Techie IT
बुधबार, असोज ७,२०७७

दोलखामा आंशिक निषेधाज्ञा

दिउँसो १ बजेसम्म बजार खुल्ने


दोलखा, भदौ १६
जिल्लामा गत साउन मसान्तदेखि जारी गरिएको निषेधाज्ञा मंगलबारदेखि खुकुलो हुने भएको छ । दोलखामा कोरोना संक्रमण दर बढेसँगै साउन ३२ गतेदेखि निषेधाज्ञा लगाइएको थियो । तेस्रोपटक थपिएको निषेधाज्ञाको समय मंगलबारबाट सकिन लागेपछि जिल्ला संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले विशेष स्वास्थ्य सुरक्षा अपनाएर भदौ २२ गतेसम्म निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माका अनुसार बैठकले सार्वजनिक तथा निजी यातायात सञ्चालन गर्न भने नदिने निर्णय गरेको छ । यद्यपि अत्यावश्यक र दुई पांग्रे सवारीसाधनलाई भने जिल्लाभित्र सञ्चालन गर्ने निर्णय गरिएको प्रजिअ शर्माले बताए । यसैगरी जनस्वास्थ्य मापदण्डको अनिवार्य पालना गराएर सरकारी तथा गैरसरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाहरुको सेवा सञ्चालन गर्न दिइने भएको छ । तर जिल्लाको सिंगटी र आसपासको क्षेत्रमा भने पूर्ण निषेधाज्ञा हुनेछ । जिल्लाको सिंगटीबाहेकका अन्य सबै स्थानीयतहका बजारहरु समेत खुल्ने भएका छन् । बिक्रेताले मास्क र पञ्जा तथा क्रेताले मास्क अनिवार्य लगाइदिनको १ बजेसम्म खुल्ला गर्ने निर्णय गरेको हो ।

त्यस्तै जिल्लाभर सञ्चालित विकास निर्माणका काम, जलविद्युत् आयोजनालगायत उद्योग कलकारखानामा स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न दिने निर्णय गरिएको प्रजिअ शर्माले बताए । जिल्लाका होटल तथा रेष्टुरेन्टहरुमा सामान किनेर लैजाने (टेक अवे) सेवा मात्र सञ्चालन गर्न दिइनेछ भने सैलुन र ब्युटिपार्लर पूर्णरुपमा बन्द हुने तथा जुनसुकै प्रकारका भेला समारोह नगर्ने निर्णय भएको छ ।

यसैगरी नित्य पूजाबाहेक देवालयहरुमा पूजा तथा धार्मिक क्रियाकलाप गर्न नदिने, निर्माण सामग्रीहरुको ढुवानी बिहान साढे ८ सम्म र बेलुकी साढे ५ बजेपछि मात्र गर्ने र रातिको समयमा कुनै पनि सवारीसाधन सञ्चालनमा निषेध गर्ने निर्णय गरिएको छ । जिल्ला कोरोना संक्रमितको संख्या दैनिक बढिरहे पनि लकडाउन खुकुलो पर्दै लैजाने निर्णय गरिएको हो । दोलखामा हालसम्म कोरोना भाइरस संक्रमण हुने बिरामीको संख्या २८ पुगेको छ । सोमबार दोलखाको कालिञ्चोक गाउँपालिकाभित्र एक महिलामा र गौरीशंकर गाउँपालिकामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्