Techie IT
सोमबार, कात्तिक १०,२०७७

सुदूरपश्चिमका परम्परागत ‘कोल’ तथा ‘घट्ट’ लोप हुँदै


बझाङ, भदौ १५
सुदूरपहाडका परापुर्खादेखि चल्दै आएका सांस्कृतिक सम्पत्तिहरू लोप हुने स्थितिमा पुगेका छन् । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा परम्परागत तेल पेल्ने कोल तथा घट्टहरू लोप हुन थालेका हुन् । पहाडी क्षेत्रमा यातायातको विस्तारसँगै बजारको पहुँच गाउँसम्म पुग्न थालेपछि कुनै बेला यहाँका स्थानीयको तेल पेल्ने मुख्य माध्यमको रूपमा रहेका परम्परागत प्रविधिमा आधारित काठका कोल र पानीद्वारा सञ्चालित घट्ट एकपछि अर्को गर्दै लोप हुन थालेका छन् ।

बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिएका खाने तेल तथा पिठोलगायतका सामग्री गाउँमा सजिलै पाइन थालेपछि यहाँका स्थानीयले परम्परागत रूपमा चलाउँदै आएका कोल र घट्टलाई बेवास्ता गर्दै आएका देखिन्छन् । ‘गाउँघरमा गाडी पुगेसँगै भनेको बेलामा जहाँ पनि प्याकिङ गरिएका सामग्री पाउन थालेपछि, दिनभरिको मिहिनेत लगाएर कसले कोल पेल्ने ? कसले घट्ट पिस्ने ?’

बझाङ जयपृथ्वी नगरपालिकाका वडा १ बस्ने ८० वर्षीय बिर्जन सिंहले भने, ‘पहिला गाउँमा पाइने चुली, आरु, ओखर, तोरी, ढटेलोको तेल वर्षभरि खान पुग्नेगरी घरमै उत्पादन गरेको सम्झना ताजै छ, अहिले कसैको घरमा औषधि गर्नको लागि खोजे पनि स्थानीय तेल भेटिँदैन, गाउँमा कोलको निसाना समेत छैन ।’ उनीजस्तै शिबु खड्का पनि अहिले पानीबाट चल्ने घट्ट पनि लोभ हुन थालिसकेको बताउँछन् । उनले भने, ‘सजिलैसँग मिलमा पैसा तिरेर पिठो पिस्न सबै सजिलो मान्छन्, पछिल्लो पुस्तालाई कोल र पानी घट्टाको कुरा गर्दा कथा सुनाएजस्तो हुन्छ ।’

घट्टबाट पिसेको पिठो खानलाई पनि उस्तै मिठो हुने उनी सम्झिन्छन् । तेलका लागि कोल तथा पिठोका लागि घट्ट लोप हुँदै गएको प्रति सुदूरपश्चिमका सबै बुढापाका चिन्तित हुन थालेका छन् । परम्परादेखि चलिआएका सम्पत्ति तथा संस्कृतिहरू लोप हुन थालेको प्रति चिन्ता व्यक्त गर्दै सिंहले भने ‘पुराना जमानाका सम्पक्तिहरू हराउँदै गएका छन्, बजारको खानाले अहिलेका मानिसको स्वास्थ्य अस्वस्था पनि बिग्रिँदै गएको छ । पहिला त हामी त्यही कोल र घट्टले पिसेको तेल तथा पिठो खाएर हृष्टपुष्ठ थियौँ । अहिले त के–के रोगहरू देखिन थालेका छन् ।’

बझाङ, बाजुरा, अछाम, बैतडी, दार्चुला, डोटी डडेलधुरालगायत पहाडी जिल्लामा विशेषगरी ओखर, चिउरो, तोरी, रायो, भिमिरोलगायतको खेती गरिन्थ्यो । अहिले तोरी खेतीमा पनि स्थानीय किसानको चासो दिनहुँ घट्न थालेको स्थानीय बासिन्दा बताउँछन् । विगतको समयमा सुदूरका पहाडी जिल्लाका अधिकांश स्थानीय क्षेत्रमा सयौँको संख्यामा रहेका यस्ता कोल अहिले अधिकांश लोप भइसकेका छन् ।

दुर्गम गाउँमा रहेका एक दुईवटा कोल पनि विस्तारै लोप हुँदै जाने क्रममा रहेको छ । कोलमा तेल पेल्नका लागि बढी जनशक्ति र शारीरिक श्रम लाग्ने र बजारमा सजिलै तेल किन्न पाइने भएपछि कोलसँगै तेलहन बालीको खेतीसमेत हराउँदै गएको हो भने घट्ट पनि लोभ हुँदा स्थानीय चिन्तित बनेका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्