Techie IT
५ असार २०७८, शनिबार

बजार खोल्ने वातावरण बनाइदिन व्यवसायीको माग


जनकपुरधाम, भदौ २२
जनकपुरधामका उद्योगी व्यापारीहरुले स्वास्थ्य मापदण्ड अपनाएर बजार खोल्न दिने वातावरण निर्माण गरिदिन प्रदेश २ सरकार र स्थानीय प्रशासनलाई आग्रह गरेका छन् । कोरोना महामारीबाट जारी गरिएको लकडाउन र निषेधाज्ञाका कारण उद्योग व्यवसाय धराशायी हुँदै गएको भन्दै जनकपुरधाम उधोग वाणिज्य संघले बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म व्यापार व्यावसाय सञ्चालनको वातावरण बनाइदिन आग्रह गरेको हो । संघका अध्यक्ष ललित कुमार साहको नेतृत्वको पदाधिकारीहरुसहित व्यापारीहरुको टोलीले आइतबार मुख्यमन्त्री लालबाबु राउत र प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् । साथै औषधि, डेरी, कृषि सामग्री, मल, बीउबीजन, भेटेरिनरी पसल, खाद्यान्न पसल किराना तथा बैंक, वित्तीय संस्थाहरु नियमित सञ्चालन गर्न पाउनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

हरियो तरकारी तथा फलफूल, घुम्ती पसल साइकल, ठेला, मोटरसाइकल, टेम्पुमा राखी टोल–टोलमा घुमाएर साँझ ५ बजेपछि मात्र बेचबिखन गर्ने व्यवस्था मिलाउनुपर्ने संघका अध्यक्ष ललित साहले बताए । यस्तै कोरोना परीक्षणको दायरा बढाउन, दुईवटा थप पीसीआर मेसिन तुरुन्त सञ्चालन गर्न र कोभिड अस्पताल सञ्चालन गर्न पनि संघले माग गरेको छ । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री लालबाबु राउत र प्रमुख जिल्ला अधिकारी भट्टराईले व्यापारीहरुको पीडा आफूहरु बुझिरहेको बताउँदै संघले राखेको मागप्रति गम्भीर भई कार्यान्वयन गर्ने र बजार खोल्ने समय बढाउने प्रतिबद्धता जाहेर गरेको संघका महासचिव जितेन्द्र महासेठले जानकारी दिए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्