Techie IT
शनिबार, असोज १०,२०७७

लकडाउन खुले पनि कालिञ्चोकका होटल सुनसान


दोलखा, साउन २२
दोलखाको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोक मन्दिर आसपासका होटल विगत पाँच महिनादेखि सुनसान छन् । कोरोना भाइरस न्यूनीकरण गर्न सरकारले जारी गरेको लामो लकडाउनले प्रभावित बनेको यस क्षेत्र लकडाउन अन्त्य भए पनि सुनसान नै छ । सरकारले साउन १५ गतेबाट होटल तथा रेष्टुरेन्ट खोल्न दिने निर्णय गरेसँगै यस क्षेत्रका होटलहरु पनि खुलेका छन् । होटल खुले पनि सरकारले लामो दूरीको यातयात सञ्चालन नगर्ने तथा भीडभाड हुने धार्मिक स्थलहरु नखोल्ने निर्णय गरेकाले यस क्षेत्रका होटलहरु सुनसान छन् । जिल्लाको प्रमुख पर्यटकीय तथा धार्मिक स्थल कालिञ्चोकका होटल व्यवसायीहरु कोरोना भाइरस र त्यसपछिको लकडाउनका कारण मारमा परेका हुन् ।

सरकारले यसअघि पर्यटन क्षेत्र भदौ १ गतेदेखि खुल्ला गर्ने निर्णय गरेपछि यस क्षेत्रका होटल व्यवसायी केही उत्साहित बनेका थिए । तर पछिल्लो चरण कोरोना संक्रमणको दर बढेसँगै अन्तर्राष्ट्रिय हवाइ उडान तथा पर्यटन क्षेत्र खोल्ने या नखोल्ने भन्नेमा अन्योल पैदा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विज्ञहरुले फेरि लकडाउन गर्न सुझाव दिएसँगै यस क्षेत्रका व्यवसायीहरु थप चिन्तित बन्नपुगेका छन् । कोरोनाका कारण ठूलो लगानी गरेर खोलेका होटल तथा रेस्टुरेन्ट खाली हुँदा आर्थिक संकट देखिनथालेको व्यवसायीहरु बताउँछन् ।

गत फागुनदेखि नै कालिन्चोक क्षेत्रमा पर्यटकको आगमव शून्य छ । आम्दानीको मुख्य स्रोत नै बन्द हुँदा बैंक तथा सहकारीको किस्ता तथा हर्जना तिर्न समस्या भएको कालिञ्चोक सुनपाती होटलका सञ्चालक हरि वलीले बताए । पर्यटक आउने सिजन चलिरहेको बेला कोरोनाको संक्रमण फैलिएपछि आम्दानीको स्रोत नै बन्द भएको उनले बताए । लकडाउन खुल्नेबित्तिकै घुम्न आउने पर्यटकलाई पास चाहिने, कच्ची सडक महङ्गो सवारी भाडाका कारण आउन खोज्ने पर्यटक पनि आउन नसकिरहेको उनले सुनाए ।

बाहिरी जिल्लाका पर्यटकलाई कालिञ्चोक आउन अनिवार्य पास चाहिने भएकाले पनि पर्यटकको आगमन हुन नसकेको उनले बताए । कालिञ्चोकमा लाखौं खर्च गरेर खोलेका ५० होटल रहेका छन् । चाडपर्व नजिकिँदा भरिभराउ हुने कालिञ्चोक हिजोआज सुनसान देखिन्छ । सो भेगका होटल व्यवसायीले लकडाउन खुलेदेखि नै कोरोना संक्रमण रोक्न सरकारले दिएको निर्देशनअनुरुप आवश्यक सतर्कता अपनाएर होटल खुल्ला गरेको जनाएका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्