Techie IT
बुधबार, असोज ७,२०७७

चार्टर्ड एकाउन्टेन्ट सदस्यहरुलाई छुट


काठमाडौं, भदौ १७
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ र कलेज अफ बिजनेस म्यानेजमेन्टका बीचमा सदस्य तथा उनीहरुको नजिकका नातेदारका छोराछोरीहरुलाई प्लस २ व्यवस्थापन संकायमा मासिक शुल्कमा शतप्रतिशत छात्रवृत्ति दिने गरी सम्झौता भएको छ । सम्झौताबारे जानकारी गराउँदै कलेजका प्रिन्सिपल सीए सुमन न्यौपानेले कलेज डिल्लीबजारमा अवस्थित रहेको र युवा चार्टर्ड एकाउन्टेन्टहरुको समूहद्वारा सञ्चालनमा रहेको बताए ।

कलेजमा पाठ्यक्रमका अतिरिक्ति समसामयिक तथा प्राक्टिकल विधिबाट अध्यापन गराइँदै आएको कलेजका प्रिन्सिपल सीए न्यौपानेले बताए । साथै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ र बिज्हब आइटी सर्भिस प्रालिको बीचमा समेत सम्झौता भएको छ । उक्त सम्झौतामा संघका सदस्यहरुलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका सदस्य बनाउने लक्ष्यअनुसार बढीमा २० प्रतिशतसम्म छुट मिल्ने गरी सदस्यहरुले अनलाइन प्लेटफर्ममार्फत कक्षा लिने व्यवस्था गरिएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ वि.सं. २०३५ सालमा स्थापना भएको गैरनाफामूलक, गैरराजनैतिक तथा नेपाली चार्टर्ड एकाउन्टेन्ट्सहरुको एक मात्र पेशागत संघ हो । यसको मुख्य उद्देश्य देशमा लेखा व्यवसायको संरक्षण एवम् सम्वर्द्धन गरी सुव्यवस्थित एवम् सुचारु रुपले लेखा व्यवसाय सञ्चालन गराउने तथा सदस्यहरुको सामूहिक हितको संरक्षण गर्नु हो ।

सम्झौताले गर्दा सम्पूर्ण संघका सदस्यहरुलाई अहिलेको कोभिडको महामारीमा पनि घरमै बसेर अनलाइन कक्षा लिन तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको सदस्यता लिन समेत टेवा पुग्ने विश्वास लिएको संघका उपाध्यक्ष रमेश धितालले बताए । संघले गरेको कोभिड सर्वेको प्रतिवेदनअनुसार चार्टर्ड एकाउन्टेन्ट सदस्यहरुको हितका लागि संघले कार्यहरु गरिरहेको धितालले बताएका छन् । बैंक तथा वित्तीय संस्थाहरुसँग विना धितोमा प्रोफेसनल कर्जा, विशेष बैंकिङ सेवाका लागि समेत सम्झौता भएको धितालले बताए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्