Techie IT
शुक्रबार, असोज ९,२०७७

‘बिजुली बेच्न नसके १० खर्ब जोखिममा’


काठमाडौं, भदौ १७
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का उपाध्यक्ष आशिष गर्गले नेपालले बिजुली बेच्न नसके १० खर्ब रुपैयाँ जोखिममा पर्ने बताएका छन् । उनका अनुसार हाल एक हजार तीन सय ६० मेगावाट रहेको नेपालको विद्युत् उत्पादन क्षमता आगामी तीन वर्षभित्र ६ हजार मेगावाट पुग्नेछ । उत्पादन बढे पनि खपत नबढ्दा बिजुली खेर गएर १० खर्ब लगानी जोखिममा पर्ने उनको भनाइ छ । विद्युत् बेच्न नसके नेपालमा मात्रै विद्युतको माग भने तत्काल बढ्न नसक्ने उनले बताए ।

‘अहिलेको विद्युत् खपतको अवस्था र तत्काल धेरै विद्युत् खपत गर्ने गरी औद्योगीकरण नहुने अवस्थाले अबको तीन वर्षमा विद्युत् माग १७/१८ सय मेगावाटभन्दा बढी पुग्ने अवस्था छैन’, उनले भने ‘अहिलेको अवस्थाले चालू वर्षमा एक हजार, अर्को वर्ष दुई हजार र तेस्रो वर्ष कम्तीमा एक हजार पाँच सय मेगावाटभन्दा बढी गरी तीन बर्षभित्र झण्डै ४५ सय मेगावाटबराबरको उत्पादन बढ्ने अवस्था छ, त्यो अवस्थामा बिजुली बेच्न नसके चार हजार मेगावाट विद्युत् खेर जान्छ ।’

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मंगलबार आयोजना गरेको सेजन अर्थनीति बहसअन्तर्गत आयोजित ऊर्जा व्यापारसम्बन्धी कार्यक्रममा उनले गत चैतमा नै रातिको समयमा दुई सय मेगावाट विद्युत् खेर गएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको बताए । आगामी वर्षको वर्षात्मा खेर जाने बिजुलीको परिणाम बढ्दै जाने उनको दाबी छ । विद्युत् खेर जाँदा ऋण लगानी गर्ने बैक, स्वँपुजी लगानी गर्ने लगानीकर्ता र सेयर लगानी गर्ने सेयरकर्ताको पैसा डुब्ने बताउँदै उनले सरकारले अग्रसरता देखाए अहिले पनि विद्युत् व्यापारको अवस्था रहेको दाबी गरे ।

चीनसँग अन्तर्देशीय प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढे पनि त्यो निर्माण हुन कम्तीमा पाँच वर्ष लाग्ने तथा बनेपछि पनि पाँच सय किलोमिटरभन्दा बढीको प्रसारणलाइनमा बिजुली लैजानुपर्ने भएकोले विद्युत् व्यापार कठिन रहेको उनको भनाइ छ । यसैगरी बंगलादेशमा बिक्री गर्न पनि २३ किलोमिटर भारतीय भूमि प्रयोग गर्नुपर्ने कारण भारत नै अहिलेका लागि नेपालको बिजुलीको मुख्य बजार रहेको उनले बताए ।

‘अहिले नै सरकार–सरकार (जीटुजी)मा भारतलाई बिजुली बिक्री गर्न सक्छ, मध्यकालीन र दीर्घकालीन रुपमा बेच्न समस्या छैन, कन्डक्ट अफ बिसनेज रुल (सीबीआर) त १० प्रतिशत भारतीय बिजुलीको खुल्ला बजारका लागि मात्र हो, त्यो पनि नेपाललगायतका १२ देशका लागि भारतले बनाइरहेकोले एक दिन आउँछ’, उनले भने, ‘बंगलादेश, म्यान्मार जस्ता देशमा बिजुली बेच्न पनि भारतको स्वीकृत चाहिन्छ, केही वर्षका लागि भारत नै हाम्रो मुख्य बजार हो, बेच्न तत्काल पहल गर्नुपर्छ, यदि पहल भएन भने जलविद्युत्का लगानीकर्ताका लागि मात्र देशकै अर्थतन्त्रमा गम्भीर संकलन आइलाग्छ ।’

तीन लाख ७० हजार मेगावाट विद्युत् उत्पादन क्षमता रहेको भारतमा ३४ प्रतिशत कोल अर्थात् कालो ऊर्जा तथा २३ हजार मेगावाटको क्षमता रहेको बंगलादेशका झण्डै शतप्रतिशत कालो ऊर्जा रहेको उनले बताए । नेपालले उत्पादन गर्ने शतप्रतिशत स्वच्छ ऊर्जा (ग्रीन ऊर्जा) हुने भएकोले नेपालले भारतलाई बेच्न सम्भावना पनि उच्च रहेको उनको भनाइ छ ।

