Techie IT
३१ असोज २०७८, आईतबार

‘आर्य’ जातिको मूल खोज्न जब नाजीहरूले हिमालय क्षेत्रमा वैज्ञानिकहरू पठाए…


काठमाडौँ ।जर्मनीको नाजी पार्टीका एकजना प्रमुख सदस्य एवम् यहुदीहरूको आम नरसंहार (होलोकस्ट) भनिने घटनाका एकजना मुख्य योजनाकार हेनरिक हिम्लरले सन् १९३८ मा आर्य जातिको उत्पत्तिको खोजीका लागि पाँच जनाको समूहलाई तिब्बतमा पठाएका थिए।

भारतको बाटो हुँदै गएको उक्त टोलीबारे लेखक वैभव पुरन्दरेले वर्णन गरेका छन्।

दोस्रो विश्वयुद्ध सुरु हुनु एक वर्षभन्दा केहीअघि एउटा जर्मन समूह भारतको पूर्वी सीमामा गोप्य रूपमा उत्रियो।

उनीहरू “आर्य वंशको उत्पत्तिको स्रोत” पत्ता लगाउने अभियानमा थिए।

एडल्फ हिटलरले “आर्य” नोर्डिक मानिसहरू करिब १५ सय वर्षअघि उत्तरतर्फबाट भारत प्रवेश गरेको विश्वास गर्ने गर्दथे।

ती आर्यहरूले स्थानीय अनार्य जातिहरूसँग वंश मिसाएर अपराध गरेको हिटलर ठान्दथे।

अंग्रेजीमा आर्यन भनिने आर्य जाति विश्वभरिमै श्रेष्ठ रहेको हिटलरको बुझाइ थियो।

हेनरिक हिम्लर र हिटलर

हिटलर नियमित रूपमा आफ्ना मन्तव्यहरू, लेखहरू र बहसहरूमा भारतीय मानिसहरू र उनीहरूको स्वतन्त्रताको सङ्घर्षप्रति गहिरो घृणा व्यक्त गर्थे।

त्यति हुँदाहुँदै पनि हिटलरका एकजना उच्च सहायक र कुख्यात गुप्तचर निकाय, एसएस, का प्रमुख हिम्लरका अनुसार भारतीय उपमहाद्वीप नजिकबाट नियाल्नयोग्य थियो।

त्यसैले गर्दा तिब्बतको तस्बिर बाहिर आयो।

‘नोर्डिक श्वेत जातियताको श्रेष्ठता’मा विश्वास गर्ने मानिसहरूले एट्लान्टिस नामको एउटा विलुप्त राज्यको काल्पनिक कथामा पनि विश्वास गर्थे।

ती मानिसहरू त्यस राज्यमा कुनै बेला “शुद्धतम रगत “वाला मानिसहरूको बसोबास थियो भन्नेमा पनि विश्वास गर्थे ।

त्यस्तो स्थान एट्लान्टिक महासागरको इङ्ल्यान्ड र पोर्चुगलको बीचमा कतै थियो भन्ने उनीहरू ठान्दथे।

उक्त मिथकीय टापु एउटा दिव्य चट्याङ्गको प्रहारको चपेटामा परेर डुबेको उनीहरूको ठम्याइ थियो।

त्यसबाट बचेका सबै आर्यनहरू सुरक्षित स्थानमा गएको ठानिन्थ्यो।

त्यस्तो ठाउँ मध्येमा हिमालय क्षेत्र पनि एउटा थियो। विशेषगरी ‘विश्वको छानो’ भनेर चर्चित भएको तिब्बतलाई त्यस्तो क्षेत्र हुनु पर्ने भनेर विश्वास गरिएको थियो।

सन् १९३५ मा हिम्लरले एसएसभित्र एउटा युनिट बनाए जसको काम उक्त विनाशकारी चट्याङ्गमा परेर आफ्नो राज्य नष्ट भएपछि एट्लान्टिसका मानिसहरू कहाँ गए भन्ने पत्ता लगाउनु थियो।

सन् १९३८ मा उनले पाँच जर्मनहरूलाई त्यसको खोजी अभियानका लागि तिब्बत पठाए।

जर्मनलाई लिएर आएको जहाज कोलम्बोमा

उक्त टोलीका दुईजना सदस्य भने बाँकीभन्दा फरक थिए।

त्यसमध्येमा एकजना २८ वर्षीय प्रतिभाशाली प्राणीशास्त्री अर्न्स्ट सेफर थिए। उनी त्यसअघि नै दुई पटक भारत-चीन-तिब्बत सीमामा आइसकेका थिए।

सेफर सन् १९३३ मा नाजी विजयलगत्तै एसएसमा सामेल भएका थिए। त्यो भनेको तिब्बत अभियानका लागि हिम्लर उनको संरक्षक बन्नु निकै अघिको कुरा हो।

सेफर सिकार खेल्न र आफ्नो बर्लिनस्थित घरमा ट्रफीहरू थुपार्न शौखिन थिए।

एउटा सिकार खेल्ने क्रममा उनले डुङ्गाबाट पानीहाँसलाई गोली चलाउन लाग्दा चिप्लिएर आफ्नै पत्नीको टाउकामा गोली हानेका थिए। त्यस घटनामा उनी पत्नीको मृत्यु भयो।

अभियानको अर्को मुख्य व्यक्ति युवा मानवशास्त्री ब्रुनो बेगेर थिए। उनी सन् १९३५ मा एसएसमा सामेल भएका थिए।

उनले तिब्बतीहरूको खोपडी र अनुहारको नाप लिएर मुखुन्डो बनाउने काम लिएका थिए।

त्यसका आधारमा उनले नोर्डिक जातिको उत्पत्ति र विकासको खोजीका लागि सामग्री जम्मा पार्ने बताएका थिए।

