Techie IT
१० असार २०७८, बिहीबार

कोरोना भाइरस: यस्ता थिए दुई हजार वर्षमा नेपालमा आएका महामारी


काठमाडौं,भदौ १८
हामीकहाँ इतिहास लेखेर राख्ने चलन नभएकाले नेपालको इतिहासका धेरै कुरा थाहा पाउन सजिलो छैन।महामारीका इतिहासको हकमा पनि यो कुरा लागू हुन्छ।

महामारीको इतिहासको कुरा गर्दा नेपालको सबैभन्दा पहिलो महामारीको विवरण लिच्छविकालको पाइएको छ।तर त्यो पनि लिच्छविकालभन्दा निकैपछि १५औँ शताब्दीमा आएर मात्र वंशावलीमा उल्लेख भएको छ।

‘गोपालराजवंशावली’मा लिच्छवि राजा सुपुष्पदेवको पालामा ठूलो महामारी आएको उल्लेख छ।उक्त महामारीको कारण ‘दुधे कर्कलो’ भएको उल्लेख गरेको पाइन्छ।

रोचक कुरा के छ भने काठमाण्डूमा दुधे कर्कलो अहिले पनि धेरैले खानका लागि प्रयोग गर्दैनन्।सायद त्यसबेला महामारी ल्याउने कुरा भएकाले पो प्रयोग नगरेका हुन् कि!

सुपुष्पदेव कहिलेका राजा हुन्?

सुपुष्पदेव कुन बेलाका राजा हुन् भन्ने थाहा पाउन अलि कठिन छ।वि.सं. ७९० को पशुपतिनाथमा जयदेवले लेखाएको शिलालेखमा चाहिँ लिच्छवि राजाहरूमा सुपुष्पको चर्चा छ। तर त्यहाँ महामारीको चर्चा छैन।

‘गोपालराजवंशावली’मा चाहिँ महामारीको शान्तिका लागि बेथेको साग, रायोको साग र गोबरले नौ दिनसम्म अभिषेक गर्दा रोग निवारण भएको उल्लेख छ।

नेपालको इतिहासको उठानदेखि मल्लकालसम्म हेर्दा मैले एक दर्जन महामारीको विवरण पाएँ।दुर्भाग्य नै भन्नुपर्छ त्यो पनि काठमाण्डूको मात्र उपलब्ध छ।बाहिरको केही विवरण पाउन सकिएको छैन।

महामारी
तस्बिरको क्याप्शन,इतिहासकार पन्त

उपत्यकाभित्र लेखन संस्कृति थियो तर बाहिर कम लेखन संस्कृति भएकाले धेरै कुरा हामीले थाहा पाउन सक्दैनौँ।दुई हजार वर्षमा १२ वटा मात्र महामारी त आएनन् होला।

अध्ययन

मैले मल्लकालको अन्त्य भएपछि आएका महामारीको विस्तृतमा अध्ययन गरिसकेको छैन।कोरोनाभाइरस महामारी सुरु भएयता मैले नेपालको महामारीकै अध्ययन गरिरहेको छु।

मल्लकालयता गीर्वाणयुद्धविक्रमका पालामा आएको बिफरको त काठमाण्डू उपत्यकामा चर्चित नेवारी लोकगीत नै छ।मैले पनि आफूलाई अध्ययनको सीमामा राख्नुपर्छ। त्यसैले मैले मल्लकालसम्मको महामारीको अध्ययन गरेको हुँ।

त्यसबेला पाइएका विवरणका आधारमा ती १२ वटा महामारी प्राकृतिक नै हुन्। तीमध्ये केही मुख्य महामारीको मात्र मैले यहाँ चर्चा गरेको छु।

नेपाल

सुपुष्पदेवको पालापछि चाहिँ हामीले १,००० वर्षपछिको मात्र विवरण पाउँछौँ।त्यो भनेको वि.सं. १३८५/८६ को हो। त्यो महामारी फागुनदेखि भदौ (विसं १३८६) सम्म फैलिएको थियो।

त्यसलाई ‘कनिमरक’ भनिएको छ। उक्त महामारीमा दैनिक १०० को हाराहारीमा मानिसहरू मरेको भनिएको छ।नेवारी भाषामा ‘कनि’को दुईवटा अर्थ हुन्छ- मकै र एउटा आँखा मात्र भएकी महिला।

‘गोपालराजवंशावली’को अध्ययनका क्रममा धनवज्र वज्राचार्य (इतिहासकार) ले त ‘कनि’को अर्थ लगाउने आँट गर्नु भएन।कमलप्रकाश मल्ल (इतिहासकार) ले चाहिँ त्यसलाई अङ्ग्रेजीमा “मेज डेथ” वा “स्मल पोक्स” भनेर अर्थ्याउन खोज्नु भएको छ।

यद्यपि उहाँले दुवै अर्थमा प्रश्चवाचक चिह्न (?) दिनुभएको छ।तर त्यसको ३०० वर्षपछि मात्र भारतवर्ष अर्थात् अहिले भनिने गरिएको दक्षिण एशियामा मकै भित्रिएको पाइएकाले ‘कनि’को अर्थ मकै होइन भन्ने मेरो भनाइ छ।

हुनत मैले पनि अहिलेसम्म त्यसको अर्थ लगाउन सकेको छैन।मैले त्यसबारे एउटा लेख लेखेपछि पुरुषोत्तमलोचन श्रेष्ठ (संस्कृतिविद्) ले ‘कनि’ भनेको एउटा मात्र आँखा भएकी महिला भनेर लेख्नुभयो।

तर महामारी आएको बखतमा त्यस अर्थमा ‘कनि’ शब्द चलेको देखिँदैन।अर्को कुरा कुनै पनि महामारी एउटा आँखा मात्र भएकी महिलालाई मात्रै लाग्ने गरेर त पक्कै पनि आउँदैन।त्यसैले ‘कनिमरक’को अस्तित्व छ तर त्यो कस्तो महामारी हो भन्ने अनुसन्धेय नै छ।

(वीवीसी नेपाली सेवा बाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्