Techie IT
शुक्रबार, कात्तिक १४,२०७७

रक्तसञ्चार केन्द्र ‘सिल’


चितवन, भदौ १७
क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरमा कार्यरत दुई जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि केन्द्र ‘सिल’ गरिएको छ । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार चालक र प्राविधिकलाई सङ्क्रमण देखिएको हो । यससँगै आज बिहानदेखि केन्द्र सिल गरिएको उनले राससलाई बताएका छन् ।

केन्द्रलाई पूर्णरुपमा निर्मलीकरण र कर्मचारीलाई कन्ट्याक्ट ट्रेसिङ गरेसँगै केन्द्र सञ्चालनमा आउने पौडेलले जानकारी दिए । पौडेलले विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशिकालाई पूर्ण पालना गरेर निर्मलीकरण गरिने जानकारी दिए । तत्काल रगत चाहिने बिरामी प्रभावित भएका छन् ।

घुम्ती शिविरबाट २८६ युनिट रगत सङ्कलन : जिल्लामा कोभिड–१९ का कारण रगतको अभाव भएपछि नेपाली युवा उद्यमी मञ्च चितवनले टोलटोलमा मोबाइल क्याम्प खडा गरी २८६ युनिट रगत सङ्कलन गरेको छ । भदौ ८ गतेदेखि आठ दिनमा १७ ठाउँमा रक्तदान कार्यक्रम गरिएको हो ।

मञ्चका द्वितीय उपाध्यक्ष सूर्यभक्त अधिकारीका अनुसार आजलाई रोकेर भोलिदेखि यो अभियानलाई निरन्तरता दिइनेछ । रक्तसञ्चार केन्द्र भरतपुरका दुई कर्मचारीलाई सङ्क्रमण भएपछि एक दिनलाई कार्यक्रम रोकिएको उनले जानकारी दिए । धर्मचोकबाट शुरु भएको अभियानअन्तर्गत गैँडाकोट, गीतानगर, नारायणगढ, सौराहा, शुक्रनगर, जिल्ला प्रहरी कार्यालय चितवन परिसरलगायतका क्षेत्रमा शिविर गरिएको हो । मञ्चका सदस्य अर्जुन रानाभाटका अनुसार गीतानगरको केशरबाग र जिल्ला प्रहरी कार्यालयमा धेरै युनिट रगत सङ्कलन भएको थियो ।

रगतको अभाव भइरहेका बेला थोरै मानिस जम्मा गरेर उच्च सावधानीका साथ गरिएकाले टोलटोलबाट रक्तदानका लागि टेलिफोन आउने गरेको रानाभाटले जानकारी दिए । मञ्चका अध्यक्ष कृष्णप्रसाद सापकोटाले नेपाल सरकारको सङ्क्रमण ऐनभित्र रही सम्पूर्ण कार्य गरिएको जानकारी दिए । मञ्चले चितवन र छिमेकी जिल्लाका आआफ्नो टोलमा संयोजन गरी मिति, समय र टोलको नाम टिपाउन अनुरोध गरेको छ ।

रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले कोरोना त्रास र जोखिमका कारण रगतको अभाव भइरहेका बेला यो अभियान निकै उपयोगी भएको बताए । उनले भने, “सङ्कटका बेलामा मञ्च सबैका लागि सहयोगी बन्यो ।” यसअघि दैनिक ६० पोकासम्म रगत सङ्कलन हुँदै आए पनि निषेधाज्ञापछि रगत सङ्कलन हुन छाडेको छ । अहिले आकस्मिक बिरामीका लागि रगत पाउने अवस्था नभएको उनले बताए । जिल्लामा तेस्रो साता निषेधाज्ञा जारी छ । पौडेलका अनुसार जिल्लाका अस्पतालमा दैनिक औसत १५० युनिट रगत आवश्यक पर्छ ।

केन्द्रले यसअघि चितवनसँगै नवलपुर, बारा, सर्लाही, रौतहट, मकवानपुरलगायतका जिल्लाबाट रगत सङ्कलन गरेर ल्याउने गर्दथ्यो । अहिले ती जिल्लामा रक्तदान कार्यक्रम भएका छैनन् । रगतको अभावका कारण सुत्केरी र क्यान्सरका बिरामी बढी प्रभावित भएका छन् । बाहिरी जिल्लाबाट आएका बिरामीका आफन्तले यहाँ रक्तदाता जुटाउन मुस्किल पर्ने गरेको छ । कोरोना त्रासका कारण विगतमा रक्तदान गर्नेसमेत अहिले डराएका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्