Techie IT
१० कात्तिक २०७८, बुधबार

राप्रपा नेपालका महामन्त्री गुरुङको योगदानको स्मरण


काठमाडौं । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले मुलुकमा उत्पन्न परिस्थिति र राजनीतिक निकासका लागि दलहरु एक ठाउँमा उभिएर छलफलका माध्यमबाट निकर्षमा पुग्न आवश्यक रहेको बताएका छन् ।

तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता चन्द्रबहादुर गुरुङको स्मृति दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले नेपाली जनताको लामो सघर्ष र बलिदानका उपलब्धीलाई कमजोर हुन नदिन राजनीतिक दल एक ठाउँमा उभिनु पर्ने बताए ।

पूर्वउपसभामुख नेम्वाङले भने, “लोकतन्त्रको सुन्दर पक्ष भनेकै छलफलका माध्यमबाट सहमतिमा पुगेर निकास दिनु हो, मुलुक र जनताको हितका लागि दल एक ठाउँमा नउभिइ सुखै छैन, उभिनै पर्छ ।”

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले देश र जनताका हितका खातिर जनमत सङ्ग्रहविना राजतन्त्र, धर्मनिरपेक्षताका विषयमा निर्णयमा पुग्न हुन्न भनी सशक्त मत राख्ने स्व. गुरुङ मिलनसार, प्रखरवक्ता र सिद्धान्तनिष्ठ नेता रहेको राससलाई बताए ।

उनले भने, “लोकतन्त्र स्थापनापछि विकास र समृद्धिका हिसाबले मुलुकले काँचुली फेर्ने आशा गरिए पनि पछिल्ला राजनीतिक घटनाक्रमले संविधान र कानूनी राज्यको उपहास भइरहेको छ ।” जनआन्दोलन २०६२/६३ का बलमा स्थापित ३१ दलको प्रतिनिधित्व रहेको संसद्मा राप्रपा संसदीय दलका नेता गुरुङले गणतन्त्र, धर्मनिरपेक्षतालगायत विषयमा दलको अडान सशक्तरुपमा राख्नुभएको वक्ताहरुले स्मरण गरे ।

सोही दलका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वाणि र काममा एकरुपता कायम राख्दै राजनीति मूल्य मान्यता, आदर्शमा नडगमगाउने स्व. गुरुङ सबैसँग मित्रता र वन्धुत्व कायम गर्न सक्ने क्षमतावान नेता रहेको बताए ।

वर्तमान शासनप्रणालीको आधार तयार गर्ने सवालमा राप्रपा रहेको स्मरण गराउँदै अन्य सहभागी वक्ताले स्व. गुरुङका नाममा स्थापित स्मृति अध्ययन प्रतिष्ठानलाई देशका समसामयिक विषयमा छलफल चलाउन सुझाव दिए । अर्वुद्ध रोगको उपचारका क्रममा उनको केही वर्षअघि निधन भएको थियो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्