Techie IT
१२ असार २०७९, आईतबार

मल प्रकरणमा कालोसूचीमा पर्लान् प्रचण्डका घरधनी ?

मल नल्याउने शैलुङ र होनिको मल्टिपलको बैंक धरौटी जफत


काठमाडौं,२२ भदौ ।
निर्माण क्षेत्रका विभिन्न ठेक्कापट्टामा प्रशस्त कुख्याति कमाएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरधनी शारदा प्रसाद अधिकारी नेतृत्वको शैलुङ इन्टरप्राइजेज प्रालि र लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष हुमनाथ कोइरालाको होनिको मल्टिपल प्रालिले सम्झौताअनुसार रासायनिक मल खरिद गरेर नेपाल ल्याउन नसकेको कारण कृषि सामग्री कम्पनी लिमिटेडले ती दुई कम्पनीले राखेको कार्यसम्पादन जमानत जफत गरी सम्झौता रद्द गरेको छ ।

शैलुङले करिब चार लाख चार सय अमेरिकी डलर र होनिकोले तीन लाख ७७ हजार अमेरिकी डलर रकम धरौटी राखेका थिए । लिमिटेडले शैलुङको करिब चार करोड ८८ लाख रुपैयाँ र होनिकोको करिब चार कोरड ५६ लाख रुपैयाँ (सो समयको विनियमदर अनुरुप) जफत गरिएको बताएको छ ।

सम्झौता रद्द गरेको कृषि सामग्री कम्पनीले ती दुई सप्लायर्स कम्पनीसँग प्रचलित कानुन एवं सार्वजनिक खरिद ऐन तथा नियमावलीबमोजिम क्षतिपूर्ति दाबी गर्ने जनाएको छ । साथै ती दुवै सप्लायर्स कम्पनीलाई कालोसूचीमा राख्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको जानकारी कृषि सामग्री कम्पनीले कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाललाई गराएको छ । तर, ती कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूची राख्नेबारे आशंका गरिएको छ । कालोसूचीमा राख्नका लागि ढिला गरेमा ती दुई सप्लायर्सले अदालतमा सेटिङ्ग मिलाएर रोक्ने देखिन्छ । किनकि नेपालमा मल ल्याउने अन्तिम मितिको अघिल्लो दिन शुक्रबार ती दुवै कम्पनीले म्याद थप गरिपाऊँ भनी कृषि सामग्री कम्पनीमा निवेदन दिएका थिए ।

निवेदन दिए पनि तोकिएका कुनै पनि मितिमा एक लट पनि मल नल्याएको र मल ल्याउँदै छ भन्ने प्रमाण पनि पेश गर्न नसकेको कारण उनीहरुले जति सेटिङ मिलाए पनि कालोसूचीमा पर्ने मन्त्रालयका एक अधिकारीले जानकारी दिए । कृषि सामग्रीले २५ हजार मेट्रिक टन युरिया मल खरिदका लागि प्रचण्डका घरधनी अधिकारीको ललितपुरमा दर्ता भएको शैलुङ इन्टरप्राइजेज प्रालिसँग २४ अप्रिल २०२० र अर्को २५ हजार मेट्रिक टन मल खरिदका लागि काठमाडौंमा दर्ता भएको कोइरालाको होनिको मल्टिपल प्रालिसँग २७ अप्रिल २०२० मा सम्झौता गरेको थियो । शैलुङले नेपाल इन्भेष्टमेन्ट बैंकमा १२ मे २०२० मा र सोही मितिमा होनिकोले सिद्धार्थ बैंक लिमिटेडमा प्रतीतपत्र खोलेको थियो ।

ती दुवै कम्पनीले प्रतीतपत्र खोलेको मितिले पहिलो खेप (सिपमेन्ट) मल ४२ दिनमा र दोस्रो खेप मल ७२ दिनभित्र गरी सम्पूर्ण मल २३ जुलाई २०२० अर्थात् २०७७ साउन ७ गतेभित्र ल्याउने प्रतिबद्धता जनाएका थिए । मल ल्याउन नसकेपछि ती दुई कम्पनीले अनुरोध गरेपछि कृषि सामग्री कम्पनीले २५ दिनको समय थप गरिदिएको थियो । तर, थप २५ दिनमा पनि ती कम्पनीले ल्याउन सकेनन् । त्यसपछि दोस्रो खेपको मल पनि उनीहरुले भदौ २० गतेसम्म ल्याउनुपर्नेमा त्यो पनि ल्याउन नसकेपछि भदौ २१ गते आइतबार कृषि सामग्री कम्पनीले कारबाही गरेको हो ।

