Techie IT
९ असार २०७८, बुधबार

होटल तथा रेष्टुरेन्ट क्षेत्रको ३० अर्ब लगानी संकटमा


चितवन, भदौ २३
चितवन जिल्लास्थित होटल तथा रेष्टुरेन्ट क्षेत्रको ३० अर्ब रुपैयाँभन्दा बढी लगानी संकटमा परेको छ । पर्यटकीय र सर्वसाधारणलाई सेवा दिँदै आएका जिल्लाका साना ठूला होटल रेष्टुरेन्ट कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण बन्द छन् । देशकै तेस्रो पर्यटकीय क्षेत्र सौराहासहित जिल्लाका एक हजार दुई सय ५० होटल रेष्टरेन्ट गएको चैतयता बन्द छन् ।

पर्यटन क्षेत्रको अध्ययन अनुसन्धान गर्दै आएका विश्व सुवेदीका अनुसार जिल्लामा पर्यटकीय होटलको संख्या दुई सय २५ वटा छन् । ती होटलमध्ये सबैभन्दा बढी रत्ननगरको सौराहामा एक सय १० वटा छन् । सौराहाबाहेक रत्ननगर क्षेत्रमा पर्यटकीय होटल संख्या २९ वटा छ ।

उनका अनुसार भरतपुर महानगरमा ६५ वटा, कालिकामा दुई वटा, खैरहनीमा तीनवटा, माडीमा तीनवटा, राप्ती नगरपालिकामा–३ वटा र इच्छाकामना गाउँपालिकामा ११ वटा पर्यटकीय होटल रहेका छन् । ती होटलमा पर्यटकीय मौसममा दैनिक एक करोड ५० लाख बढी कारोबार हुने उनको भनाइ छ । अन्यमा त्यति नै व्यापार हुने सुवेदीले बताए ।

यसका अतिरिक्त पर्यटकीय गतिविधि जीप सफारी, डुङ्गा सफारी, हात्ती सफारी, बसलगायतमा ३० लाख रुपैयाँ हाराहारी दैनिक कारोबार हुने व्यवसायी बताउँछन् । सुवेदीले जिल्लामा होटल रेष्टुरेन्टमा १६ हजार मजदुर कार्यरत रहेको अध्ययनले देखाएको जानकारी दिए । ती होटल रेष्टुरेन्टमा ३० अर्बभन्दा बढी लगानी छ ।

जसमध्ये ४० प्रतिशतभन्दा बढी बैंकिङ ऋण रहेको सवेदीले बताए । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले यहाँ चैतदेखि असार १५ सम्म पर्यटकीय मौसम मानिन्छ । त्यसपछि भदौ १५ सम्मलाई पर्यटकीय मौसम मानिँदैन । त्यतिबेला पनि आधा व्यापार हुने भट्टराईको भनाइ छ ।

भदौ १५ पछिको यो समय पर्यटकीय मौसम हो । उनले भने, ‘यो मौसम पनि त्यत्तिकै जाने भयो ।’ गत वर्ष यतिबेला सौराहामा पर्यटक राम्रो चहलपहल हुने गर्दथ्यो । अहिले होटल चौकीदारले कुरेर मात्रै बसेका छन् । भट्टराईले गुनासो गरे, ‘दशैँको समयमा स्वदेशी पर्यटक आउँछन् भन्ने आश थियो । त्यो पनि हरायो ।’

क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष सुमन घिमिरेले बीचमा केही समय होटल खोल्दा झनै नोक्सान भएको बताए । वातावरण पूर्ण सहज नभएसम्म होटल खोल्न नहुने भन्दै उनले अहिलेको घाटा परिपूर्ति गर्न निकै कठिन भएको गुनासो गरे । उनले भने, ‘बैंकहरुले ऋण थप गरिदिए भने होटलको तिर्नुपर्ने चालू खर्च तिरेर स्तरोन्नति गर्ने तयारीमा छु ।’ सबै होटल सञ्चालकको अवस्था घिमिरेको जस्तै रहेको छ ।

व्यवसायीको व्यवसाय मात्रै होइन, मजदुरको आवस्था पनि दयनीय बन्दै गएको छ । सबै बेरोजगार भएका छन् । उनीहरु दैनिकी कष्टकर बन्दै गएको छ । ट्रेड युनियन कांग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटाले मजदुरको अवस्था निकै दयनीय भएको बताए ।

होटल रेष्टुरेन्टमा काम गर्ने मजदुरले तलब पाउन नसक्दा दैनिकी चलाउन नै मुस्किल परेको सापकोटाको भनाइ छ । जिल्लामा आन्तरिक र बाह्य पर्यटक कति आउँछन् वास्तविक तथ्यांक छैन । चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने वार्षिक दुई लाख हाराहारी छन् । निकुञ्ज नघुम्ने तर जिल्लामा आउने कुल संख्या पाँच लाखमाथि हुने गरेको व्यवसायी बताउँछन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्