Techie IT
१५ साउन २०७८, शुक्रबार

किसानलाई औजार वितरण


सुर्खेत ।
यहाँ व्यावसायिक किसानलाई कृषि उपकरण तथा औजार वितरण गरिएको छ । लेकवेशी नगरपालिकाको दशरथपुरमा व्यावसायिक कृषकलाई मिनिटेलर हर्स पावर वितरण गरिएको हो ।

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री सिताकुमारी नेपालीले लेकवेशी दशरथपुरका कृषकलाई व्यावसायिक खेती गर्नका लागी मिनिटेलर प्रदान गरे । कृषि लाई व्यावसायिक र आधुनिकीकरण गर्न प्रदेश सरकार लागेको जनाउँदै मन्त्री नेपालीले अनुदानलाई सदुपयोग गर्न आग्रह गरे । सरकारको अनुदानलाई सदुपयोग गरेर आफ्नो लगानी बढाइ आत्मानिर्भर बन्न कृषकलाई उनले आग्रह गरे ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आव २०७७÷७८ को वार्षिक विकास कार्यक्रमअनुसार प्रदेशसभाका सदस्यको प्रत्यक्ष निगरानी हुने गरि दलित अति विपन्न लक्षित वर्ग विशेष कार्यक्रमअन्तर्गत कृषि औजार वितरण गरिएको कृषि विकास निर्देशनालयका प्रमुख चित्रबहादुर रोकायाले राससलाई बर्ताए ।

उनका अनुसार प्रदेश सरकारको ७५ प्रतिशत र समुदायको २५ प्रतिशत लगानी हुने कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रमबाट दशरथपुरमा सात हर्स पावरका १३ मिनि टेलर, एक रोटाभेटर तथा रु ५० हजार बराबरको तरकारीको बीउ वितरण गरिएको प्रमुख रोकायाले जानकारी दिए ।

निर्देशनालयका अनुसार भेरीगङ्गा नगरपालिका–५, लेखवेशी नगरपालिका–४, वीरेन्द्रनगर नगरपालिका–२, ४ र १३, वराहताल गाउँपालिका वडा न. ६, ७ र १०, सिम्ता गाउँपालिका–७ र गुर्भाकोट नगरपालिका–५ छनोट भई कार्यक्रम कार्यान्वयन भइरहेका छन् । प्रदेशसभाका प्रति सदस्यका लागि कृषि मन्त्रालयले कृषिमा रु. १० लाख र पशुसेवातर्फ रु. १० लाख विनियोजन गरेको थियो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्