Techie IT
शुक्रबार, असोज ९,२०७७

सरकारले तीनवटा देशसँग हवाइ सम्झौता गर्ने


काठमाडौं, भदौ १५
नेपाल सरकारले तीनवटा देशसँग हवाइ सम्झौता गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार भएको मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले इन्डोनेसिया, फिनल्याड र रसियासँग हवाइ सम्झौताको प्रक्रियाअघि बढाउने निर्णय गरेको हो ।

यस्तै बैठकले मंगलबारदेखि नियमित उडान हुने भएकोले वायुसेवा कम्पनीहरुले कोभिड १९ को महामारीपूर्व नियमित अवस्थामा लिने हवाइ भाडादरभन्दा बढी लिन नपाउने निर्णय गरेको छ । त्यसको लागि सबै वायुसेवा निगमहरुसँग समन्वय गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत वायुसेवा कम्पनीहरुलाई सचेत गराउने समेत बैठकले निर्णय गरेको छ ।

यसैगरी बैठकले नेपालीहरु स्वदेश फिर्तीलगायत विषयलाई अनुगमन र सहजीकरण गर्न पर्यटन मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति बनाएको छ । समितिको सदस्यहरुमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा, नेपाल नागरिक उड्डयन प्राधिकरणका हिराजन काफ्ले र नेपाल पर्यटन बोर्डका प्रबन्धक सुनिल शर्मा रहेका छन् ।

समितिलाई हवाइ उडान भाडादर यात्रुहरुको परिवहनका विषयमा अनुगमन गर्ने, होटलले प्रदान गर्ने मापदण्डको विषयमा स्थलगत अनुगमन गरी पृष्ठपोषण गर्ने, हानलगायतका संघ/संस्थाहरुसँग आवश्यक समन्वय गर्ने र स्वदेशी फिर्ता प्रक्रियासँग जोडिएको गुनासो व्यवस्थापन गर्ने कार्यादेश तोकिएको छ ।

साथै बैठकले हिमाल आरोहणका लागि खटाइने सम्पर्क अधिकृत र रेस्क्युलगायतका विषयमा मापदण्ड र कार्यविधि बनाउने निर्णय समेत गरेको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मन्त्रालयको वार्षिक कार्ययोजनामा समावेश गरिएका माइलस्टोनहरुलाई तोकिएको समयमै सम्पन्न गर्न निर्देशन दिए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्