Techie IT
शुक्रबार, असोज ९,२०७७

मिथ्या आरोप प्रति मर्चवारीका कर्मचारीहरुको ध्यानाकर्षण


सुलसुले
बुटवल, भदौं १५

हिजो आइतबार मर्चवार शन्देश नामक यू–ट्यूब च्यानल मार्फत गाउँपालिकाका कर्मचारीहरुलाई लगाईएको आरोपमा प्रति गाउँपालिकाका कर्मचारीहरुको गम्भिर ध्यानाकर्षण भएको छ । उक्त गलत सामाग्री प्रति कर्मचारीहरुले सम्युक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै कपोकल्पित रुपमा लगाईएको आरोपमा कुनै सत्यता नभएको दाबी समेत गरेका छन् ।

कर्मचारीहरुद्वारा जारी प्रेस विज्ञप्तीमा अगाडी भनिएको छ, मर्चवार शन्देश नामक यू–ट्यूब च्यानल मार्फत बाट प्रशारित मर्चवारी गाउँपालिकाका अध्यक्ष श्री केशवनन्द बनियाँको अन्तर्वार्ता सुनिसकेपछि अन्तर्वार्तामा उठाइएका बिभिन्न बिषय र गाउँपालिकामा कार्यरत कर्मचारी उपर लगाइएका मिथ्या आरोपहरुप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । ती बिषयहरु उपर सत्यतथ्य जानकारी गराइ आम जनताको सुसुचित हुन पाउने अधिकारको संरक्षण होस् भनी यो बिज्ञप्ती जारी गरिएको छ ।

विज्ञप्तीमा श्रीमान् अध्यक्ष ज्यूले प्रदेश सरकारले जारी गरेको कानून बमोजिम स्थानीय जनप्रतिनिधिहरुले पाउने सेवा सुविधा अन्तर्गत पाउनुपर्ने यातायात भत्ता प्रमुख प्रशासकीय अधिकृतले काटिदिएको भन्ने भनाई सर्वदा गलत रहेको छ । प्रदेश कानूनको अक्षरसः कार्यान्वयन गर्दा श्रीमान अध्यक्ष ज्यूले बिगतमा प्राप्त गर्दै आउनु भएको सवारी साधन तथा इन्धन र मासिक यातायात भत्ता वापतको रकम १२ हजार रुपैयाँ मध्ये एक मात्र लिन मिल्ने कानूनी ब्यवस्था रहेकाले निजले हालसम्म सवारी साधन र मासिक करिव एक हजार लिटर भन्दा बढि इन्धन सुबिधा लिएका कारण यातायात भत्ता वापतको रकम दिन नसकिएको जानकारी गराउन चाहन्छु । मर्चवारी गाउँपालिकाका कर्मचारीहरु लकडाउनको समयमा कतिपय छिमेकी गाउँपालिका संचालनमा नरहेको अवस्थामा समेत नियमित हाजिर भई तोकिएको कार्यसम्पादन गरिरहेका छन् । जिल्ला नै लकडाउन गरिएको अवस्थालाई मध्यनजर गरी कार्यालय आउन असमर्थ कर्मचारीहरु बिदामा बसेको कुरा साँचो हो । बिदा स्वीकृत गरी बसेका कर्मचारी पछि आएर हाजिर गरे भन्नु हास्यास्पद कुरा हो । आर्थिक बर्ष २०७/७७ को अन्त्यतिर कार्यालयको उच्च कार्यचाप, कोभिड–१९ महामारीको अबस्थामा समेत आम जनताका नियमित, आकस्मिक तथा बिकासात्मक कार्यहरु प्रभावकारी रुपमा संचालन गर्नुपर्ने बाध्यता र मर्चवारी गाउँपालिका रायपुर रुपन्देहीमा इन्टरनेटमा देखापर्ने पटकपटकको नेटवर्कको समस्याको कारण स्वयम् अध्यक्ष ज्यूको अनुरोधमा भैरहवा स्थित प्रमुख प्रशासकीय अधिकृतको निवास (जुन बि. स. २०७४ साल देखि नै प्रयोगमा रहेको हाल प्रयोग नगरिएको) बाट कार्यसम्पादन गरिएको सबैमा जानकारी गराउन चाहन्छौं । लकडाउनको समयमा पनि गाउँपालिकाका सबै कार्यहरु समयमा सम्पन्न भई अपेक्षित भौतिक तथा वित्तीय प्रगति हाँसिल हुनुमा भैरहवाबाट समेत सबै कर्मचारीहरु नियमित र अहोरात्र खटी काम गर्नु हो भन्नुमा कुनै अतिसयोक्ति हुदैन । यो बिषयमा स्वयम् अध्यक्ष ज्यूबाट समस्त आमकर्मचारीको वीचमा व्यक्त गर्नुभएको सन्तुष्टी र प्रशंसा कम्तिमा हामी कर्मचारीको बीचमा लुक्न सक्दैन भनिएको छ ।

