फ्रान्सका गृहमन्त्री

तस्बिर स्रोत,AFP

तस्बिरको क्याप्शन,फ्रान्सका गृहमन्त्रीका अनुसार मृत्यु हुनेमा पाँच महिला र एक बालिका पनि छन्

उनले यो वर्षको सुरुदेखि उत्तरी फ्रान्समा १,५५२ जना मानवतस्करलाई गिरफ्तार गरिएको र तस्करहरूका ४४ वटा सञ्जाल भत्काइएको बताए।

तथापि यो वर्ष ४७ हजार मानिसले च्यानल पार गरेर यूके पुग्ने प्रयास गरेको र ७,८०० आप्रवासीलाई उद्धार गरिएको मार्कोँले बताए।

साना डुङ्गामा केही आप्रवासीहरू बुधवार यूके पुगेको आकलन गरिएको छ। यूकेको डोभरमा अधिकारीहरूले मानिसहरूलाई तटमा ल्याएको देखिएको थियो।

बीबीसी न्यूजनाइटका नीति सम्पादक लूइस गूडलले आफूले बुधवार २५ वटा डुङ्गाले इङ्ग्लिश च्यानल हुँदै यूके आउने प्रयास गरेको बुझेको बताएका छन्।

हालैका दिनमा च्यानलबाट जोखिमपूर्ण यात्रा गरेर फ्रान्सबाट यूके आउने आप्रवासीको सङ्ख्या ह्वात्तै बढेको छ।

यो वर्ष २५,७०० जना भन्दा धेरै व्यक्ति त्यसरी यूके आइपुगेका छन् जुन सन् २०२० को भन्दा तीनगुना बढी हो।

बुधवार बिहान उत्तरी फ्रान्सको तटीय क्षेत्रबाट हिँड्नुअघि ४० जनाभन्दा बढी आप्रवासीहरूको एउटा समूह

तस्बिर स्रोत,REUTERS

तस्बिरको क्याप्शन,बुधवार बिहान उत्तरी फ्रान्सको तटीय क्षेत्रबाट हिँड्नुअघि ४० जनाभन्दा बढी आप्रवासीहरूको एउटा समूह

डुङ्गा कसरी दुर्घटनामा पर्‍यो?

डुङ्गा कसरी डुब्यो भन्ने कारण थाहा छैन। तर फ्रान्सका गृहमन्त्रीले डुङ्गाको हावा खुस्किएको जस्तो देखिएको बताएका छन्।

उनका अनुसार आप्रवासीहरूले हावा भर्नुपर्ने लामो डुङ्गा प्रयोग गरेका थिए र त्यो “एकदमै कमजोर” थियो।

उक्त डुङ्गा मानिसले बगैँचामा हावा भरेर पानी भर्न प्रयोग गर्ने खालको भएको उनको भनाइ छ।

फ्रान्सेली प्रहरीका अनुसार उक्त डुङ्गा क्यालेभन्दा पूर्वमा अवस्थित डन्कर्क क्षेत्रबाट हिँडेको थियो।

स्थानीय माझीका अनुसार मौसम राम्रो भएकाले बुधवार अघिपछिको भन्दा बढी आप्रवासीहरू इङ्ग्लिश च्यानल पार गर्न निस्किएका थिए।

बुधवार मात्रै झन्डै २५ वटा डुङ्गाहरू त्यसरी निस्किएको विवरण आएको छ।

पक्राउ परेका पाँच सन्दिग्ध मानवतस्करमध्ये दुई जनालाई अदालतमा प्रस्तुत गरिएको छ।

मन्त्री डार्मानँका अनुसार सरकारी वकिलहरूले गम्भीर प्रकृतिको मानवहत्याबारे एउटा अनुसन्धान थालेका छन्।