यति छिटो कारबाही होला भन्ने अधिकारी र कोइरालाले सोचेका पनि थिएनन् । अधिकारी प्रचण्डको घरधनी मात्र नभई भूमिगत समयदेखि नै माओवादीसँग नजिक भएर चन्दा उठाउने र माओवादीलाई पु¥याउने गरेका कारण उनले जति अपराध गरे पनि माओवादीको आडमा क्षमा पाउँदै आएका थिए । अहिले अधिकारीले प्रचण्डसँगको राजनीतिक पहुँचमा नेपाली किसानमाथि अक्षम्य अपराध गरेका छन्, रासायनिक मल नेपालमा ल्याउन रोकेर खाद्यान्न र अन्य कृषि उपजका लागि भारतमाथि थप निर्भरता बढाउने काम । ठगी र अपराध कार्यलाई मूलमन्त्र बनाएका अधिकारीले आफ्नो राजनीतिक भविश्य नै धरापमा पारेपछि मन्त्री भुसालको विशेष निर्देशनमा कृषि सामग्री कम्पनीले कारबाही अगाडि बढाएको हो । प्रचण्डको घर भनी भएको कारण मन्त्री भुसालले अहिले कारबाही नगर्ने आशंका गरिँदै आएको थियो ।

शैलुङ र होनिको कम्पनीले मल नल्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका प्रधानमन्त्री सेख हसिना बाजेदसँग ५० हजार टन युरिया मल सापटी मागेका छन् । प्रधानमन्त्रीले विदेशीसँग मल सापट माग्ने अवस्था आएपछि प्रचण्डका घरधनीमाथि केही न केही कारबाही हुने अनुमान भने गरिएको थियो । ‘प्रधानमन्त्रीले विदेशीसँग मल सापट माग्नुपर्ने अवस्था आएपछि घरधनी त के प्रचण्ड नै भए पनि कारबाही हुने अवस्था थियो’, कृषि मन्त्रालयका एक अधिकारीले भने, ‘अहिलेको कारबाहीबाट शैलुङका अधिकारी उम्किन पाउनेछैनन् ।’

उनीहरुले पहुँच मिलेमतोमा ठेक्का हात पारे पनि घाटा पर्ने देखिएपछि मल खरिद नगरेका हुन् । सार्वजनिक खरिद ऐनअनुसार कृषि सामग्री कम्पनीले सस्तो कबोल गरेका कारण ती दुई कम्पनीलाई मल ल्याउने अनुमति दिएर सम्झौता गरेको थियो । पहुँचका आधारमा झुक्याउन सकिने अधिकारीले योजना बनाए पनि त्यसमा उनी सफल हुन सकेनन् । प्रचण्डका घरधनीले सेटिङ्गमा ठेक्का लिएको जानकारी पाएर पनि मन्त्री भुसालले बेवास्ता गर्दा अहिले यो अवस्था आएको हो । अझै किसानले हिउँदे खेतीको लागि मल पाउने निश्चित छैन । बंगलादेशले मल पैँचो दिएन भने अवस्था थप जटिल बन्नेछ ।

ती दुई कम्पनी मल ल्याउने योग्यता र क्षमताका नभए पनि सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ विपरीत गएर पहुँचको आधारमा जिम्मेवारी दिइएको थियो । यसमा कृषि सामग्री कम्पनीका अधिकारीहरुको कमजोरी रहेको बताइएको छ । ऐन र नियमावलीअनुसार वस्तु आपूर्तिकर्ता ठेकेदार कम्पनीको सम्बन्धित क्षेत्रको दक्षता, क्षमता र योग्यता हेरिनुपर्ने थियो ।

तर, सेटिङमा त्यसलाई पूर्णतः बेवास्ता गरिएको थियो । बोलपत्र माग्दा सार्वजनिक निकायले प्रस्तावकको योग्यताको आधार निर्धारण गर्नुपर्ने हुन्छ । ती दुई सप्लायर्सको प्राविधिक क्षमता, आर्थिक र वित्तीय क्षमता हेरिनुपर्नेमा त्यसमा मन्त्रालयलेसमेत आँखा चिम्लिएको देखिन्छ । त्यही कारण उक्त टेण्डर प्रक्रियादेखि नै सेटिङ र मिलेमतो देखिन्छ भने मन्त्री भुसाल राजनीतिक कारणले मौन बसेको देखिन्छ ।

