Techie IT
१२ साउन २०७८, मंगलबार

युरो फुटबल २०२०: इङ्ग्ल्यान्डको उपाधि चुम्ने आधा शताब्दीको पर्खाइ अधुरै


काठमाडौँ । इङ्ग्ल्यान्डको उपाधि चुम्ने ५५ वर्षको पर्खाइ वेम्बली रंगशालाको पेनाल्टी शुटआउट असफलतासँगै फेरि लम्बिएको छ।

त्यहीँ इटलीले युरोपको सबैभन्दा ठूलो प्रतियोगिता ‘युरो कप २०२०’ जित्दै इतिहास रचेको छ।

निर्धारित समयको १-१ गोलको बराबरी र त्यसपछिको अतिरिक्त समय छिचोल्दै भएको टाई ब्रेकरमा इटलीले इङ्ग्ल्यान्डलाई ३-२ ले पराजित गरेको हो।

विश्वासपूर्ण अनुमान, तनाव र आफू अनुकूलको माहोलमा इङ्गलिस समर्थकहरूको मन तब पीडामा बदलियो जब बुकायो साकाको आइतवार रातिको अन्तिम पेनाल्टीलाई इटलीका गोलकिपर जियानलुगी डोनारुमाले आत्मविश्वासका साथ रोकिदिए।

सन् १९६८ पछि इटलीले दोस्रो पटक युरो कप जितेको छ। साथै टोलीको अपराजित खेल यात्राको सङ्ख्या पनि ३४ पुगेको छ।

इटली र इङ्गल्याण्ड

पीडा

वेम्बली रंगशालामा इङ्ग्ल्यान्डका लुका शले खेल सुरु भएको दोस्रो मिनेटमै गोल गरेर इङ्ग्ल्यान्डलाई गजबकै सुरुवात दिलाएका थिए।

युरो कपको इतिहासमै त्यो फाइनलमा भएको छरितो गोल थियो।

तर इटलीले विस्तारै खेलमा नियन्त्रण जमायो र विपक्षीलाई लगातार दबाबमा राख्नुको परिणाम स्वरुप ६७ औं मिनेटमा बराबरी गोल फर्कायो।

लियोनार्डो बोनुचीले कर्नरमा प्राप्त अवसरमा गोलकिपरले छेकेर फर्केको बलमा पोष्ट नजिकबाट गोल गरे।

त्यसपछि पेनाल्टी शुटआउटसम्म पुगेको खेलमा इङ्ग्ल्यान्डको लागि पीडादायी बन्यो।

इङ्गलिस खेलाडीहरूले तीन वटा पेनाल्टीमा गोल गर्न सकेनन्। कप्तान हेरी केन र हेरी मागुइरेले मात्र गोल गर्न सके।

इङलिस किपर जोर्डन पिकफोर्डले २ पेनाल्टी बचाएर टोलीको आशा जीवित राखेपनि स्ट्राइकरहरू नराम्ररी चुक्न पुगे।

मुख्य प्रतियोगिताहरूमा पेनाल्टी सधैँ इङ्गलिस टोलीको खड्गो बन्दै आएको छ।

यसअघि सन् १९९०, १९९६, १९९८, २००४, २००६ र २०१२ मा पनि टोली पेनाल्टी शुटआउटबाटै बाहिरिएको थियो।

इङ्गलिस प्रशिक्षक ग्यारेथ साउथगेटले बीबीसीसँग भने, “यो ठूलो निराशा हो। मैले प्रशिक्षणका बेला देखाएको विश्वासका आधारमा पेनाल्टी हान्ने खेलाडी छानेको हुँ। तर यहाँसम्मको यात्राको लागि म खेलाडीहरूलाई धन्यवाद दिन्छु।”

अन्तिम पेनाल्टी गुमाएका १९ वर्षीय साकालाई मैदानमा सहयात्रीहरूले सान्त्वना दिइरहँदा वेम्बली भरी रहेका दर्शक र देशभरी सडकमा उत्रिएका समर्थकहरूको मनमा भने त्यो भावना थिएन।

खुसी

सन् २०१८ मा इटलीले आफ्नो लामो फुटबल इतिहासमा नराम्रो पीडा भोगेको थियो।

रुसमा भएको सो विश्वकपमा टोली छनौट समेत हुन सकेन।

चार वर्ष नै पुगेको छैन, टोलीसँग अहिले युरो कपको उपाधि छ। अनि त्यसयता लगातार ३४ खेलसम्म नहारेको कीर्तिमान पनि छ।

प्रशिक्षक रोबेर्टो मान्सिनीको लागि त्योभन्दा ठूलो खुसी अरु के हुन सक्ला?

अनि फाइनल अघि ‘इट्स कम होम’ को नारा लगाइरहेका इङ्गलिस समर्थकहरू सामू इटलीका खेलाडीहरूले रंगशालामा चिच्च्याइ चिच्च्याइ गाए – “इट्स कमिङ टु रोम”।(बीबीसी)


क्याटेगोरी : समाचार, खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्