Techie IT
९ असार २०७८, बुधबार

कोरोनाभन्दा भोको पेटको चिन्ता


बाँके, भदौ २३
बाँकेको नेपालगन्ज उपमहानगरपालिका –४ का एक युवकले सामाजिक सन्जाल फेसबुकमा लेखे, –‘लकडाउनले होटलमा गर्दै आएको जागिर गयो । प्लिज कतै जब भेटिए भन्नुहोला ।’ उनको स्टाटसमा कमेन्ट गर्नेहरू अधिकांशको पीडा पनि ती युवकजस्तै थियो । धेरैले जागिर गुमाएको भन्दै अब के गर्ने होला भन्ने अन्यौलग्रस्त प्रश्न तेर्साइरहेका थिए । सामाजिक सन्जालमा यसरी जागिरको खोजी गर्नेको संख्या अधिक छ । जागिर गुमाउँदाका पीडा र व्याथा भनीसाध्य छैन् ।

परिवारका ६ जना सदस्यसहित नेपालगञ्ज–७ मा डेरा गरी बस्ने अर्का एक युवक भने, ‘पाँच महिना जसोतसो काटियो । अब त छाक टार्नै मुस्किल भइसक्यो ।’ शिक्षण पेसामा निर्भर उनको लकडाउन यता आम्दानी शून्य छ । ‘आज खुल्ला, भोलि खुल्ला भन्दाभन्दै यतिका महिना बित्यो । अब त बस्नै नसकिने भयो’, उनले भने । लकडाउनका कारण पर्यटन, यातायात, शिक्षणजस्ता क्षेत्र सबैभन्दा बढी प्रभावित छन् । बाँकेमा मात्र यी क्षेत्रमा सयौं जना निर्भर थिए ।

सबैभन्दा धेरै रोजगारी दिने क्षेत्र नै लकडाउनमा सबैभन्दा धेरै प्रभावित भएपछि बेरोजगार हुनेको संख्या अत्याधिक भएको हो । कामविहीन भएपछि धेरैलाई मानसिक तनावले झेलिरहेको छ । महामारी फैलिएसँगै देशभित्र र विदेशमा रहेका थुप्रै नेपाली बेरोजगार बनेका छन्, जसका लागि झन्डै १० लाख रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताइन्छ ।

यस अवधिमा थुप्रै उद्योग, व्यवसाय, अफिसहरू बन्द हुनपुगे । अझै पनि पर्यटन क्षेत्र सम्बद्ध व्यापार, व्यवसाय र अफिसहरू सञ्चालनमा आउन सकेका छैनन् । कोरोना भाइरसका कारण ११ चैतमा मुलुक लकडाउन भएसँगै हजारौँ मानिस बेरोजगार बने । पाँच महिनाभन्दा बढी बन्दाबन्दीमा कतिले जागिर गुमाए भन्ने यकिन तथ्यांक कसैसँग पनि छैन ।

कोरोना महामारीका कारण भारतबाट केही महिना अगाडि स्वदेश फर्केका युवाहरू कोरोना कहरकैबीच फेरि भारत नै फर्किन बाध्य भइरहेका छन् । यतिखेर नेपालभारत नाकामा भारत गएर काम गर्ने आशा लिएर बाहिरने युवाहरूको लर्काे लाग्ने गरेको छ । ‘घरमा भएको अन्नपात सकिएकोले गाउँमा बस्नसक्ने अवस्था रहेन । भारत जानुको विकल्प भएन,’ नेपाल–भारत सीमा नाका जमुनहामा शुक्रवार बिहान भेटिएका वीरेन्द्रनगर नगरपालिका–२, का महेन्द्र बुढाले भने । उनी भारतको गुजरात जानका लागि सुर्खेतबाट नेपालगन्ज नाका आएका हुन् । गुजरातमा चौकीदारीको काम गर्ने उनी पाँच दिन लगाएर नेपाल आएका थिए । भारतले लकडाउन गरेपछि काम नपाएर उनी नेपाल आए ।

गुजरातबाट बल्लतल्ल नेपालगन्ज नाकामा आएका उनले सुर्खेत जान पनि ठूलै संघर्ष गर्न परेको थियो । स्वदेशबाट भारत जानका लागि उनले ठूलै कसरत गर्नुपरेको छ । दुई दिनदेखि प्रयास जारी रहेको उनले बताए । छोरा र पत्नीलाई सँगै लैजान लागेका उनले कोरोनाभन्दा भोको पेटको चिन्ता भएको बताए । ‘घरमा भएको अन्नपात सकियो । भारत जानुको विकल्प हामीसँग रहेन,’ उनले भने ।

भारतमा लकडाउन भएपछि कामबाट निकालिएका उनी नेपाल छिर्न नेपाली नागरिकताको प्रमाणपत्र देखाए । अहिले तिनै थापा भारत छिर्न भारतीय आधार कार्ड देखाइरहेका छन् । आधार कार्ड भएकालाई भारत जान सजिलो भएपछि उनीजस्तै धेरै नेपाली आधार कार्ड बोकेर नेपालगन्ज नाका आएका छन् ।

भैरवी गाउँपालिका–१ दैलेखका ३२ वर्षीय हर्कबहादुर थापा पनि आधार कार्ड बोकेर नेपालगञ्ज नाका पुगेका छन् । भारतको गुजरातस्थित एक होटलमा काम गर्ने उनी पनि अन्नपात सकिएपछि भारत जान लागेको बताउँछन् । नेपालमा रोजगार नपाएपछि फेरि भारत फर्किन थालेको उनले बताए । जेठमा आउँदा पनि यस्तै दुःख झेलेको बताउँदै उनले कोरोनाभन्दा पेट पाल्ने चिन्ता भएको बताए ।

‘कोरोनाको डरले नेपालमा बस्ने हो भने एक छाक भात खान समस्या हुन थाल्यो । भोकै बस्नुभन्दा रोगसँग लड्न उत्तम लाग्यो,’ उनले भने । दैनिक सरदर ३ सय नेपाली भारत जानका लागि नेपाल–भारत सीमा नाका जमुनाह आउने गरेको इलाका प्रहरी कार्यालय, जमुनहाका इन्चार्ज प्रहरी नायब निरीक्षक विष्णु गिरीले बताए । उनले आधार कार्ड भएकालाई भारत जान दिएको बताए ।

भारतमा लकडाउन भएपछि नेपाली नागरिकताको प्रमाण पत्र देखाएर आएकाहरू जाने बेला आधार कार्ड देखाएर जाने गरेको बताए । उनले भारतबाट आउन जोरबल गरेजस्तै भारत जानका लागि पनि दबाब दिने गरेको बताए । भारत जानेहरूले जनप्रतिनिधि, राजनीतिक दलका नेता, प्रशासकको सिफारिस ल्याउने गरेको गिरीले बताए । जनप्रतिनिधि र राजनीतिक दलका नेता नाकामा पुगेर दबाब दिने गरेको उनको भनाइ छ । ‘भारतबाट आउन दबाब दिएकाहरू अहिले भारत जान पाऊँ भनी दबाब सिर्जना गर्छन्,’ उनले भने, ‘हामीले दबाब थेग्न सक्ने अवस्था छैन ।’ (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्