विद्युत् बेच्नका लागि पहिलो अन्तर्देशीय प्रसारणलाइन बनिसकेकोले एक हजार मेगावाटसम्म तत्काल निर्यात गर्न सकिने उनले बताए । यसैगरी अहिले निर्माण अघि बढेको तीन हजार मेगावाटसम्म निर्यात गर्न सकिने बुटवल–गोरखपुर अन्तर्देशीय प्रसारणलाइन निर्माणपछि धेरै सहज हुने उनको भनाइ छ । पछिल्लो समयमा अमेरिकी अनुदानको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे विवाद रहेकोले बुटवल–गोरखपुर समयमै बन्ने कुरामा भने समस्या देखिएको उनले बताए । उनले एमसीसीलाई राजनीतिको रुपमा लिनुभन्दा समयमै निर्माण गरेर बिजुली व्यापारका लागि पूर्वाधारको सुनिश्चितता गर्नुपर्ने बताए ।

निःशुल्क विद्युतीय चुल्हो वितरण, विद्युतीय सवारीसाधनमा प्रोत्साहन लगायतमार्फत विद्युत्को खपत बढाउन सकिने भए पनि दुवैमा सरकारले कर बढाएकोले खपत बढ्ने अवस्था कम रहेको उनको भनाइ छ । उद्योगधन्दालाई सस्तो बिजुली दिएमा यसले स्वदेशी तथा विदेशी लगानीकर्तामा आकर्षण भई प्रतिस्पर्धी वस्तु उत्पादन हुन जाने भएकोले विद्युत् खपत बढाउने उद्योगहरु बढ्नसक्ने उनले बताए ।

उनका अनुसार अहिले ७० प्रतिशतले दाउरा र धेरैले खाना पकाउनका लागि ग्यास प्रयोग गरिरहेकोले आगामी वर्षहरुमा यसलाई विस्थापन गर्नसके एक हजार मेगावाट बिजुली थप खपत तथा १० लाख गाडीलाई विद्युतीय गाडीमा रुपान्तरण गर्न सके अर्को दुई हजार मेगावाट थप खपत हुने भन्दै उनले यसका लागि सरकारको नीति विद्युतीय चुल्हो र सवारीसाधनलाई प्रोत्साहन गर्ने खालको हुनुपर्ने बताए । ऊर्जा क्षेत्रमा बहुबिक्रेता र बहुक्रेता भएमा यसले प्रतिष्पर्धा बढाउने, विद्युत् सस्तो हुने तथा मागको आधारमा निजी क्षेत्रले समेत सिधै बिक्री गर्नसक्ने भएकोले विद्युत् खपत बढाउनका लागि यसलाई खुल्ला गर्नुपर्ने उनको भनाइ छ ।

नेपालले भारतबाट हिउँदमा पाँच सय मेगावाटसम्म आयत गरिरहेपनि हालसम्म नेपालले भारतलाई बिजुली बिक्री गर्न नसकेको उनले बताए । गत वर्ष भारतमा गएको एक करोड युनिट बिजुली आदानप्रदानको क्रममा आपुर्ति मात्र गरिएको उनको भनाई छ । नेपालको समृद्धिका लागि मुख्य आधार पर्यटन र जलविद्युत् रहेको बताउँदै उनले समयमै जलविद्युत् उत्पादन गरेर बिक्री गर्न नसके समृद्धि हुने सम्भावना टाढा पुग्ने उपाध्यक्ष गर्गको भनाई छ । हालसम्म सौर्य ऊर्जा (सोलार) बाट उत्पादित बिजुली भण्डारण (स्टोर) गर्न नसकेपनि हाल यसबारे अनुसन्धान भईरहेकोले यदि पत्ता लागेमा नेपालको जलविद्युत उत्पादन क्षमताको सान्र्दभिकता हराउने उनको तर्क छ ।

पछिल्लो समयमा सोलारको लागत ८० प्रतिशतले घटेको तथा अधिकांश देश सोलार निर्माणमा केन्द्रित हुन थालेकोले समयमै सरकारले उत्पादन, विद्युत्खपत र बिक्रीका लागि विशेष पहल गर्नुपर्ने उनको भनाइ छ । लगानी बोर्डलगायतका निकायबाट अघि बढेका अधिकांश जलविद्युत्आयोजनाहरु अध्ययनको चरणमा रहेको र उनीहरुले लगानी गर्ने निर्णय गरिनसकेको बताउँदै उपाध्यक्ष गर्गले पछिल्लो समयमा हरेक लगानीकर्ताहरुले बिजुली बजारबारे प्रश्न गरिरहेकोले सरकारले बजार सुनिश्चित गरेर जलविद्युत्मा लगानी भित्र्याउनका लागि पहल गर्न ढिलाइ भइसकेको बताए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्