सचिवको सरुवा बदर गर्न आग्रह

जनकपुरधाम, भदौ १४
प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्र प्रसाद साहले छोटो अवधिमै सचिव सरुवा गर्ने प्रवृत्तिले प्रदेश सरकारको कामकाज प्रभावित भएको भन्दै पछिल्लोपटक गरिएको सरुवा तत्काल फिर्ता लिन संघीय व्यवस्था तथा सामान्य प्रशासनमन्त्रीलाई आग्रह गरेका छन् ।
मन्त्री साहले संघीय मन्त्रालयलाई पत्र लेख्दै चार महिनाअघि मात्र आएको सचिवलाई सरुवा गरिएकोमा आपत्ति जनाउँदै सचिव सरुवा तत्काल स्थगित गर्न र छोटो अवधिमै सचिव फेर्ने प्रवृत्ति अन्त गर्न आग्रह गरेका हुन् । जुनसुकै बेला सचिव फेर्ने प्रवृत्तिले प्रदेश सरकारको कार्यक्रम नै प्रभावित हुँदै आएको, पदस्थापना हुने सचिवले पनि सरुवा हुनुपर्ने भन्दै काममा गति नदिने गरेको कारणहरुले सचिवहरुलाई निश्चित अवधिको लागि पठाउन उनले माग गरे ।
गत दुई वर्षमा छ जना सचिवको सरुवा हुनु र अहिलेको विषम परिस्थितिमा किसानहरुको ऋण ब्याज मिनाहा, धानबालीमा लागेको रोग निवारणको गर्नुपर्ने प्रयास मलखाद व्यवस्थापन गर्नुपर्ने भए पनि सचिवको अनपेक्षित सरुवाले ती सबै कार्यक्रम प्रभावित हुने भएकोले समेत ती निर्णय फिर्ता लिन माग गरेका हुन् । शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार, काठमाडौंमा ध्यानाकर्षण पत्र पठाउँदै पछिल्लोपटक भएको सचिव सरुवालाई स्थगित गर्न आग्रह समेत गरेका हुन् । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्