Techie IT
१० असार २०७८, बिहीबार

दोलखामा पहिरोले एक दर्जन घर बगायो


दोलखा, भदौ २४
जिल्लाको उत्तरीक्षेत्र कालिञ्चोक गाउँपालिका र बिगु गाउँपालिकामा सोमबार राति लगातारको वर्षासँगै गएको पहिरोले करिब एक दर्जन घर बगाएको छ । कालिन्चोक गाउँपालिका वडा नम्बर ५ लापिलाङ र बिगु गाउँपालिका वडा नम्बर २ ओराङमा गएको पहिरोले एक दर्जनभन्दा बढी घरहरुमा क्षति पुगेको हो ।

पहिरोले कालिञ्चोक गाउँपालिका नम्बर वडा ५ लापिलाङको रानीबन, काडाबारी र बनथलि लगायतका बस्तीमा ठूलो क्षति गरेको छ । रानीवनको भीर खस्दा आधा दर्जन घरहरु पुरिएको कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सुबास थामीले जानकारी दिए । वडा अध्यक्ष थामीका अनुसार उक्त क्षेत्र पहिलेदेखि नै पहिरोको जोखिमा रहेकोले त्यहाँका स्थानीयलाई नजिकैको विद्यालयमा स्थानान्तरण गरिएको थियो । सोही कारण मानवीय क्षति भने हुन नपाएको उनले जानकारी दिए ।

सो वडाका चारवटा टोलका करिब एक सय ५० घरपरिवार पहिरोको उच्च जोखिममा रहेको थामीले बताए । त्यसैगरी सोमबार राति जिल्लाको बिगु गाउँपालिकामा गएको पहिरोले चारवटा घर बगाएको छ । बिगु गाउँपालिका वडा नम्बर २ ओराङमा गएको पहिरोले चारवटा घरलाई पूर्ण रुपमा क्षति गरेको छ भने छवटा घरमा आंशिक क्षति पुगेको छ ।

गाउँमा पहिरो गए पनि स्थानीयले भागेर आफ्नो ज्यान जोगाएको बिगु गाउँपालिका उपाध्यक्ष सन्जिव वलीले जानकारी दिए । रातिको समय ठूलो पहिरो गए पनि मानवीय क्षति भने हुन नपाएको उपाध्यक्ष वलीले जानकारी दिए । अहिले ओराङ गाउँका करिब १२ घरपरिवार पहिरोको उच्च जोखिममा रहेको हुँदा अन्यत्र सार्ने काम भइरहेको वलीले बताए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्