Techie IT
बिहीबार, कात्तिक १३,२०७७

पछिल्लो दुई वर्षमा नेपाल प्रहरीमा १ हजार १ सय ७७ वटा नयाँ संरचना निर्माण


काठमाडौं, भदौ १५
स्थानीय तहसम्मका प्रहरी एकाइहरूका भौतिक पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिने नीतिअनुरूप नेपाल प्रहरीले पछिल्लो दुई वर्षमा १ हजार १ सय ७७ वटा नयाँ संरचना निर्माण सम्पन्न गरेको छ । नेपाल प्रहरीको नियमित बजेट, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कोष र प्रादेशिक बजेटबाट प्रहरीको कार्यालय भवन, मेस, हिरासत कक्ष, ब्यारेक भवन, भान्सालगायत उक्त संख्यामा नयाँ संरचना निर्माण गरिएको हो ।

प्रहरी एकाइका भौतिक संरचनालाई समयसापेक्ष स्तरोन्नत्ति र नयाँ निर्माण गर्न प्रहरी प्रधान कार्यालयले कार्य योजना बनाई निर्माण कार्यलाई तीव्रता दिएबमोजिम पूर्वाधार बनाउने काम भइरहेको हो । सोबमोजिम पछिल्लो दुई आर्थिक वर्ष (आव २०७५/०७६ र ०७६/०७७) मा ५५ वटा कार्यालय भवन, ६० वटा ब्यारेक, ५० वटा हिरासत कक्ष, ७१ वटा मेस, ७ सय ५५ वटा शौचालय समेत अन्य संरचना गरी उक्त संख्यामा नयाँ संरचना बनिसकेको छ ।

नेपाल प्रहरीअन्तर्गतका हाल देशभर दुई हजार सात सय ५७ एकाइहरू रहेका छन् । एक स्थानीय तहमा कम्तीमा एक प्रहरी एकाइ स्थापना गर्ने नेपाल सरकारको लक्ष्यअनुरूप २०७५ साल यता चौकीदेखि प्रदेश प्रहरी कार्यालयसम्म कुल दुई सय ५१ नयाँ एकाइ र सोअनुरूप दरबन्दी समेत निकासा भइसकेको छ । चालू आवमा नेपाल प्रहरीको नियमित बजेटबाट ३९ नयाँ कार्यालय भवन, ९२ ब्यारेक, ४५ वटा भान्सा, २० वटा हिरासत कक्ष र आठ सय ८० वटा शौचालयसमेत र अन्य संरचना गरी १ हजार १ सय ४ वटा संरचना निर्माणाधिन रहेका छन् ।

यस्तै पुनर्निर्माण कोषबाट ४८ र प्रादेशिक बजेटबाट आठ सय १० नयाँ पूर्वाधार निर्माणाधिन अवस्थामा छन् भने प्रादेशिक बजेटबाट चालू आवमा ३० वटा संरचना निर्माण सम्पन्न भइसकेका छन् । आव २०७४/०७५ मा समेत कार्यालय, ब्यारेक भवन, मेस, शौचालयलगायत अन्य भवन गरी ९४ वटा नेपाल प्रहरीको नियमित बजेटबाट र पुनर्निर्माण कोषको बजेटबाट तीन सय ४६ वटा नयाँ संरचना निर्माण भएको थियो ।

नेपाल प्रहरीले भवन निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्दै भौतिक पूर्वाधार निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक इ. लोकेश सिंहले भने, ‘अहिले ६९ जिल्लामा नयाँ निर्माण भइसकेको छ । जे–जिति बनेका छन् वा बनिरेहका छन् ती सबै भवनहरू आधुनिक, अपाङ्ग एवं लैंगिकमैत्री तवरले बनाइएका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्