Techie IT
बिहीबार, कात्तिक ६,२०७७

फाप्लु विमानस्थलमा ‘मेटल डिट्र्याक्टर’ जडान


सोलुखुम्बु, साउन २२
सोलुखुम्बुको सदरमुकाम नजिकमा रहेको फाप्लु विमानस्थलमा ४४ वर्षपछि ‘वाक थु्र मेटल डिट्र्याक्टर’ यन्त्र जडान गरिएको छ । व्यक्तिहरुलाई चेकजाँच गर्नका लागि प्रयोग गरिने यो यन्त्र निकै लामो समयपछि जडान गर्न सफल भएको नागरिक उड्यन प्राधिकरण फाप्लुका प्रमुख प्रकाश शर्माले जानकारी दिए । यन्त्र जडान भएसँगै ४४ वर्षसम्म प्रहरीले हातैले चेकजाँच गर्दै आएको विमानस्थलमा अव त्यो समस्याको अन्त्य हुने भएको छ ।

प्रमुख शर्माका अनुसार अनुसार सोलुखुम्बुमा हवाइमार्गमा जोड्ने उद्देश्यले निर्माण गरिएको यस विमानस्थलमा पहिलो पटक वि.सं. २०३२ मा पिलाटस विमानले उडान भरेको थियो भने २०३४ सालदेखि ट्विनअटर विमानले उडान भर्न सुरु गरेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालय हवाइ सुरक्षा विभागको आर्थिक लगानीमा उक्त यन्त्र जडान गरिएपछि चेकजाँचमा सहज हुने विमानस्थल कार्यालयले जनाएको छ । ‘वाक थु्र मेटल डिट्र्याक्टर’ यन्त्र जडान भएपछि कुनै पनि व्यक्तिले संवेदनशील सामग्री बोकेको खण्डमा आफैँ साइरन बज्ने हुँदा सुरक्षाका हिसाबले थप सहज हुने शर्माले बताए । निकै लामो प्रयास पछि यन्त्र जडान गर्न सफल भइएको उनको भनाइ छ ।

यसैबीच फाप्लु विमानस्थमा विशिष्ट कक्ष भए पनि सञ्चालनमा ल्याउन नसकिएको विमानस्थल प्रमुख शर्माको भनाइ छ । ‘विशिष्ट कक्ष छ, तर आवश्यक सामग्री व्यवस्थाको लागि बजेट अभाव हुँदा सञ्चालन गर्न सकिएन’, प्रमुख शर्माले भने, ‘सम्बन्धित निकायमा पहल गरिरहेका छौं, यसलाई व्यवस्थित बनाउनका लागि पनि आफू लागिरहेको उनले बताए । सगरमाथाको जिल्ला भएकाले पनि विशिष्ट कक्षले महत्व राख्ने उनको भनाई छ ।’ जिल्ला सदरमुकाम क्षेत्रका विमानस्थल भएकाले यो विमानस्थलको भौतिक संरचनाको सुधार गर्नुपर्ने सरोकारवालाको भनाइ छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्