Techie IT
बिहीबार, कात्तिक १३,२०७७

प्रदेश २ मा ४ वर्षीय बालिकासहित ४ जनाको कोरोना संक्रमणबाट मृत्यु, मृतकको संख्या ९० पुग्यो


जनकपुरधाम, भदौ १६
प्रदेश २ मा ४ वर्षीय बालिकासहित ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । महोत्तरीमा दुईजना तथा रौतहट र पर्सामा १–१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए । महोत्तरीको मनरा सिसवा नगरपालिका वडा नं. १ को ४ वर्षीय बालिकाको कोरोनाबाट मृत्यु भएको हो । साउन २३ गते नै रिपोर्ट पोजेटिभ आएको बालिकाको आफ्नै घरमा मृत्यु भएको झाले बताए । मृत्यु हुनुभन्दा पहिले झाडा पखाला भएको र यसभन्दा पहिले पनि बालिकामा झाडापखालाको समस्या रहेको थियो ।

झाडापखालाकै उपचारको क्रममा जनकपुरधामस्थित जानकी हेल्थ केयरमा भर्ना गरेकोमा त्यहाँबाट बालिकालाई धरान रिफर गरिएको थियो । धरानबाट पुनः घर फर्केपछि सोमबार बालिकाको मृत्यु भएको छ । त्यस्तै महोत्तरीकै जलेश्वर नगरपालिका वडा नं. २ का ६२ वर्षीय महिलाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको छ ।

रौतहटको यमुनामाई गाउँपालिका वडा नं. ३ का ४० वर्षीय पुरुष र वीरगञ्ज महानगरपालिका वडा नं. २४ बहुअरीका ८० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालय प्रदेश २ ले जनाएको छ । यससँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९० पुगेको छ । कोरोनाबाट सबैभन्दा बढी पर्सामा ३४ जनाको मृत्यु भएको छ भने बारामा १३, धनुषामा १२, महोत्तरीमा १०, सिरहामा ७, सप्तरीमा ६, रौतहटमा ५ र सर्लाहीमा ३ जनाको मृत्यु भएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्