Techie IT
सोमबार, असोज १२,२०७७

कोरोनाको कहरले सुनसान छ बेनीको बजार


गलेश्वर, भदौ १५
बेनीको बजार, जता माया उतै छ नजर ।।। किरेमिरे जाले रुमाल ।
चर्चित यी गीतमा हरफमा भनिए झैँ जता नजर लगाए पनि सुन्दर देखिने म्याग्दीको बेनी बजार यतिखेर आन्तरिक तथा बाह्य पर्यटकको अभावमा सुनसान बनेको छ । पर्यटकको भीडले खचाखच हुने बेनी बजार कोभिड– १९ को सङ्क्रमणको त्रासले सुनसान बनेको हो ।

म्याग्दी नदी र कालीगण्डकीको सङ्गमस्थलमा अवस्थित बेनीबजार प्राकृतिक सुन्दरताले मात्रै होइन ऐतिहासिक दृष्टिकोणलेसमेत महत्वपूर्ण रहेको छ । इतिहासकारका अनुसार नेपाल एकीरकणका क्रममा गोरखा राज्यले बेनी कब्जा गर्ने बेलासम्म बेनीमा बस्ती थिएनन् ।

वि.सं. १८४३ पछि मात्र बस्ती बस्न थालेको बेनी बजार तत्कालीन समयमा भोट तिब्बत र मधेशको प्रमुख व्यापारिक नाकासमेत थियो । सो नाकापछि हाट बजारमा परिणत हुँदै अहिलेको बेनी बजार विस्तार भएको बताइएको छ । बेनी बजार प्राकृतिकरुपले अत्यन्त सुन्दर छ । म्याग्दीको प्रवेशद्वारका रुपमा बेनी बजार रहेको छ । कोभिड– १९ को महामारी अघि यहाँ दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेकामा गत चैत ११ गतेदेखि लकडाउन गरिएपछि यहाँको चहलपहल शून्य भएको छ ।

पुनहिल, घोडेपानी, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, धौलागिरि हिमालजस्ता विश्वप्रशिद्ध पर्यटकीयस्थल रहेको म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार अहिले पर्यटकविहीन हुँदा नरमाइलो लाग्न थालेको म्याग्दीका पत्रकार प्रताप बानियाँले राससलाई बताए ।

कोभिड– १९ को त्रासका कारण पर्यटक आउनसक्ने वातावरण नभएपछि अहिले म्याग्दीका पर्यटकीय स्थान सुनसान छन् । बेनी बजारमा मायालुको जोडी देखिन छोडेको छ । व्यापार व्यवसाय ठप्प छ । पर्यटकीयस्थल पर्यटकको प्रतिक्षा गरिरहेका छन् ।

वि.सं. १८४३ सम्म बेनीमा लाग्ने हाट मेलाले वैदेशिक व्यापारको रुप लिएपछि व्यापार व्यवस्थितत गर्नका लागि पर्वत राज्यले बेनीमा अस्थायी मुकाम राख्न थालेको मोहनबहादुर मल्लद्वारा लिखित ‘पर्वत राज्यको इतिहास’ नामक पुस्तकमा उल्लेख छ । इतिहासकार चन्द्रप्रकाश बानियाँका अनुसार त्यतिबेला पर्वत राज्यको राजधानी ढोलठानामा थियो । राजा दिलीपवम मल्ल (डिम्ब मल्ल) गर्मीमा ढोलठान र जाडोमा बेनी झर्ने गर्दथे । जाडो छल्नका लागि मात्र ढोठाना दरबार बेनी झर्न थालेको होइन भन्ने कुरा राजकुलो निर्माण गरेर दरबारले नै खेती गर्न थालेको सिंगा नझरेर बेनी झर्न थालेबाट स्पष्ट हुने उनले जानकारी दिए ।

पर्वत राज्यको इतिहासका जानकार बानियाँका अनुसार बेनीको पहिलो बस्ती कामीको हो । हतियार निर्माणका लागि उनीहरुलाई बेनी राखिएको हो । उनले भने, “गोरखाले बेनी कब्जा मात्रै गरेन, दरबारमा आगजनी गरेर ध्वस्त बनाएको थियो । दरबारको त्यही खरानीमा बेनीको बजार बसेको हो ।”