सन् १९३८ को मे महिनाको सुरुमा पाँचजना जर्मनहरूलाई लिएर आएको समुद्री जहाज श्रीलङ्काको कोलम्बो आइपुग्यो।

त्यहाँबाट उनीहरूले अर्को जहाज लिएर भारतको मद्रास (चेन्नई) सम्म आए र तेस्रो जहाजबाट उनीहरू कोलकाता आए।

भारतमा रहेका ब्रिटिश अधिकारीहरू त्यसरी यात्रा गरिरहेका जर्मनबारे सजग थिए र उनीहरू ती जर्मनलाई जासुस ठान्थे।

सुरुमा उनीहरू ती जर्मनलाई भारतबाट जान दिन चाहन्थेनन्।

त्यसबेला ब्रिटिशद्वारा चलाइएको टाइम्स अफ इन्डिया अखबारले अझ आरोपित गर्ने खाले “भारतमा गेस्टापो एजेन्ट” भन्ने शीर्षक छापेको थियो।

गान्तोकमा रहेका ब्रिटिश राजनीतिक अधिकारी पनि सिक्किम हुँदै तिब्बत जाने मान्छेहरूलाई भेला हुन दिन चाहन्थेनन्।

त्यसबेला सिक्किम एउटा स्वतन्त्र पहाडी देश थियो।

तर अन्तत: नाजी समूहको सङ्कल्प पूरा भयो।

त्यस वर्षको अन्त्यतिर पाँच जर्मनहरू खच्चडहरू र आफ्ना सामानहरूसहित स्वस्तिक चिह्नयुक्त झण्डा लिएर तिब्बत प्रवेश गरे।

स्वस्तिक तिब्बतमा एउटा परिचित चिह्न थियो त्यसलाई त्यहाँ “युङ्ड्रुङ” भनिन्थ्यो।

सेफर र उनको समूहले उक्त चिन्हलाई भारतमा पनि व्यापक रूपमा देखे।

भारतमा विशेषगरी हिन्दूहरूले उक्त चिन्हलाई शुभ मान्ने गर्छन्।

अहिले पनि भारतमा उक्त चिह्न जताततै देखिन्छ।

तिब्बतमा त्यसबेला अवस्था परिवर्तन भइरहेको थियो।

सन् १९३३ मा १३औँ दलाई लामाको मृत्यु भएको थियो र नयाँ दलाई लामा तीन वर्षका मात्र थिए।

त्यसैले बौद्ध तिब्बती राज्यलाई राजप्रतिनिधिले चलाइरहेका थिए।

जर्मनहरूलाई सर्वसाधारण र राजप्रतिनिधिहरूले अस्वभाविक रूपमा धेरै राम्रो रूपमा ग्रहण गरे।

मुकुन्डो बनाउने बेगेरले त्यहाँ केही समयका लागि चिकित्सकको काम पनि गरे।

जर्मन

तर तिब्बतीहरूलाई नाजीहरूको विकृत कल्पनाबारे थाहा थिएन।

नाजीहरू हिन्दू धर्मले जस्तै बौद्ध धर्मले पनि तिब्बतमा आएका आर्यहरूलाई कमजोर बनाएको ठान्थे।

उनीहरू त्यसका कारणले आर्यहरूको आत्मा र शक्ति कमजोर भएकोमा विश्वास गर्थे।

सेफर र अन्य वैज्ञानिकहरूले उक्त अभियानका आडमा प्राणीशास्त्र र मानवशास्त्रजस्ता विषयमा वैज्ञानिक अनुसन्धान गर्न बढी समय बिताउनसक्ने जस्तो देखिएका बेला सन् १९३९ मा जर्मन अभियानलाई एक्कासी छोट्याउनु पर्‍यो।

त्यसको कारण सुरु हुनै लागेको युद्ध थियो।

बेगेरले त्यसबेलासम्म ३७६ जना तिब्बतीहरूको खोपडीको नाम लिएका थिए र २,००० तस्बिरहरू लिएक थिए।

१७ मानिसहरूको शिर, हात, अनुहार र कानको नमुना बनाएका थिए र अन्य ३५० जनाको औँठाछाप र पञ्जाछाप सङ्कलन गरेका थिए।

उनले २,००० वटा मानवशास्त्रीय अध्ययनको निम्ति भनेर नमुना सङ्कलन गरेका थिए भने अन्य सदस्यहरूले १८ हजार मिटरको श्यामश्वेत फिल्म र ४० हजार तस्बिरहरू लिएका थिए।

उनीहरूको यात्रा छोट्याइएपछि हिम्लरले कोलकाताबाट उनीहरूलाई स्वदेश उड्ने व्यवस्था मिलाएका थिए भनेर म्युनिखमा विमान अवतरण हुँदा आफैँ उपस्थित भएर उनीहरूको स्वागत गरेका थिए।

सेफरले आफ्ना अधिकांश तिब्बती “खजाना” साल्जबर्गको एउटा महलमा लगेर राखेका थिए। युद्धका बेला उनी त्यहाँ सरेका थिए।

तर सन् १९४५ मा ‘मित्र देशहरू’को सेनाले त्यहाँ छापा मार्‍यो र युद्धका क्रममा धेरै कुराहरू नष्ट भए। त्यसले गर्दा अर्को कथित “वैज्ञानिक खोजको नतिजा”को परिणाम पनि युद्धकै जस्तो भयो।

वैभव पुरन्दरे ‘हिटलर एन्ड इन्डिया: द अनटोल्ड स्टोरी अफ हिज् हेट्रेड फर द कन्ट्री एन्ड इट्स पिपल’ पुस्तकका लेखक हुन्।(बीबीसी)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्