Techie IT
सोमबार, वैशाख ६,२०७८

विदेशमा कोरोनाबाट थप तीन जना नेपालीको मृत्यु


काठमाडौं, भदौ १५
विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट विदेशमा गत साता थप ३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विदेशमा मात्र एक सय ९५ जना नेपालीहरूको मृत्यु भएको हो । समितिका अनुसार गत साता बेलायतमा १ जना र यूएईमा २ जनाको ज्यान गएको छ । स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार साउथ अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरबलगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ  ।

अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड–१९ को दोस्रो वेब (दोस्रो लहर) सुरु भएपछि नेपाली समुदायमा संक्रमण सामान्य रूपमा बढेको हो । हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरू कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसका कारण नेपालसहित बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथ अफ्रिकालगायत १७ देशमा रहेका नेपालीहरूको ज्यान गएको हो । हालसम्म नेपालबाहेक विदेशमा मात्र ३४ हजार ७ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । ३२ हजार ५ सय ११ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।

यस्तै गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम कम नभइसकेकोले थप सचेत र सावधान हुन नेपाली समुदायलाई आग्रह गरेको छ । समितिका संयोजक डा. सापकोटाले सार्वजनिकस्थल मात्रै नभई बन्द कोठामा गरिने भेला र जमघटले पनि संक्रमण बढाउने भएकाले त्यस्ता खाले कार्यक्रम कम गर्न र गर्नै पर्ने भए सीमित संख्या र सामाजिक दूरी कायम गर्न आग्रह गरेका छन् ।

डा. सापकोटाले कोरोना संक्रमणका क्रममा मनोबल उच्च राख्न समेत आग्रह गरे । कोरोना संक्रमणको बढ्दो जोखिमले सर्वसाधरणमा एक प्रकारको मनोवैज्ञानिक त्रास उत्पन्न गरेको भन्दै उनले उच्च मनोबल कायम गरेर सतर्कता अपनाउनु आग्रह गरेका हुन् । मानसिक तनावबाट सकेसम्म मुक्त हुन एक्लो नबस्न, साथीभाइसँग कुराकानी गर्न, गीतसङ्गीत सुन्न र योग तथा ध्यान गर्न समेत डा. सापकोटाले अनुरोध गरे ।

’कोभिड–१९’ विरुद्ध भ्याक्सिन आगामी वर्षको पहिलो महिना (जनवरी) भित्र सर्वसाधारणको लागि उपलब्ध हुने अपेक्षा गरिएको बताउँदै उनले सचेत र सावधान रही अघि बढ्न आग्रह गरे । कोरोना भाइरसविरुद्धको खोप जापान, अमेरिका, रुस, बेलायत, चीन, स्वीट्जरल्याण्डलगायतका देशमा तीव्र गतिमा उत्पादन र परीक्षणको प्रक्रिया अघि बढेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्