Techie IT
२१ असोज २०७९, शुक्रबार

दोलखाका ३२ संक्रमितमध्ये २३ जना संक्रमणमुक्त


दोलखा, भदौ २१
दोलखामा एक महिनाको अवधिमा २३ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । पछिल्लो एक सातामा मात्र १२ जनाले कोरोना जितेर घर फर्केका हुन् । दोलखामा बिहीबार चरीकोट अस्पतालको आइसोलेसनमा रहेका सात जना कोरोनाका बिरामीले कोरोना जितेर घर फर्किएका थिए भने शनिबार पनि सोही अस्पतालबाट गौरीशंकर र बिगु गाउँपालिकाभित्रका पाँच जना कोरोना संक्रमित निको भएर घर फर्केका हुन् ।

जिल्लाको चार स्थानीय तहबाट स्वाब संकलन गरिएका २३ जनाको दोस्रो पटक गरिएको पीसीआर परीक्षणमा पनि रिपोर्ट नेगेटिभ आएकाले उनीहरु घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिए । कोरोना संक्रमणमुक्त भएकाहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र चरीकोटका स्वास्थ्यकर्मीको टोलीले विदाइ गरेका थिए । प्रस्तावित चरीकोट अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद दंगालले उनीहरुलाई कोरोना संक्रमणमुक्त भएको प्रमाणपत्र प्रदान गरेका थिए ।

जम्मा ३२ जना संक्रमित रहेको दोलखा जिल्लामा अहिले नौवटा मात्र सक्रिय केस रहेको र उनीहरुको पनि अवस्था सामान्य रहेको जानकारी दिए । जिल्लामा हालसम्म एक हजार चार सय जनाको पीसीआर परीक्षण गरिएको छ । जिल्लाको गौरीशंकर गाउँपालिकामा सबैभन्दा बढी कोरोना संक्रमण देखिएको छ ।

गौरीशंकर गाउँपालिकाको सुरी र जुँगुमा १७ जनामा कोरोना संक्रमण देखिएको हो । गौरीशंकर गाउँपालिकामा शुक्रबार थप एक व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । दोलखाबाट स्वाब संकलन गरिएकामध्ये शनिबारसम्ममा १२ महिला र २० पुरूष गरी ३२ जनामा कोरोना संक्रमण देखिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्