अर्का अस्वीकृतलाई सांसद बनाउने निर्णय

काठमाडौं,भदौ १९
२०७४ सालको आम निर्वाचनमा बर्दियामा जनताद्वारा अस्वीकृत (पराजित) अर्का नेता उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनीत गर्ने निर्णय सत्तारुढ नेकपाले गरेको छ । यसअघि गोरखाबाट डा. बाबुराम भट्टराईसँग पराजित भएका नारायणकाजी श्रेष्ठलाई पनि नेकपाले राष्ट्रियसभामा पठाएको छ ।
सरकारले गौतमलाई मनोनीत गर्न लागेको जानकारी नेकपाको बिहीबार बसेको सचिवालय बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गराएका थिए । प्रधानमन्त्री ओलीको उक्त जानकारीप्रति स्थायी समितिका कुनै पनि सदस्यले विरोध गरेका थिएनन् । बुधबार रातिसम्म पनि प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रिय सभामा नआउन आग्रह गर्दै मनाउने प्रयास गरेका थिए ।
गौतमले नमानेपछि प्रधानमन्त्री ओली आफैंले सरकारले गौतमलाई राष्ट्रियसभाको रिक्त पदमा मनोनीत गर्न लागेको जानकारी बैठकमा गराएका थिए । बुधबार नै अर्का अध्यक्ष प्रचण्डलाई पनि ओलीले गौतमलाई मनाउन आग्रह गरेका थिए । तर, अर्थतन्त्र क्षेत्रका दलालहरुले प्रचण्ड, गौतमलगायतका नेताहरुलाई जसरी पनि युवराजलाई अर्थमन्त्रीबाट हटाउन उचालिरहेका थिए ।
राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्य पद छ महिनादेखि रिक्त छ । अर्थमन्त्री डा. युवराज खतिवडालाई उक्त पदमा मनोनीत गर्न प्रधानमन्त्री ओलीको चाहना भए पनि गौतमले अडान नछाडेपछि खतिवडाको अर्थमन्त्री पद शनिबार राति १२ बजेसम्म कायम रहनेछ । तर, कतिपय भने प्रधानमन्त्रीले खतिवडालाई अझै अर्थमन्त्री बनाउने हुन् कि भन्ने त्रासमा छन् । यद्यपि खतिवडा सांसद नभएसम्म पुनः मन्त्री बन्न नपाउने संविधानको धारा ७८ को उपधारा ३ मा उल्लेख गरिएको छ ।आर्थिक दैनिकबाट
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्