Techie IT
७ असोज २०७८, बिहीबार

पर्यटक आवागममा ८० प्रतिशतले गिरावट

६१ प्रतिशत उद्योग-व्यवसाय पूर्णरुपमा बन्द


काठमाडौं । कोभिड–१९ का कारण पर्यटन आवागमन र भ्रमण आयमा व्यापक संकुचन आएको देखिएको छ । विश्व पर्यटन संघका अनुसार सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ पर्यटक नेपाल भित्रिएकोमा सन् २०२० मा यस्तो संख्यामा ८० दशमलव आठ प्रतिशतले संकुचन आई दुई लाख ३० हजार ८५ रहेको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको कोभिड १९ को पहिलो लहरले गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा पारेको प्रभावसम्बन्धी अध्ययन प्रतिवेदनअनुसार कोभिड–१९ को दोस्रो लहरका कारण अधिकांश ठाउँहरुमा निषेधाज्ञा लागू भएकोले पर्यटन क्षेत्रको अनुमानित वृद्धिदर हासिल हुन कठिन हुने देखिएको छ । गण्डकी प्रदेशको प्रमुख संवाहकको रुपमा पर्यटन क्षेत्र रहेको छ । नेपाल आउने पर्यटकमध्ये करिब ४० प्रतिशत पर्यटक गण्डकी प्रदेशमा आउने तथ्य गण्डकी प्रदेशको प्रदेश नीति तथा योजना आयोगको प्रतिवेदनमा उल्लेख छ । उक्त प्रतिवेदनअनुसार यस प्रदेशमा वार्षिक रुपमा आन्तरिक तथा बाह्य गरी करिब १० लाख पर्यटक भित्रिने गरेका छन् भने पर्यटकको औसत बसाइ अवधि पाँच दिन रहेको छ ।

विदेशी पर्यटकले प्रतिदिन ५४ अमेरिकी डलर र आन्तरिक पर्यटकले प्रतिदिन पाँच हजार रुपैयाँ खर्च गर्ने गरेको पाइएको छ । गण्डकी प्रदेशमा पर्यटन क्षेत्रले प्रत्यक्ष, अप्रत्यक्ष गरी कुल रोजगारीको करिब १५ प्रतिशत र प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा करिब १० प्रतिशत योगदान पु-याएको देखिन्छ । मुलुकको पर्यटन क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशपछि गण्डकी प्रदेशको योगदान उच्च रहेको छ । आ.व. २०७७/०७८ मा पर्यटन क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा यस प्रदेशको हिस्सा १७ दशमलव पाँच प्रतिशत रहने अनुमान गरिएको प्रतिवेदनमा उल्लेख छ ।

कोभिड—१९ बाट प्रभावित कृषि उद्यम, उत्पादनमूलक उद्योग तथा पर्यटन लगायतका सेवामूलक व्यवसायलाई जोगाउन, टिकाउन र सुचारु गर्न उद्यमी तथा व्यवसायीलाई निब्र्याजी कर्जा उपलब्ध गराउने प्रयोजनका लागि गण्डकी प्रदेश सरकारले ‘व्यवसाय जीवन रक्षा कर्जा कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ । अधिकतम तीन वर्ष अवधिका लागि ५० हजारदेखि १५ लाखसम्म प्रवाह हुने यस्तो कर्जाका लागि वाणिज्य बैंकहरुका चार सयभन्दा बढी शाखाहरुबाट छ हजार सात सय ८० आवेदन परी सात अर्ब ६७ करोड रुपैयाँ कर्जा माग भएकोमा नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयले २०७८ चैत मसान्तसम्म चार अर्ब ५१ अर्ब कर्जा प्रवाह गर्नका लागि एकमुष्ट सहमति प्रदान गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार २०२० को सुरुवातसँगै विश्वभर फैलिएको कोभिड–१९ को महामारीले नेपालमा समेत अनपेक्षित मानवीय एवम् आर्थिक क्षति पु-याएको छ । उक्त महामारीबाट जनधनको क्षति न्यूनीकरण गर्न नेपाल सरकारले २०७६ चैत ११ देखि २०७७ साउन ६ गतेसम्म देशभर बन्दाबन्दी जारी ग-यो । उक्त अवधिभर आधारभूत क्रियाकलापबाहेकका सबै आर्थिक क्रियाकलापहरु ठप्प भए । तत्पश्चात् २०७७ मंसिर मसान्तसम्म स्थानीय सरकारले गरेको पूर्ण तथा आंशिक बन्दाबन्दीका कारण आर्थिक क्रियाकलापहरु आंशिकरुपमा मात्रै सञ्चालन भए ।

नेपाल राष्ट्र बैंक, आर्थिक अनुसन्धान विभागले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी २०७७ असारमा सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनअनुसार बन्दाबन्दी अवधिमा मुलुकभर ६१ प्रतिशत उद्योग, व्यवसायहरु पूर्ण रुपमा बन्द रहेको पाइएको छ । उक्त प्रतिवेदनमा ३९ प्रतिशत उद्योग, व्यवसाय पूर्ण वा आंशिक रुपमा सञ्चालनमा रहेका, उद्योग, व्यवसायहरुले झण्डै एक चौथाइ कामदार, कर्मचारी कटौती गरेका, कामदार, कर्मचारीहरुको औसतमा १८ दशमलव दुई प्रतिशतले तलब कटौती भएको तथा उक्त अवधिमा ९६ दशमलव सात प्रतिशत उद्योग, व्यवसायहरुको उत्पादन, कारोबार ७३ दशमलव आठ प्रतिशतले घटेको पाइएको छ । अधिकांश उद्योग, व्यवसायहरु पूर्णरुपमा बन्द रहनुले बन्दाबन्दीले अर्थतन्त्रमा गहिरो असर पारेको देखिन्छ ।

कोभिड १९ को महामारीको कारण आव २०७६/०७७मा नेपाली अर्थतन्त्र दुई दशमलव एक प्रतिशतले संकुचन हुने प्रतिवेदनमा उल्लेख छ । कोभिडले खासगरी, खानी तथा उत्खनन, उत्पादनमूलक उद्योग, होटल तथा रेष्टुरेण्ट र यातायात, भण्डारण तथा सञ्चार क्षेत्रको वृद्धिदर नकारात्मक रहन गएको प्रतिवेदनमा उल्लेख छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्