाएका कपिलवस्तुका एक सङ्क्रमितको दाहसंस्कार उनका छोराहरूले गरे।

नेपाली सेनाले अन्त्येष्टी गर्ने तयारी गर्दागर्दै स्थानीय बासिन्दाले परम्परा अनुसार अन्त्येष्टी गर्न पाउनुपर्छ भन्ने माग गरेपछि विवाद चर्कने अवस्था आयो।

पछि छोराहरूकै हातबाट दागबत्ती दिने सहमति भयो र छोराहरूले नै दागबत्ती दिए। मृतकका दुवै छोरा कोरोनाभाइरस सङ्क्रमित हुन्।

कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाएका बाबुलाई सङ्क्रमित छोराहरूले नै दाहसंस्कार गरेका यस्ता घटना बिरलै सुनिन्छन्।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले मृतकलाई अस्पतालबाट बाहिर ननिकाल्दा सम्मको सबै काम स्वास्थ्यकर्मीले गर्ने र त्यसपछिका अरू व्यवस्थापनको काम नेपाली सेनाले गर्ने गरेको बताउँछन्।

अन्तिम संस्कार

उनी भन्छन्, “शव व्यवस्थापन एकान्त ठाउँमा गर्नुपर्ने एक प्रकारको बाध्यता पनि छ किनकी बस्ती नजिकै व्यवस्थापन गर्दा स्थानीय बासिन्दाले विरोध गर्ने गरेको अवस्था पनि छ।

ठाउँबारे विरोध

विश्व स्वास्थ्य सङ्गठनको कार्यविधिमा मृतकका आफन्तहरूले शव हेर्न चाहेमा निश्चित दूरी कायम गरेर पालैपालो हेर्न सकिने उल्लेख गरिएको छ।

तर नेपालमा शव व्यवस्थापन गर्ने ठाउँबारे विवाद हुन थालेपछि शवको व्यवस्थापन प्रायः रातिको समय र अज्ञातस्थलमा गर्न थालिएको सामाजिक विकास मन्त्रालय प्रदेश नं ५ का सूचना अधिकारी डा. पुष्पराज पौडेलले बताए।

उनी भन्छन्, “ठाउँ थाहा दिने हो भने त्यस ठाउँमा मानिसहरू विरोधमा उत्रने सक्ने अवस्था देखियो त्यसैले मृतकका शव दिनभरी अस्पतालमा राख्ने गरिएको हो। रात परेपछि सेनाले व्यवस्थापन गर्दै आएको छ।”

अहिले शवहरूको व्यवस्थापन सम्बन्धित स्थानीय तहले तोकेको स्थानमा गरिँदै आएको छ।

कोभिड-१९ बिरामी

मृतकबाट हुन सक्ने सम्भावित सङ्क्रमणका कारण आफन्तलाई खोजेर दाहसंस्कारमा सहभागी गराउने अवस्था नभए पनि सहभागी हुन चाहनेहरू सुरक्षा सतर्कता अपनाएर सहभागी हुन सक्ने प्रदेश नं ५ का विपत् व्यवस्थापन अधिकारी बाबुराम पन्थी बताउँछन्।

पन्थी भन्छन्, “हामी कार्यविधि अनुसार नै होस भन्ने चाहन्छौँ तर त्यसको लागि सुरक्षित मापदण्ड पनि अपनाउनु पर्‍यो। फेरि खबर गरेर दाहसंस्कारको लागि मान्छे जम्मा गर्ने अवस्था पनि त छैन।

स्वास्थ्य अधिकारीहरूसँग कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाएकाको शवहरूमध्ये कति गाडियो वा कति जलाइयो भन्ने बारेमा अहिलेसम्म कुनै अभिलेख छैन।

मलामीलाई सङ्क्रमण

स्वाब सङ्कलन गरिएको तर कोरोनाको रिपोर्ट नआउँदै मरेकाहरूका शव भने जलाइएका घटनाहरू पनि देखिँदै आएका छन्। रुपन्देहीमा यस्तै प्रकृतिका दुई घटनामा मलामी गएका अधिकांश मलामीहरूमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो।

केही अपवाद बाहेक कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाएकाहरूको शवको व्यवस्थापन गर्दा परिवारलाई सहभागी गराएको पाइएको छैन।(वीवीसी नेपाली सेवा बाट)

 


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्