जहाँ सम्म अनुगमनमा प्रहरी प्रशासनलाई लिएर हिडेको भन्ने बिषय छ, यसका सम्बन्धमा थप स्पष्ट पार्ने प्रयास गर्दछौं कि संयुक्त रुपमा गरिने कुनै पनि अनुगमनमा स्थानीय प्रहरी प्रशासनको सहभागितामा गर्ने सम्बन्धमा स्पष्ट कानूनी प्रबन्ध रहेको र संयुक्त अनुगमन सम्बन्धी निर्देशिकाको कार्यान्वयन गर्दै गाउँपालिकाले गर्ने हरेक अनुगमनमा स्थानीय प्रहरी प्रशासनको सहभागितामा हुँदै आएको जानकारी सबैमा गराउन चाहन्छौं । अर्कोतर्फ प्रमुख प्रशासकीय अधिकृत र प्राविधिक रुपमा विज्ञ समेतको सहभागितामा भएका योजना अनुगमनबाट कमसल काम गर्नेहरुलाई पर्न गएको असुबिधाका कारण जिम्मेवार जनप्रतिनिधिबाट नै अनुगमन कडा किन गरेको र यस्तै कडा अनुगमन गरे जे पनि गर्न सक्ने भन्ने धम्की समेत आएकाले उक्त बिषयमा समन्वय गरी सहज वातावरण निर्माण गरिदिन अनुरोध गर्दै जिल्ला समन्वय समितिमा हामी जिम्मेवार कर्मचारीहरु नै पटक पटक धाउनु परेको यथार्थ स्मरण गर्न चाहन्छौं । त्यति मात्र नभई लकडाउन सुरु हुनुपूर्व गैरकानुनी काम गराउन श्रीमान अध्यक्ष ज्यूबाट भएका दवावलाई नमान्दा शाखा प्रमुख कर्मचारीहरुलाई ज्यान मार्ने र अपहरण गर्ने धम्की दिन अपरिचित र अमुक मानिसहरुलाई प्रयोग गरेका कारण जीउज्यान नै असुरक्षित रहेको महसुस गरेर जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरी स्थानीय प्रहरी प्रशासन सँग समन्वय गरी काम गर्न निर्देशन भए बमोजिम स्थानीय प्रहरी प्रशासनको साथ र सहयोग लिई काम गर्नु परेको वास्तविकता यसै विज्ञप्ति मार्फत आम सरोकारवालाहरुलाई जानकारी गराउन चाहन्छौं उक्त विज्ञप्तीमा भनिएको छ ।

