Techie IT
सोमबार, असोज १२,२०७७

भरतपुरमा २२ हजार वृक्षारोपण


काठमाडौं,भदौ १४

चितवनको भरतपुरमा २२ हजार फलफूलको बिरुवा रोपिएको छ । भरतपुर महानगर क्षेत्रलाई फलफूलको बगैँचाको स्वरुप दिने अभियानलाई निरन्तरता दिँदै बिरुवा रोपिएको हो । राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर गत असार १४ गते शुरु भएको अभियान आज सकिएको छ । ‘भरतपुर–एक बगैँचा’ अभियानले महानगरलाई केही वर्षमै हरियाली महानगरका रुपमा लक्ष्य राखिएको राससले जनाएको छ ।

फलफूलको बिरुवा रोप्नका लागि तथ्याङ्क सङ्कलन र बिरुवा वितरणको जिम्मा लिएको ‘वे’ ग्रुपका संयोजक भोजनारायण कँडेलले महानगरमा यस वर्ष २२ हजार बिरुवा रोपिएको बताए । उनले भन्नुभयो टोलभित्र आवश्यक पर्ने बिरुवाको घरदैलोमै पुगेर लिएको विवरणअनुसार वितरण गरेका छौँ । “फलफूलका बिरुवा रोप्न सबैले साथ दिएका छन्, उनले भने, “केही वर्षमै भरतपुर क्षेत्र हरित हुनेछ ।” उनका अनुसार माग फारममार्फत टोलवासीले चाहना गरेका फलफूलका बिरुवा सकेसम्म उपलब्ध गराइएको छ । गत वर्ष मात्रै महानगर सात वडामा ६५ हजार बढी फलफूलका बिरुवा रोपिएको थियो ।

वाग्मती प्रदेशका सांसद विजय सुवेदीले यस वर्ष कोरोनाको प्रभावका बीच पनि आवश्यक मात्रामा फलफूलका बिरुवा रोपिएको जानकारी दिए । “भरतपुरलाई बगैँचा बनाउने काम अगाडि बढेको छ”, सुवेदीले भने “यसपालि छुट्टै बजेट नभए पनि महानगरपालिका, कृषि ज्ञान केन्द्र, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र वन कार्यालयको सहयोगमा अभियान सफल भएको छ ।”प्रदेश सरकारले सरसफाइ र हरियाली प्रवद्र्धन कार्यक्रमका रुपमा बजेट विनियोजन गरे पनि यसपालि सो बजेट परेको छैन । गत वर्ष प्रदेशले रु ५० लाख बराबर बजेट विनियोजन गरेको थियो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरपालिकामा रोपिएका बिरुवालाई संरक्षण गरिने बताइन् । हरेक वडाका हरेक दुई टोललाई नमूना टोलका रूपमा छनोट गरी ‘एक टोल–एक बिरुवा चिनारी’ हुने उनको भनाइ छ । महानगरका वडा कार्यालयमार्फत स्थानीयवासीलाई बिरुवा बाँडिएको हो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्