स्रोतका अनुसार ती दुवै कम्पनीले मल उत्पादकसँग नभई बीचको ठेकेदारसँग मल किन्ने तयारी पनि गरेका थिए । त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि परेको छ । पहिला चिनियाँ कम्पनीसँग मल खरिद गर्ने बताए पनि पछि ती कम्पनीले मध्यपूर्वका देशबाट मल ल्याउनलागेको भनेर कृषि सामग्री कम्पनी र मन्त्रालयका अधिकारीहरुलाई झूट बोलेका थिए ।

मल ल्याउने विषयमा मात्र होइन विगतदेखि नै जनताको सरोकारका विकास निर्माणमा प्रचण्डका घरधनी अधिकारीले ठूलाठूला अपराध गरेका छन् । ठेकेदारसँग पैसा उठाएर माओवादीलाई बुझाउने जिम्मेवारी निर्वाह गरेका अधिकारीले पछि निर्माण कम्पनी नै खोलेर आफैं ठेकेदार बनेका हुन् ।

उनले काठमाडौंका सडक मात्र होइन आफ्नो घर नुवाकोटको विदुरबाट चोकदे जाने सडक ठेक्कामा लिएर पनि काम नगरी अपराध गरेका थिए । त्यही भएर उनी नुवाकोटमा पनि ठग र अपराधी ठेकेदारका रुपमा परिचित छन् । उनले बालालु–त्रिशूली सडक खण्डको बालाजु रानीपौवा खण्डको ठेक्का लिएर पनि अलपत्र पारेका छन् । पैसाको लागि उनले आफ्नै गाउँठाउँमा पनि बाटो भत्काएर अपराध गरेका छन् । अधिकारी नुवाकोटको सूर्यगढी गाउँपालिका–३ का स्थायी बासिन्दा हुन् ।

उनले प्रचण्डका छोरा प्रकाश र उनकी तेस्री श्रीमती बिनाको लागि ललितपुरको सुनाकोठीमा सिभिल होम्सको कोलनीमा आठ आनामा बनेको भिन्ने घर पनि किनिदिएका छन् । उक्त घर बिनाको रेखदेखमा रहेको स्रोतको दाबी छ । उनले प्रचण्डका छोरा प्रकाशलाई घर किनिदिएको कारण झण्डै समानुपातिकबाट चुनाव उठिसकेका थिए । पछि रोकिएको थियो । उनी सामान्य परिवारका सदस्य हुन् ।

सानो उमेरमै बाबु गुमाएका अधिकारी गाउँमै एसएलसीसम्म पढेर धन कमाउनका लागि २०४४ सालतिर काठमाडौं झरेका हुन् । उनी कुनै बेला कम्प्युटर इन्स्टिच्युटका कामदार थिए । पछि उनले त्यसकै व्यापार गर्न थाले । त्यसपछि कम्प्युटर र त्यसका पार्टस खरिदबिक्री गर्न थालेका थिए । माओवादी समर्थक भएको कारण जनयुद्धकालमा उनले माओवादीलाई राम्रै्र सहयोग गरे । चन्दा उठाएर माओवादीलाई दिने नाममा उनले आफूसँग पनि केही रकम राखे । त्यसकै आधारमा पहिला उनले काठमाडौंमा घर, जग्गा खरिद गरेको स्रोतको दाबी छ ।

सिन्धुली जिल्लामा ससुराली भएको कारण माओवादीका त्यस क्षेत्रका नेताहरुसँग उनको राम्रो सम्बन्ध थियो । जनयुद्धमा आवश्यक सामान पनि उनी मोटो कमिसनमा माओवादीलाई सप्लाई गर्दथे । उनका ससुरा कमल प्रसाद देवकोटा सोलुमा मारिएका थिए । त्यही भएर उनले आफूलाई सहिद परिवारको सदस्य भएको दाबी गर्ने गरेका छन् । भीडन्तमा उनको साली पनि सोलुमै मारिएको बताइएको छ ।

माओवादीले २०५८ सालमा काठमाडौंको अनामनगरमा खोलेको वार्ताकालको सम्पर्क कार्यालयमा पनि उनी सक्रिय थिए । त्यहाँको कार्यालयको सचिव नुवाकोटकै पूर्वजिविस सभापति भरत प्रसाद ढुंगाना थिए । ढुंगाना र उनको राम्रो चिनजान थियो । ढुंगाना २०४८ सालतिर तत्कालीन नेकपा एमाले नुवाकोटको जिल्लास्तरीय नेता भइसकेका थिए । उनीहरुको चिनजान पहिला नै थियो ।

