Techie IT
शुक्रबार, फागुन २१,२०७७

नेपालमा थप ११२० जनामा कोरोना संक्रमण, ४१ हजार ६ सय ४९ पुगे संक्रमित !


काठमाडौं,भदौ १७
देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा बुधबार थप ११२० जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ३५० , ललितपुरका २९ जना र भक्तपुरमा ९ जना, गरी काठमाडौं उपत्यकामा ३८८ जनामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको सङख्या ४१ हजार ६ सय ४९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार १ सय १२ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २३ हजार २ सय ९० पुगेको छ। यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १०८ रहेको छ । यस्तै संस्थागत आइसोलेशनमा १० हजार ४९३ रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ६१५ जना रहेका छन् ।

विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणको कारण थप १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा चितवनका ५५ र १८ वर्षीया महिला, काठमाडौंका ८९ वर्षीया, ललितपुरका ७० वर्षीया, तनहुँका २० वर्षीया, कपिलवस्तुका ६० वर्षीया महिलाहरु रहेका छन् ।

त्यसैगरी बाराका ९७ वर्षीय, चितवनका ६५ वर्षीय, भक्तपुरका ४० वर्षीय, काठमाडौंका ७० र ७५ वर्षीय र धादिङका ४७ वर्षीय पुरुषहरुको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो वृद्धिसँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या २५१ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको कमेन्ट लेख्नुहोस्