कानून बमोजिम शासन संचालनको अभ्यास नभएका ठाउँमा कानूनको सर्वोच्चता कायम गर्नु अवस्य पनि कठिन बिषय हो । कानून बमोजिमको शासनमा बानी पर्न कठिन भएको स्थितिमा कानूनको परिपालना गर्न नसक्दा कानूनी ब्यवस्था कठिन भएका कारण हालको प्रशासन संचालन तथा व्यवस्थापन श्रीमान अध्यक्ष ज्यूलाई निकै गाह्रो, राणाकालीन ब्यवस्था वा हिटलरको व्यवस्था जस्तो लागेको पनि होला, तर हामीलाई बिस्वास छ, बिस्तारै उहाँले पनि कानूनको सर्वोच्चतालाई स्वीकार गर्नु नै हुनेछ । हामी आशा गर्दछौं श्रीमान अध्यक्ष ज्यूले कडा अनुगमन नगर होइन, कडा अनुगमन गरेर कमसल काम गर्नेहरुलाई पहिचान गरी कारवाहीको भागिदार बनाऔं भन्नुहुनेछ । गैरकानुनी सुबिधाका लागि प्रमुख प्रशासकीयको गाडिलाई बाटोमा रोकी आफू फरार हुने काम नगरी प्रत्यक्ष समन्वयमा समस्या समाधानका लागि अग्रसर हुनुहुनेछ । शाखामा रहेर इमान्दारिताका साथ काम गरिरहेका कर्मचारीलाई बिभिन्न मानिस लगाई ज्यान मार्ने, अपहरण गर्ने धम्की होइन, सुमधुर कार्यगत वातावरण निर्माण गरी एक असल अभिभावकको रुपमा रहनुहुनेछ । गैरकानुनी सुबिधा पाइन भनेर रोइकराइ गर्नु भन्दा आफ्नो तर्फबाट यथासक्य सहयोग गरी कोभिड–१९ को महामारीबाट पीडित आम जनताको पीडामा मल्हम लगाउन प्रयास गर्दै आफुलाई गाउँपालिकाकै एक सच्चा अभिभावकको रुपमा स्थापित गर्न सफल हुनुहुनेछ भन्ने अपेक्षा लिएका छौं । स्मरण रहोस् मर्चवारी गाउँकार्यपालिकाको बैठकले निर्णय बमोजिम लकडाउनको समय अबधिभर जोखिमपूर्ण काममा खट्ने अप्राबिधिक कर्मचारीले पाउने जोखिम भत्ता गाउँपालिकाको आर्थिक अवस्थालाई मध्यनजर गरी प्रमुख प्रशासकीय अधिकृत लगायत अन्य कर्मचारीले स्वतस्फुर्त रुपमा नलिने भनी परित्याग गरेकाले मर्चवारी गाउँपालिकाको स्थानीय विपद कोषको लाखौं रकम खर्च हुनबाट जोगिएको थियो । श्रीमान् अध्यक्ष ज्यूबाट यस्तै उदाहरणीय कार्यहरु धेरै भन्दा धेरै हुनेछन् भन्नेमा हामी आशावादी छौं प्रेस विज्ञप्तीमा भनिएको छ ।

कर्मचारीद्वारा जारी प्रेस विज्ञप्तीको अन्त्यमा भनिएको छ, मर्चवारी गाउँपालिका एक समृद्ध गाउँपालिकाको रुपमा रहन सकोस् । गाउँपालिकामा काम गर्ने कर्मचारीले कहिले सरुवा होला भनेर दिन गन्ने होइन, मर्चवारी गाउँपालिका कहिल्यै छोड्न नपरोस् भनेर कामना गर्न सकुन् । मर्चवारीवासी समुदाय बिकास, सुरक्षा र सु–शासनको अभावमा कहिले निरास हुन नपरोस् र गाउँपालिकाका अध्यक्ष श्री केशवनन्द बनियाँ सर्वोत्कृष्ट जनप्रतिनिधिको रुपमा मर्चवारीबासीले मात्र होइन सिंगो देशले नै सम्मान गरेको सुन्न र देख्न पाइयोस् भन्ने हामी हृदय देखि कामना गर्दछौं । मर्चवारी गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरु ।


क्याटेगोरी : समाचार
ट्याग : #samachar

तपाईको कमेन्ट लेख्नुहोस्