ढुंगानालाई सेनाले २०६१ सालमा धादिङ्गको गुम्दीमा हत्या गरेको थियो । पछि माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि पोष्ट बहादुर बोगटी पनि काठमाडौं आएपछि उनको बोगटीसँग राम्रो सम्बन्ध बन्यो । नुवाकोटको चोकदे, तुप्चे, खोलेगाउँ, सिक्रे, थानसिंह, थानापतिको केही भाग पहिलादेखि नै जनमोर्चाको प्रभाव थियो । उनी चोकदेका भएका कारण पहिलादेखि नै पूर्वजनमोर्चाका थिए ।

स्रोतका अनुसार अधिकारीले माओवादीको आडमा बीपी राजमार्गको केही काम पनि लिएर गरेका थिए । उनले इमाल र झापामा सानासाना खानेपानीको धारा र ट्यांकी निर्माणको पनि काम गरेका थिए । २०६० सालतिर एउटा निर्माण कम्पनी किनेर पछि उनले नाम परिवर्तन गरेको बताइएको छ । तर, काम भने माओवादीकै दबाबमा लिने गरेका थिए । त्योबापत उनले माओवादीलाई पैसा र अन्य भौतिक सहयोग उपलब्ध गराउने गरेका थिए ।

उनले विद्युत्को प्रसारणलाइनको पनि सानातिना काम गर्ने गरेका थिए । ती काम पनि उनले सेटिङ्गमै लिएर गर्ने गरेका थिए । उनले प्राधिकरणको काम गुल्मीतिर लिएर गर्ने गरेका थिए । सडकको काम सार्क सम्मेलनको बेला गरे पनि उनले कुनै पनि काम गुणस्तरीय गरेनन् । मिलेमतोमा काम लिने र मिलेमतोमै बिल पास गराउने काम गरे । उनी इज्जत भएका ठेकेदारको रुपमा चिनिँदैनन् । किनकि उनको उद्देश्य पैसा असुल गर्ने प्रचण्डको सेवा गर्ने मात्र रहँदै आएको छ । त्यही भएर उनले कतै पनि गुणस्तरीय काम गर्दैनन् ।

उनले काठमाडौंको त्रिपुरेश्वरदेखि थानकोट–नागढुंगा सडकको काम समयम नगरेर देशकै बदनाम हुँदा पनि त्यति बेला प्रचण्डकै आशीर्वादको कारण उनीमाथि सडक विभागले कारबाही गर्न सकेन । उनले त्यही कारबाही छल्दै आएको कारण प्रशस्त पैसा कमाएका छन् । उनले अहिले मल खरिद प्रकरणमा पनि प्रचण्डको कारण कारबाही नहुने आशा गरेका थिए । मलको कारण सरकारकै बदनाम भएर प्रधानमन्त्री ओली नै मल ल्याउनका लागि तात्नुपर्ने अवस्था आएपछि मन्त्री चुप लागे पनि कारबाही हुने निश्चित थियो ।

त्यही भएर कृषि मन्त्रालयले उनीमाथिको कारबाही अगाडि बढाएको छ । उनले नगरकोट जाने सडक मात्र होइन देशका एक दर्जन सडकका ठूला ठेक्का लिएर अलपत्र पारेका छन् । प्रचण्डकै कारण उनले लिएको बालाजु–रानीपौवाको ठेक्का रद्द हुनसकेको छैन । रानीपौवामा कृषिसम्बन्धी मेला आयोजना गरेर प्रचण्डलाई शारदाले अलपत्र पारेका सडकबाट लगिएको थियो ।

त्यतिबेला नुवाकोट–१ का सांसद हितबहादुर तामाङले मञ्चमै प्रचण्डको कारण शारदाले काम नगरे पनि कारबाही नभएको भनेर विरोध गरेका थिए । प्रचण्डले हितबहादुरलाई अलि धेरै नै मलाई गाली गरेको भनेर असन्तुष्टि पोखेका थिए । सडकका अर्बौँका ठेक्का उनले अलपत्र पारेका छन् तर कारबाही भएको छैन । मल प्रकरणमा उनी कारबाहीमा परेमा अन्य क्षेत्रले पनि हिम्मत गर्ने देखिन्छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्