Techie IT
१४ असोज २०७९, शुक्रबार

अर्थमन्त्रीको बारे अन्योलमा प्रधानमन्त्री


काठमाडौं, भदौ २१
गैरसांसदको रुपमा अर्थमन्त्री पद पाएको छ महिना पुग्नु एक दिनअगाडि शुक्रबार डा. युवराज खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिए । संविधानतः उनी शनिबार राति १२ बजे अगाडिसम्म अर्थमन्त्री कायम थिए । तर, शुक्रबार नै राजीनामा दिए । उनको राजीनामा राष्ट्रपतिबाट शुक्रबार नै स्वीकृत भयो र अर्थ मन्त्रालयको जिम्मेवारी राष्ट्रपतिबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै सुम्पिने काम भयो ।

अन्तिम समयसम्म पनि प्रधानमन्त्री ओली खतिवडालाई राष्ट्रियसभा सदस्य बनाएर अर्थमन्त्रीमा निरन्तरता दिने पक्षमा थिए । तर, बिहीबार बिहानको प्रयास पनि सफल नभएपछि उनले दिउँसो सचिवालय बैठकमा सरकारले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभाको रिक्त पदमा सिफारिस गर्ने सुनाए । त्यसलाई सबैले स्वीकार गरे । शुक्रबारको मन्त्रिपरिषद् बैठकले गौतमको नाम सिफारिस हुने अपेक्षा गरिए पनि प्रधानमन्त्री ओलीले त्यसलाई टारिदिए । गौतमलाई कहिले राष्ट्रियसभामा लैजाने अझै अनिश्चित नै छ । प्रधानमन्त्री ओलीले फेरि पनि उपयुक्त समयमा लैजाने भनेर गौतमलाई फकाउने प्रयास जारी राखेका छन् ।

यदि गौतम वा अन्य नेतालाई अर्थमन्त्री दिने हो प्रधानमन्त्रीले शुक्रबार नै निर्णय लिने थिए । तर, आफ्नो योजना असफल भएपछि प्रधानमन्त्री अन्योलमा परे । स्रोतका अनुसार केही समय आफैँले खतिवडाको सहयोगमा अर्थ मन्त्रालय चलाउने योजना प्रधानमन्त्री ओलीले बनाएका छन् । अर्थ मन्त्रालय त्यसरी कति दिन चलाउने भन्ने प्रश्न पनि उठेको छ । खतिवडालाई सल्लाहकार बनाएर यो कार्यकालभर अर्थ आफैंले चलाउने योजना पनि प्रधानमन्त्री ओलीले नबनाएको भने होइन । तर, समय पुग्दैन । तत्काल दिने अनुहार पनि प्रधानमन्त्रीले देखेका छैनन् । त्यही भएर गौतमलाई फकाउने प्रयासमा अझै प्रधानमन्त्री रहेको स्रोतको दाबी छ । फकाउँदा पनि गौतमले मानेनन् भने ओलीले अर्थमन्त्री होइन गौतमलाई आफ्नो कार्यकालभर कुनै पनि मन्त्री नबनाउन पनि सक्तछन् ।

गौतमलाई सांसद बनाउनै परेमा आगामी अध्यक्ष पदको आश्वासन पनि खोसिने पक्का छ । त्यसको लागि प्रधानमन्त्री ओलीले प्रचण्ड वा माधव नेपालसँग छुट्टै सम्झौता गर्न पनि सक्छन् । त्यही भएर योजनाबद्ध रुपमै राष्ट्रपतिबाट प्रधानमन्त्रीलाई अर्थको पनि जिम्मेवारी दिइएको स्रोतको दाबी छ । अहिलेको अवस्थामा ओलीबाट अर्थ मन्त्रालय खोस्न सजिलो छैन । ओलीलाई रिझाउँदै आएका महासचिव विष्णु पौडेल, सुरेन्द्र पाण्डे पनि धेरै पछाडि छन् ।

वर्षमान पुन, जनार्दन शर्माहरुको चर्चा त अर्थमन्त्रीको लागि होइन रमाइलोका लागि प्रचार मात्र भएको नेकपाकै नेताहरु बताउँछन् । ओली नेतृत्वको सरकारमा पूर्वमाओवादीले अर्थ मन्त्रालय पाउनेबारे एक पूर्वएमाले नेताले आर्थिक दैनिकसित भने, ‘पूर्वप्रधानमन्त्री भएका प्रचण्ड नै अर्थमन्त्रीका लागि आउँछु भने पनि ओलीले आनाकानी गर्छन्, अरु पूर्वमाओवादीको चर्चा गर्नु त पृथ्वीबाट गुलेलीले चन्द्रमामा ढुंगा पु-याउँछु भनेर ताक्नुजस्तै मात्र हो ।’

प्रधानमन्त्रीले विश्वास गरेका मुख्य पात्र शंकर पोखरेल अहिले संघीय सांसद छैनन् । उनी अहिले प्रदेश ५ को मुख्यमन्त्री छन् । यदि पोखरेल संघीय संसद्मा थिए भने खतिवडापछि पोखरेललाई नै अर्थमन्त्री दिन्थे । विश्वासिलो पात्र नभएको कारण प्रधानमन्त्री ठूलै अन्योलमा परेका छन् । ‘जसले अर्थ दाबी गरेका छन् उनलाई दिने पक्षमा प्रधानमन्त्री छैनन्’, नेकपाका एक नेताले भने, ‘जसलाई विश्वास ग-यो ऊ सांसद नै छैन । त्यही भएर आफ्ना विश्वासपात्रलाई जसरी पनि अर्थमन्त्री बनाउन प्रधानमन्त्रीको प्रयास छ । त्यही भएर गौतमको नाम राष्ट्रियसभामा सिफारिस नभएको हो ।’ (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्