Techie IT
१० असार २०७८, बिहीबार

सुगम जिल्लाको दुर्गम बस्ती खल्ला मसेट्टी


कञ्चनपुर, भदौ २५
कञ्चनपुरको उत्तर पश्चिम क्षेत्र, सदरमुकाम महेन्द्रनगरबाट करिब २० किलो मिटर टाढा पहाडी क्षेत्र, उपत्यकाजस्तै लाग्ने रमाइलो ठाउँ हो खल्ला मसेट्टी । भीमदत्त नगरपालिकाको ९ नम्बर वडामा पर्ने गाउँहरु हुन् खल्ला, मसेट्टी, मटेना, टुँडिखेल । महेन्द्रनगरबाट रातिको समयमा हे-यो भने बत्ती बलिरहेको गाडी आवतजावत गरेको देखिन्छ । देख्दा पहाडी ठाउँ गर्मी बेला चिसो हावा खान गइहालुँ कि जस्तो नि महसुस हुन्छ । त्यहाँ पुग्न ब्रह्मदेवसम्म बाटो पक्की छ । ब्रह्मदेव कटेपछि महाकाली नदी किनारबाट सुरु हुन्छ खल्ला मसेट्टी जाने कष्टकर कच्ची बाटो । उक्त बाटो पनि ठाउँ–ठाउँमा पहिरोले भत्काइदिएको छ ।

महाकाली किनारको बाटो, हिँड्दा रमाइलो र शीतल महसुस हुन्छ, तल नदी छ माथि जंगल । पारि भारतीय क्षेत्र छ, जहाँ हरियाली र रातको समयमा बत्तीको झिलिमिली छ । तर यता नेपालमा भने बत्ती त के बत्तीको लाइन पनि बल्ल–बल्ल बनाइरहेको देखिन्छ । त्यो पनि, तार र पोल राम्रोसँग राखिएका छैनन् । नदी किनारको खोलाले बगाएको सानो बाटोबाट खल्ला मसेट्टीबासीहरुले ब्रह्मदेवबाट पिठ्युँमा बोकेर आवश्यक सामानहरु लाने गरेका छन् । गाउँमा पुग्ने बाटो सहज छैन भएका बाटोहरु पनि उही वर्षे खोलाले बनाएका बगर हुन् । तीनै खोलाका बगरहरुमा केही स्थानीयले बाइक कुदाउने गरेका छन् ।

खल्ला मसेट्टी नेपाल टेलिकमको नेटवर्क अहिलेसम्म पुगेको छैन । यहाँका स्थानीयहरुले नेपालका दूरसञ्चार प्रदायकको नेटवर्क नटिप्ने भएपछि भारतीय नेटवर्क प्रयोग गर्ने गरेका छन् । खल्ला मसेट्टीक्षेत्रलाई न त नेताले देखेको छ न त विकासले देखेको छ । स्थानीयहरु वर्षायाममा त महेन्द्रनगर र ब्रह्मदेवसँग सम्पर्कविहीन नै हुने गरेका छन् । तर पनि गाउँका खेतबारीहरु हरियाली छन् । स्थानीयहरुले तरकारी, फलफूल उत्पादन गर्ने गरेका छन् तर सडक नहुँदा बजारीकरण हुनसकेको छैन । खल्ला मसेट्टी, टुँडिखेल क्षेत्रका बासिन्दाको जनजीवन साह्रै कष्टकर छ ।

सरकारी विद्यालयमा लथालिङ्ग छ, विद्यालयको खेल मैदानभरि रुख र ढुङ्गाले भरिएको छ । यस क्षेत्रमा पछिल्लो समयमा जनप्रतिनिधि आएपछि खासै अवस्थामा परिवर्तन ल्याउन नसकेको स्थानीयहरु बताउँछन् । खल्ला मसेट्टीक्षेत्रमा पक्की बाटो बन्ला र गाडी गुड्ला भन्ने आशा मरिसकेको स्थानीय बताउँछन् ।

नेताहरु पनि बेला–बेलामा पुग्छन् र मिठा भाषण गरेर फर्किन्छन् । यहाँका स्थिति जस्ताको तस्तै छ । महाकाली पारि भारतीय क्षेत्र हराभरा सुविधासम्पन्न, झिलिमिली देखिनु, वारि नेपाली भूभाग अन्धकारमा रहनु, टेलिफोन पनि नलाग्नु, केवल नागरिकता र प्रमाणपत्र मात्रै नेपाली बोक्नु परेको आभास स्थानीयले गरेका छन् ।

गाउँमा गतिलो स्वास्थ्यचौकी पनि छैन, सुत्केरी व्यथा लाग्दा पनि ब्रह्मदेवसम्म स्ट्रेचरमा राखेर बोकेर महेन्द्रनगर ल्याउनुपर्छ । पारि भारत जान पनि कि त नाउमा तर्नुपर्छ कि त ब्रह्मदेव पुगेर पुलबाट जानुुपर्छ । खल्लाका विद्यार्थीहरु क्याम्पस पढ्नका लागि महेन्द्रनगर आउने गरेका छन् । महेन्द्रनगर आउँदा र जाँदा बाटोमा साइकलले मान्छे बोक्दैन, उल्टो काँधमा हालेर साइकल बोक्नुपर्छ । बाइक हुनेले जसोतसो गुडाउँछन्, त्यो पनि खाल्डाखुल्डी, ढुङ्गैढुङ्गा, पहिरोले भरिए खोलानालाको बाटो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्