Techie IT
९ असार २०७८, बुधबार

चितुवाका चार बच्चा फेला


काठमाडौं,२२ भदौ ।
पहाडी जिल्ला लमजुङमा चितुवाका चार बच्चा एकै ठाउँमा भेटिएका छन् । आज साँझ जिल्लास्थित बेँसीशहर नगरपालिका –२ किरेपानी सामुदायिक वन नजीकै विष्णु थापाको पुरानो घरमा चितुवाका बच्चा फेला परेका हुन् ।

स्थानीयावसी कृष्ण केसीका अनुसार मान्छे कोही नबस्ने सो स्थानमा चितुवाको बच्चा भेटिएपछि डिभिजन वन कार्यालय लमजुङलाई खबर गरिएको थियो । खबरलगत्तै सबडिभिजन कार्यालयले बेँसीशहर सबडिभिजन वन कार्यालयलाई खबर गरेर उक्त स्थानमा प्रमुख नारायणप्रसाद कोइरालालगायतको टोली पठाएको डिभिजन कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठले बताउनुभयो । साना भर्खरै जन्मिएका बच्चाहरु रहेको उहाँले भन्नुभयो । यस क्षेत्र वरिपरि मानिसको बस्ती नरहेको र जङ्गल रहेकाले मानिसलाई त्यति खतरा नरहेको र बच्चाको माउ आएर बच्चा लैजाने भएकाले सोही स्थानमा केही नगरी उक्त टोली फर्किएको छ ।

चितुवाका बच्चा भालेले मारिदिने र पोथीले विभिन्न स्थानमा सार्दैसार्दै हुर्काउने भएकाले सो स्थानमा ल्याएको हुन सक्ने जनाइएको छ । टोली मङ्गलबार पनि त्यहाँ अनुगमन गर्न जाँदै छ । लमजुङमा अन्य जिल्लाका तुलनामा चितुवाले मानिसलाई आक्रमण गरेको घटना निकै कम रहेको डिभिजन वन कार्यालयले जनाएको छ । यही महिनाको पहिलो सातातिर बेँसीशहर नगरपालिका –९ साम्दीका एक बासिन्दालाई चितुवाले आक्रमण गरेको थियो । त्यस्तै गत वर्ष बेँसीशहर– २ नवरुवालमा समेत चितुवाले आक्रमण गरेको थियो । मानिसलाई कम आक्रमण गरे पनि पशुचौपायालाई भने बेला बेला आक्रमण गर्दै मार्ने गरेको उक्त कार्यालयका सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।रासस


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्