Techie IT
सोमबार, फागुन २४,२०७७

खाल्डाखुल्डी पुर्न ‘जागौँ पोखरा’


पोखरा, भदौ १७
पोखराका सडकका खाल्डाखुल्डीले दिनहुँ दुर्घटना निम्त्याइरहेको अवस्थालाई ध्यान दिँदै ‘जागौँ पोखरा’ अभियान खाल्डाहरु पुर्न सक्रिय बनेको छ । अभियानका सदस्य यतिबेलामा ट्रकभरि पुरुवा माटो, गेग्य्रानसहित हातमा बेल्चा लिएर खाल्डाखुल्डी पुर्न व्यस्त देखिन्छन् ।

अभियानका संयोजक शिवराज बस्ताकोटीले सडकका कारण दिनहुँ दुर्घटना बढ्न थालेपछि खाल्डाखुल्डी पुर्ने अभियानमा सक्रिय बनेको बताए । उनले सुन्दर शहरको बेरुप अवस्थाले पोखरेलीलाई नै लज्जित बनाएको जनाउँदै आफूहरुले सचेत नागरिकको कर्तव्य पूरा गरेको स्पष्ट गरे ।

अभियानकर्मी दीपक आचार्यले सडक जस्ता संवेदनशील क्षेत्रमा राज्य उदासीन भएको आरोप लगाए । “जनप्रतिनिधि चिल्ला गाडीमा सवार हुन्छन्, सेवासुविधाको भोगचलनमा मात्र अग्रसर हुनेहरुले जनताको सास्ती बुझ्न सकेनन्”, आचार्यले भने, “सडकका खाल्डाखुल्डीले दिनहुँ दुर्घटना बढिरहेको छ । यसतर्फ सम्बन्धित निकायको चासो नबढ्नु दुःखद् हो ।” उनले एक नागरिकका रुपमा आफूहरु सडकमा आएको र यस कार्यलाई निरन्तरता दिइने बताए ।

पोखरा महानगरपालिका योजना महाशाखा प्रमुख वरिष्ठ इञ्जिनीयर शारदामोहन काफ्लेले महानगरले सडक स्तरोन्नतिका लागि काम शुरु गरेको जानकारी दिए । उनले राससलाई भने “महानगरले अक्सपाल कंक्रिट (बाक्ला पिच)का लागि केही क्षेत्र छुट्याएर इलाइट कम्पनीलाई जिम्मा दिइसकेको छ । कोरोना कहरले केही ढिला हुन गएको हो ।”

काफ्लेका अनुसार करीब रु. १५ करोड लागतमा पोखराका सभागृह, महेन्द्रपुल, अमरसिंह, पालिखेचोक, पिएन क्याम्पस र तल्लोदीप क्षेत्रका सडक मर्मतका लागि कम्पनीसँग सम्झौता गरिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्