उनका अनुसार वि.सं. १८४३ पछि मात्र बेनी बजारमा बस्ती विस्तार हुन थालेको हो । बेनीमा नेवार बस्ती बसिसक्दा पनि बेनीको मुख्यबजार पारीबेनी थियो । बाग्लुङ मुस्ताङ तिरको थोक बजार पारीबेनी नै थियो । बेनीमा स्कुल पाठशाला नखुल्दै पारी बेनीमा मिडिल स्कुल थियो । त्यही स्कुलपछि मल्लाज स्थानान्तरण भएको हो । पारी बेनीको स्कुल मल्लाज उक्ले पछि मात्र बेनीमा विद्यालय खुलेको इतिहासकार बानियाँले बताए । बेनीमा विद्यालय खुलेपछि बस्ती विस्तार हुनेक्रम बढ्दै गएको उनको भनाइ रहेको छ ।

अहिले बजारको स्वरुप फेरिएको छ । जताततै कङ्क्रिड नै कङ्क्रिडका भव्य घर ठडिएका छन् । अति महङ्गो बजारमध्येको बजार बन्न पुगेको छ बेनी बजार । वैदेशिक रोजगारीका कारण गाउँबाट शहर झर्नेको क्रम तीव्ररुपमा बढेको छ । गाउँ खाली भए पनि बजार भरिएको छ । घरजग्गाको कारोवार गर्ने व्यापारीका अनुसार अब बेनीमा घडेरीका लागिसमेत जग्गा पाइन छोडेको छ ।

पर्यटकलाई लक्षित गरेर करोडौँको लगानीमा स्तरीय होटल, रेस्टुराँ निर्माण गरिएको छ । बैंक तथा वित्तीय संस्था मौलाएका छन् । यहाँको जीवनस्तरले काँचुली फेरेको छ । वार्षिक चार अर्बको हाराहारीमा विप्रेषण भित्रिने म्याग्दीमा पर्यटन व्यवसाय पनि उत्तिकै फस्टाउँदै गएकामा कोभिड १९ का कारण अहिले भने शून्यमा झरेको छ । होटेल र यातायात क्षेत्र ठूलो नोक्सानी व्यहोर्न बाध्य भएको छ ।

बेनी नगरपालिकाको ७ र ८ गरी दुई वटा वडामा समेटिएको बेनीबजार ५१२ रेक्टर क्षेत्रफलमा फैलिएको छ । १४।४५ जनघनत्व रहेको बेनी बजारमा २०६८ को जनगणनाको तथ्याङ्कअनुसार दुई हजार घरधुरी र सात हजार जनसङ्ख्या रहेको छ । कोभिड– १९ को सङ्क्रमण शुरु हुनुभन्दाअघि गुलजार देखिने बेनीबजार अहिले सुनसान छ । म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष उत्तम कर्माचार्यले यहाँको होटल, पर्यटन र व्यवसाय धरासायी भएको जानकारी दिनुभयो । दैनिक उपभोग्य वस्तुबाहेक अन्य कुराको व्यापार शून्यमा झरेको छ । मानिसमा चरम निरासा उत्पन्न भएको उनले बताए ।

पर्यटकीयस्थल विगत छ महिनायता सुनसान छन् । प्रकृतिको वरदान पाए पनि यहाँका पर्यटकीयस्थल पर्यटक नपुगेपछि अभिशप्त बन्न बाध्य भएका छन् । पर्यटकीय मौसम शुरु हुनै लाग्दा पनि कोभिड–१९ को सङ्क्रमण नियन्त्रण हुने कुनै सङ्केत नदेखिँदा असोजदेखि मङ्सिरसम्म पनि यहाँका पर्यटकीयस्थल सुनसान नै रहने अनुमान गरिएको छ । यहाँका पर्यटकीयस्थल पर्यटकको पर्खाईमा रहेका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्