Techie IT
६ असोज २०७८, बुधबार

अवैध लागूऔषध सहित पक्राउ


काठमाडौं ।

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बाहुनधारा डेरा गरी बस्ने सिन्धुपाल्चोक तातोपानी घर भएकी ४० वर्षीया उषा खड्गी र सोही ठाउँ बस्ने ३८ वर्षीय दोबे दोङ तामाङलाई नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ५५ एम्पुल, फेनारगन १ सय ६५ एम्पुल, नोर्फिन १ सय ३५ एम्पुल, विभिन्न बैंकको ३ थान चेक र २ थान मोबाइल सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

उषाको कोठामा लागूऔषध रहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-११ सतुंगलस्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १ सय १३ ट्याब्लेट र ट्रमाडोल १ सय पिस सहित सोही नगरपालिका-११ सतुंगल बस्ने २३ वर्षीय सुशन प्रधानलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । बा.७४ प २७१७ नम्बरको मोटरसाइकललाई महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले जाँच गर्दा मोटरसाइल चालक प्रधानलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुरको बेदकोट नगरपालिका-३ शंकर इँटाभट्टाबाट १९ ग्राम ९७ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित भिमदत्त नगरपालिका-१ तिलकपुर बस्ने २२ वर्षीय रमेश दमाई लगायत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट दैजीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपलिका-१० हेटौंडा बसपार्कस्थित माउन्ट एभरेष्ट होटलबाट करिब ५ ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित सोही उपमहानगरपालिका-१६ बस्ने ३२ वर्षीय अजित कुमार न्यौपानेलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१ भन्सार चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १३ ट्याब्लेट सहित राजविराज नगरपालिका-३ बस्ने २२ वर्षीय अक्रम शेखलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको स.३ प १५२२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक शेखलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्