Techie IT
९ माघ २०७८, आईतबार

३४ वटै सरकारी प्रयोगशाला कोरोना परीक्षणका लागि खुला संक्रमित ४७ हजार दुई सय


काठमाडौं,२३ भदौ ।

सरकारले देशका सबै ३४ वटै सरकारी प्रयोगशालामा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्न सबैका लागि खुला गरेको छ । यसअघि सरकारले लक्षण देखिएकाहरुलाई र शंका लागेर परीक्षण गराउन चाहनेका लागि भिन्नाभिन्नै परीक्षण स्थल तोकेको थियो ।

सरकारले यसअघि नौवटा प्रयोगशालामा मात्रै शुल्क तिरेर कोरोनाको परीक्षण गर्न पाउने व्यवस्था गरेको थियो । अब भने ती नौसहित ३४ वटै प्रयोगशालामा शुल्क तिरेर कोरोनाको परीक्षण गर्न पाइनेछ । सरकारले कोरोना परीक्षणका लागि चार हजार चार सय शुल्क तोकेको छ ।

यसअघि सरकारले काठमाडौं उपत्यकाका वीर अस्पताल, पाटन अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशाला र हरेक प्रदेशका एउटा सरकारी प्रयोगशालाको साथै अन्य १३ वटा निजी प्रयोगशालालाई सशुल्क परीक्षणको अनुमति दिएको थियो । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार अब शुल्क तिरेर जोसुकैले सरकारी वा निजी अस्पतालमा कोरोना परीक्षण गर्न सक्नेछन् । सबै प्रयोगशाला सबैका लागि खुला नगर्दा मानिसहरुले चाहेर पनि घर नजिकको अस्पतालमा कोरोना परीक्षण गर्न पाएका थिएनन् ।

यसैबीच, सोमबार देशभरमा नौ सय ७९ नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौँ उपत्यकामा तीन सय २६ सहित देशभरमा उक्त संख्या देखिएको हो । थपिएका सङ्क्रमितमध्ये छ सय ४१ पुरुष र तीन सय ३८ महिला छन् । देशभरमा सङ्क्रमितको सङ्ख्या ४७ हजार दुई सय ३६ पुगेको छ । उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा २ सय ९३, ललितपुरमा २० र भक्तपुरका १३ छन् । देशभरका प्रयोगशालामा गरी नौ हजार दुई सय १८ नमूना परीक्षण गर्दा नौ सय ७९ जनामा कोरोना देखिएको हो ।

हालसम्म सात लाख ७७ हजार ५ सय ६३ नमूना परीक्षण भइसकेको छ । देशभर क्वारेन्टाइनमा रहने चार हजार सात सय ३९ छन् । देशभर १६ हजार दुई सय ५९ सक्रिय सङ्क्रमितमध्ये नौ हजार ६६ संस्थागत र सात हजार एक सय ९० होम आइसोलेसनमा छन् । सोमबार एक हजार सात सय ३६ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म सङ््क्रमणमुक्त हुनेको सङ्ख्या ३० हजार छ सय ७७ पुगेको जानकारी दिए । नेपालमा जम्मा सङ््क्रमितमध्ये निको हुने ६५ प्रतिशत पुगेका छन् ।

प्रदेशअनुसार, संस्थागत आइसोलेसनमा सक्रिय सङ्क्रमित प्रदेश १ मा एक हजार सात सय ३१, प्रदेश २ मा चार सय ८२, वाग्मतीमा चार हजार आठ सय ४०, गण्डकीमा आठ सय ३६, प्रदेश ५ मा एक हजार ९७, कर्णालीमा तीन सय ३६ र सुदूरपश्चिममा सात सय ४७ छन् । होम आइसोलेनमा प्रदेश १ मा सात सय ९०, प्रदेश २ मा तीन हजार, वाग्मतीमा दुई हजार तीन सय ३४, गण्डकीमा एक सय, प्रदेश ५ मा आठ सय सात, कर्णालीमा ४० र सुदूरपश्चिममा एक सय १९ छन् । देशभर एक सय ७१ सङ्क्रमित आईसीयूमा छन् ।

देश १ मा छ, प्रदेश २ मा २४, वाग्मतीमा १११, गण्डकीमा पाँच र प्रदेश ५ मा २१, कर्णालीमा तीन र सुदूरपश्चिममा एक जना आईसीयूमा छन् । वाग्मतीमा १८ र प्रदेश ५ मा दुई सङ्क्रमित भेण्टिलेटरमा छन् । पछिल्लो २४ घण्टामा देशरभका ४५ जिल्लामा नयाँ सङ्क्रमित भेटिएका छन् जसमा उदयपुर एक, झापा १६, पाँचथर छ, भोजपुर एक, मोरङ ३९, सुनसरी ६५ र सोलुखुम्बु एक रहेका छन् । धनुषा ४४, महोत्तरी तीन, सप्तरी १९, सर्लाही २० र सिराहा ४१, काठमाडौँमा दुई सय ९३, ललितपुर २०, भक्तपुर १३, काभ्रेपलाञ्चोक २८, चितवन १९, दोलखा तीन, धादिङ चार, मकवानपुर ७३, सिन्धुपाल्चोक तीन र सिन्धुली एक सङ्क्रमित पुष्टि भएको छ ।

त्यस्तै कास्की ३०, गोरखा १८, नवलपरासी पूर्व १६, लमजुङ १५, तनहुँ छ, पर्वत एक, कपिलवस्तु दुई, गुल्मी आठ, प्युठान एक नवलपरासी दुई, पाल्पा पाँच, बर्दिया ४१, बाँके ४२ र रूपन्देहीमा ४१ सङक्रमित फेला परेका छन् । कालिकोट दुई, जाजरकोट एक, जुम्ला एक, दैलेख तीन, सुर्खेत १९, कञ्चनपुर सात, कैलाली तीन, बझाङ तीन र बाजुरामा एक सङ्क्रमित फेला परेका छन् ।

देशका ११ जिल्लामा सङ्क्रमित पाँच सय बढी छन् भने पाँच जिल्लामा शून्य रहेको छ । पाँच सय बढी सङ्क्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, चितवन, ललितपुर, काठमाडौँ र रूपन्देही छन् । सङक्रमित शून्य जिल्लामा मुस्ताङ, ताप्लेजुङ, डोल्पा, मुगु र हुम्ला छन् । काठमाडौँ, वीरगञ्ज, धनगढी, बुटवललगायतका सहरमा सङ्क्रमण बढीरहेको छ ।

११ जनाको मृत्युपछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या तीन सय पुगेको छ । पछिल्लो विवरणअनुसार, मृत्यु हुनेमा चार महिला र सात पुरुष छन् । विश्वभरमा हालसम्म दुई करोड ७३ लाख छ हजार ४३८ जना सङ्क्रमित भएका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्