Techie IT
१२ असार २०७९, आईतबार

भिन्न कारणले मृत अवस्थामा फेला


काठमाडौं,भदौ २२

रुकुम(पूर्व)को सिस्ने गाउँपालिका-७ नाथीघाट बस्ने विजय परियारको ३ वर्षीय छोरा अंकित परियार नाथीघाट खोलामा डुबेर आइतबार मृत्यु भएको छ । उक्त खोलामा खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो ।

सुनसरीको भोक्राहा नरसिहं-४ बस्ने नसरुदिन अन्सारीकी १५ महिनाकी छोरी रबिना खातुनको पानी जमेको खाल्डोमा आइतबार डुबेर मृत्यु भएको छ । घर अगाडी खेतमा पानी जमेको खाल्डोमा डुबेर अशक्त भएकी उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै गरेर धनुषाको धनुषाधाम नगरपालिका-७ किसानपुर बस्ने ४० वर्षीय मोहिता सदाको चट्याङ लागेर आइतबार मृत्यु भएको छ । खेतमा काम गरी घर फर्कने क्रममा घर नजिकै चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका-३ बालुवा गाम्चा बस्ने २६ वर्षीय श्रीकृष्ण नगरकोटीको करेन्ट लागेर आइतबार मृत्यु भएको छ । आफ्नै घरमा बत्ती जोड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनलाई उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

झापाको हल्दिबारी गाउँपालिका-३ जलथल बस्ने ४७ वर्षीय खड्क कुमार राइको करेन्ट लागेर आइतबार मृत्यु भएको छ । सोही ठाउँस्थित जुसुडी खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको ओमसाई पाथिभरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

धनुषाको धनुषाधाम नगरपालिका-९ धारापानी बस्ने ३५ वर्षीय दिनेश मण्डल घर नजिकै रहेको बनमारा घारीमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्