‘कोभिड नियन्त्रणमा तीनै तहका सरकारको उत्तिकै दायित्व’

काठमाडौं, भदौ १८
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले तीनै तहका सरकारले मिलेर कोभिड–१९ रोकथाम तथा नियन्त्रणको काम थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् । बुधबार प्रदेश सरकारका सामाजिक विकासमन्त्रीहरुसँग भर्चुअल बैठक गर्दै उनले कोभिड–१९ रोकथामका लागि भएका कामहरु थप प्रभावकारी र व्यवस्थित बनाउनका लागि तीनै तहले समन्वात्मक काम गर्नुपर्ने बताएका हुन् ।
जनस्वास्थ्यको मापदण्ड पालनाका निम्ति सचेतनाको काम प्रभावकारी बनाउनुपर्नेमा उनले विशेष जोड दिए । कोभिड–१९ को अहिलेसम्म कुनै खोपको विकास नभैसकेका कारण सावधानी अपनाउनुको विकल्प नभएकाले त्यसका लागि प्रदेश र स्थानीय सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो । मन्त्री ढकालले संघीय सरकारले आवश्यक सबै खालका सहयोग गर्न तयार रहेको भन्दै अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई कोभिडको अवस्था रहेसम्म जोखिम भत्ता र बीमा जारी रहने बताए ।
प्राविधिक कारण केही समस्या भएर कसैले जोखिम भत्ता नपाए पनि कोभिड–१९ को लडाइँमा काम गरेका मान्छेले भत्ताबाट विमुख हुन नपर्ने उनको भनाइ छ । साथै उनले सरकारी प्रयोगशालाहरुले नै दैनिक १८ हजार पाँच सय जनाको नमूना परीक्षण गर्नसक्ने क्षमताको विकास गरिएको भन्दै कुनै विशेष कारणभन्दा बाहेक २४ घण्टाभित्र रिपोर्ट आउने व्यवस्था मिलाइने बताए । अहिलेको परिस्थितिमा समय तोकेर नै नमूना परीक्षणको रिपोर्ट दिनुको विकल्प नरहेको उनको भनाइ थियो ।
आइसोलेसन निर्माणका लागि मात्र संघीय सरकारले ३८ करोड बजेट प्रदेश सरकारमार्फत स्थानीय तहमा पठाएको स्मरण गर्दै उनले केन्द्रमा तीन सय बेडको सरुवा रोग अस्पताल र प्रत्येक प्रदेशमा ५० बेडको अस्पताल सञ्चालनका लागि गृहकार्य भइरहेको बताए । मन्त्री ढकालले अबदेखि हरेक १५ दिनमा सामाजिक विकासमन्त्रीसँग बैठक गर्ने जानकारी पनि दिए ।
भर्चुअल बैठकमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण सुवेदी, कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दलबहादुर रावल, प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन मंगोल, गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन र वाग्मती प्रदेशको सामाजिक विकासमन्त्री युवराज दुलाल सहभागी भएका थिए ।
प्रदेश १ का सामाजिक विकासमन्त्री कोरोना पोजेटिभ भएर आइसोलेसनमा रहेको र प्रदेश २ का सामाजिक विकासमन्त्रीले समयको व्यवस्थापन गर्न नभ्याएकोले बुधबारको भर्चुअल बैठकमा सहभागी भएका थिएनन् । सामाजिक विकासमन्त्रीहरुले कोभिड–१९ व्यवस्थापनका लागि व्यापक काम भए पनि प्रभावकारी समन्वयको अभाव देखिएको भन्दै कोही पनि अलमलमा नपर्ने गरी काम गर्नुपर्नेमा जोड दिए । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्