Techie IT
शनिबार, फागुन १५,२०७७

राष्ट्र बैंकद्वारा करिब साढे चार खर्ब भारु खरिद


काठमाडौं, भदौ १८
नेपाल राष्ट्र बैंकले एक आर्थिक वर्ष अर्थात् २०७६/०७७ मा खुला बजार कारोबारमार्फत कुुल दुुई खर्ब १९ अर्ब १६ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ । यसअन्तर्गत रिपोमार्फत एक खर्ब १५ अर्ब ८७ करोड र स्थायी तरलता सुविधामार्फत एक खर्ब तीन अर्ब २८ करोड प्रवाह भएको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष भने तीन खर्ब २२ अर्ब ४९ करोड तरलता प्रवाह भएको थियो । समीक्षा अवधिमा खुला बजार कारोबारका विभिन्न उपकरणहरुमार्फत पटक–पटक गरी कुल ७८ अर्ब तरलता प्रशोचन गरिएको छ । सोमध्ये निक्षेप संकलन बोलकबोलमार्फत ३० अर्ब र रिभर्स रिपोमार्फत ४८ अर्ब तरलता प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा एक खर्ब ३५ करोड रुपैयाँबराबरको तरलता प्रशोचन गरिएको थियो ।

समीक्षा वर्षमा राष्ट्र बैंकले विदेशी विनिमय बजार अर्थात् वाणिज्य बैंकहरुबाट अमेरिकी डलर चार अर्ब २१ करोड खुद खरिद गरी चार खर्ब ९२ अर्ब २४ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्ष विदेशी विनिमय बजारबाट अमेरिकी डलर तीन अर्ब १९ करोड खरिद गरी तीन खर्ब ६० अर्ब ९१ करोड तरलता प्रवाह गरिएको थियो ।

राष्ट्र बैंकका अनुसार समीक्षा वर्षमा अमेरिकी डलर तीन अर्ब ८२ करोड बिक्री गरी चार खर्ब ४२ अर्ब १३ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्ष अमेरिकी डलर चार अर्ब २४ करोडलगायत अन्य विदेशी मुद्रा बिक्री गरी पाँच खर्ब १६ अर्र्ब ९७ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।

सात अर्ब ४९ करोड रुपैयाँ पुनर्कर्जा लगानीमा : नेपाल राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तसम्ममा सहुलियत दरमा प्रदान गरिने पुनर्कर्जा सात अर्ब ४९ करोड रुपैयाँ लगानीमा रहेको छ । यसअन्तर्गत साधारण पुनर्कर्जा पाँच अर्ब ८८ करोड र भूकम्पपीडितलाई प्रवाह गरिएको पुनर्कर्जा एक अर्ब ६१ करोड रुपैयाँ लगानी रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसैगरी २०७७ असार मसान्तसम्ममा ३२ हजार चार सय ४८ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई ५९ अर्ब ५६ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत २४ हजार सात सय ६३ ऋणीलाई प्रवाह भएको ५४ अर्ब ११ करोड कर्जा रहेको छ । राष्ट्र बैंकका अनुसार सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत भने सात हजार छ सय ८५ ऋणीको पाँच अर्ब ४५ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्