Techie IT
आईतबार, फागुन २३,२०७७

संस्कृत शिक्षाप्रति युवाको आकर्षण


काठमाडौं,भदौ १५

स्याङ्जाको वालिङ नगरपालिका-८ भीमटारीका युवाहरु संस्कृत पाठशालाप्रति आकर्षित भएका छन् । धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले वालिङमा सञ्चालित संस्कृत पाठशालाप्रति उनीहरु आकर्षित भएका हुन् ।

भीमटारी सामुदायिक सिकाइ केन्द्रको आयोजना र मोहिनीशरण स्मृति प्रतिष्ठानको सहआयोजनामा सञ्चालन गरिएको पाठशालामा पहिलो चरणमा पितृ कार्यअन्तर्गत श्राद्ध पद्धति, वेद पाठ, अग्नि स्थापनाका बारेमा कर्माभ्यास गराइएको आयोजक अध्ययन केन्द्रका अध्यक्ष नेत्रप्रसाद रेग्मीले बताए।

“पछिल्लो समयमा धार्मिक एवं सांस्कृतिक कार्यहरुमा युवाहरुको रुची कम हुँदै गइरहेको छ” अध्यक्ष रेग्मीले भने, “पितृ कार्य तथा शुभकार्यका लागि पण्डित, पुरोहितहरुको सङ्ख्या कमी हुँदै गएकाले पनि युवालाई यतापट्टि आकर्षित गरी कर्म अभ्यास गराएका हौँ ।”

कोभिड १९ को बन्दाबन्दीलाई सदुपयोग गर्दै गत जेठ ११ गतेबाट सञ्चालन गरिएको पाठशालामा स्थानीय युवाको सहभागिता रहेको मोहोनीशरण स्मृति प्रतिष्ठानका अध्यक्ष ध्रुवराज उपाध्यायले बताएको राससले जनाएको छ । पाठशालामा १८ देखि ५० वर्ष उमेर समूहका ३० जनाको सहभागिता रहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्