Techie IT
बिहीबार, असोज ८,२०७७

सवारीसाधनमा जोरविजोर प्रणाली प्रत्येक जिल्ला बन्द गर्ने अधिकार

बेलुका ९ बजेदेखि बिहान हिड्डुल बन्द


काठमाडौं,साउन २२

कोरोना भाइरस कोभिड–१९ बाट अतिप्रभावित काठमाडौं उपत्यकासहित केही जिल्लामा आज बिहीबारदेखि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा नियन्त्रण गरिएको छ । काठमाडौं उपत्यकासहित दुई सय जनाभन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा सार्वजनिक तथा निजी सवारी सञ्चालन गर्दा जोरविजोर नम्बरअनुसार सञ्चालन गर्नुपर्ने छ । जोर दिन जोर नम्बरका र विजोर दिन विजोर नम्बरका गाडी मात्र सञ्चालन गर्न पाइनेछ ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता चक्र बहादुर बुढाले बुधबार साँझ विज्ञप्ति जारी गर्दै दुई सय जनाभन्दा बढी कोरोना संक्रमित त्यस्ता जिल्लाहरुमा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन पनि बन्द गरिएको छ । जोरविजोर प्रणाली र आवागमन बन्दको निर्णय भने अन्यावश्यक सेवाबाहेककामा मात्र लागू हुनेछ । अहिले सहरी क्षेत्रमा गाडीको लामो जाम हुने गरेको छ ।

जोरविजोर प्रणाली लागू भएपछि गाडीको जाम कम भई भीडभाड पनि कम हुने अपेक्षा सरकारको छ ।गृह मन्त्रालयका अनुसार कोभिड–१९ को संक्रमणको जोखिमको विश्लेषण गरी जोखिम बढेको क्षेत्र र स्थानलाई जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले निर्णय गरी तुरुन्त बन्द गर्ने र कोभिड–१९ को थप परीक्षणको व्यवस्था मिलाउनुपर्नेछ ।

यस्तै, सरकारले आगमन अनुमति पाएका व्यक्तिबाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवतजावतलाई कडाइका साथ निषेध गर्ने जनाएको छ । सरकारले यही साउन ३२ गतेसम्मका लागि अन्तर्राष्ट्रिय नाका बन्द गरे पनि भारतीयहरु लुकीछिपी नेपाल प्रवेश गरिरहेका छन् । रातिको समयमा नेपाल प्रवेश गर्ने क्रम बढेको कारण गृह मन्त्रालयले बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्मका लागि मानिसका हिँड्डुल नै बन्द गरेको हो ।

यस्तै, होटल रेष्टुरेण्ट हुने सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेलाजस्ता कार्य पनि निषेध गरिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका अनुसार मास्क नलगाउने वा जनस्वास्थ्य मापदण्डको उल्लङ्घन गर्ने व्यक्तिलाई दण्ड जरिवाना गरिनेछ ।

जनस्वास्थ्य मापदण्ड तथा सुरक्षा मापदण्ड उल्लंघन गर्ने व्यक्ति, समूह तथा संस्था भए सो को सञ्चालकसमेतलाई कारबाही गरिने गृह मन्त्रालयले जनाएको छ । देशभरमा बुधबार ३ सय ८१ जनालाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशरभरका छ हजार ३ सय ५९ जनाको पीसीआर परीक्षण गर्दा यी सङ्क्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हाल सक्रिय सङ्क्रमित छ हजार १ सय ७४ रहेको बताए । देशरभमा क्वारेन्टाइनमा रहेकाको सङ्ख्या नौ हजार ९ सय २५ रहेको छ । त्यस्तै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या पछिल्लो २४ घण्टामा १ सय ३० जना रहेको छ । बुधबारसम्म १५ हजार १ सय ५६ जना सङ्क्रमणमुक्त भइसकेका छन् । जम्मा सङ्क्रमितमा ७० दशमललव ८ प्रतिशत निको भएका छन् ।

देशको कुल जनसङ्ख्यामा १ दशमलव ४ प्रतिशतको पीसीआर परीक्षण भएको छ भने परीक्षण भएकामा ५ दशमलव १ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । देशभरमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा पर्सा, रौतहट, महोत्तरी र कैलाली रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौँ जिल्लामा ५७ जना र ललितपुर जिल्लामा पाँच जना सङ्क्रमित थपिएका छन् । काठमाडौँ उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो । नयाँ सङ्क्रमित देखिएका जिल्लामा सुनसरी, इलाम, सप्तरी, उदयपुर, मोरङ, सर्लाही, धनुषा, महोतरी, रौतहट र सिरहा रहेको छ । त्यस्तै, बारा, पर्सा, गोरखा, कपिलवस्तु, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, बाग्लुङ, कास्की, स्याङ्जा, बाँके, दाङ, सुर्खेत, कालिकोट र बझाङमा पनि पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमित फेला परेका छन् ।

त्यस्तै हाल सक्रिय सङ्क्रमित नभएका जिल्लामा खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ र रुकुम–पश्चिम गरी सात जिल्ला छन् । मन्त्रालयले दिएको जानकारीअनुसार कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या ६० पुगेको छ । पर्साका १९ वर्षीय युवती र पर्साकै ४६ वर्षीय पुरुषको मृत्यु भएसँगै यो सङ्ख्या ६० पुगेको हो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्