Techie IT
१० असोज २०७८, आईतबार

सिन्धुपाल्चोक लिदीका पहिरोपीडितलाई एनआरएनएको आर्थिक सहयोग


काठमाडौं, भदौ १८
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ स्थित लिदीका पहिरोपीडितलार्ई ५ लाख आर्थिक सहयोग गरेको छ । पहिरोपीडितहरूको अस्थायी बस्ती बासखर्क पुगेर एक समारोहका बीच संघका उपाध्यक्ष सोनाम लामाले ५ लाख आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।

उपाध्यक्ष लामाले जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङ र वडाध्यक्ष प्रताप लामालाई संयुक्तरूपमा सहयोग हस्तान्तरण गरेका हुन् । सो अवसरमा संघका उपाध्यक्ष सोनाम लामाले वर्तमान कोभिड –१९ को विषम परिस्थितिमा विश्वभर बस्ने गैरआवासीय नेपाली पनि प्रभावित भएको बताउँदै अहिलेलाई थोरै राहत लिएर भावना साट्टासाट्टा गर्न मात्र आएको बताए ।

उपाध्यक्ष लामाले आगामी दिनमा वर्तमान कोभिड –१९ को परिस्थिति सहज भएपछि सरकारसँग समन्वय गरेर जाने बताए । गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले गैरआवासीय नेपाली संघलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा ठोस योजना बनाएर सहकार्य गरी अगाडि बढ्न तयार रहेको बताए ।

सो कार्यक्रममा एनआरएनएको तर्फबाट बहराइनका पूर्वअध्यक्ष श्याम तामाङ, जुगल गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङ र पीडितहरूको सहभागिता थियो । जुगलमा गत साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकोमा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने २ जना अझै बेपत्ता छन् । पहिरोले ३९ घरमा पूर्णरूपमा क्षति पु-याउँदा १ सय ५६ भन्दा बढी मानिसहरू प्रभावित भएका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्